केपी ओलीको स्वेच्छाचारिता अन्त्यका लागि पनि चुनाव आवश्यक  : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।

संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव बेस हुने विचार व्यक्त गरे।

प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छाचारी प्रवृत्तिको अन्त्यका निमित्त पनि चुनाव आवश्यक भएको भन्दै थापाले भने, ‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्यान्डेट थिएन, कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्ने छ ।’

गृहजिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपा अभियान सञ्चालन गरिरहेका थापाले आज हेटौंडा १३ को पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई सङ्कटतर्फ लैजाने भएकाले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए । थापाले विगत १४ वर्षको राजनितिक रोडम्यापले निकास दिन नसक्ने भएकाले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्ने बताए ।

स्वाधीन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए । गणतन्त्र, धर्म निरपेक्ष र संघीयता विदेशीको एजेन्डा भएकाले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो। ‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस्’,  थापाले भने । भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई थप अधोगति तर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै नेता मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल भएकाले राप्रपा अब जनताको छनोट हुनुपर्ने भएको भन्दै संगठन सुदृढीकरणमा जोड दिए । कार्यक्रममा नेताहरु राजाराम बर्तौला, गुरु सापकोटा, इन्दिरा डल्लाकोटी, गुन्जन न्यौपाने, कृष्ण मैनाली, दामोदर वाग्ले, भवनाथ दुलाल, चन्द्र लामा, किशोर मैनाली, भृगु कार्की लगायतको उपस्थिति थियो।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १५:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया