के मेसी र रोनाल्डोभन्दा एमबाप्पे र हल्यान्ड उत्कृष्ट छन् ?
फरकधार / ११ फागुन, २०७७

पछिल्लो साता च्याम्पियन्स लिग अन्तर्गत भएका खेलमा विश्व फुटबलमा राज गरिरहेका दुई खेलाडी युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसीभन्दा वर्तमान समयका दुई उत्कृष्ट युवा खेलाडी बेरुसिया डर्टमन्डका इर्लिङ हल्यान्ड तथा पेरिस सेन्ट जर्मन (पिएसजी) का केलियन एमबाप्पे प्रभावशाली देखिए ।

क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा युवा खोलडी अगाडि देखिनुले के विश्व फुटबलमा परिवर्तनको समय आएको हो ? के रोनाल्डो र मेसीको एकछत्र राजको अन्त्य आएको हो ? भन्ने जस्ता प्रश्न उब्जाएको छ ।

पोर्चुगलका ३६ वर्षीय रोनाल्डो र अर्जेन्टिनाका ३३ वर्षीय मेसीले पछिल्लो दशकमा विश्व फुटबलमा एकछत्र राज गरे । दुवैले क्लबबाट च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाए ।

फ्रान्सका २२ वर्षीय युवा स्टार एमबाप्पेले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमै  पिएसजीले ४–१ को प्रभावशाली जित निकाल्दा ह्याट्रिक पूरा गरे ।
नर्वेका २० वर्षीय हल्यान्डको २ गोलको मद्दतमा डर्टमन्डले सेभिल्लाविरुद्ध ३–१ को जित दर्ता गर्‍यो । रोनाल्डो गोलबिहीन हुँदा युभेन्टस पोर्टोसँग २–१ ले पराजित भयो । 

के विश्व फुटबलमा नयाँ प्रतिद्वन्द्वीता आवश्यक छ ?

विश्व फुटबलमा सबैभन्दा ठूलो प्रतिद्वन्द्वीको चर्चा हुँदा रोनाल्डो र मेसीकै नाम आउँछ । उनीहरूले पछिल्ला १२ बालोन ‘डि’ओर मध्ये ११ अवार्ड जितेका छन् । जसमा रोनाल्डोले ५ र मेसीले ६ बालोन ‘डि’ओर अवार्ड हात पारेका छन् ।

रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले पोर्चुगल, स्पोटिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टसका लागि ७६३ गोल गरिसकेका छन् ।

पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डो च्याम्पियन्स लिगमा तथा रियल मड्रिडका लागि पनि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । 

रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनी सूचीको शीर्ष स्थानमा रहेका इरानका अली दाइ भन्दा मात्र ७ गोलले पछि छन् । 

मेसी ला लिगामा तथा बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । मेसीले  बार्सिलोनाका लागि विभिन्न ३४ उपाधि जितेका छन् । 

एमबाप्पे विश्व फुटबलमा सम्भावना बोकेका स्टार हुन् । सन् २०१८ मा मोनोकोबाट पिएसजी पुगेका उनी २२ वर्षको कलिलो उमेरमै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । 

उनले पिएसजीका लागि १११ गोल गरेका छन् उनीभन्दा आगाडि एडिन्सन काभानी र ज्याल्टन इब्राहिमोभिच छन् । एमबाप्पेले सन् २०१८ मा फान्सका लागि विश्वकप समेत जितेका छन् । 

विश्व फुटबलमा हल्यान्डको उदय एमबाप्पेको भन्दा केही फरक छ । अघिल्लो सिजनभन्दा अगाडि उनी गुमनाम जस्तै थिए, नर्वेभन्दा बाहिर उनको खासै चर्चा हुँदैन थियो ।

अघिल्लो सिजन च्याम्पियन्स लिगमा गरेको अद्भूत प्रदर्शनले उनको चर्चा एकाएक चुलियो । उनले विश्व फुटबलको ध्यान आफूतिर तान्न सफल भए ।

हल्यान्डले गत सिजनको च्याम्पियन्स लिगमा सल्सवर्ग तथा डर्टमन्डका लिग मात्र १३ खेलमा १८ गोल गरेका थिए । उनी २० खेलभन्दा कममा १८ च्याम्पियन्स लिग गोल गर्ने एक्ला खेलाडी हुन् । 

हल्यान्ड र एमबाप्पेको यो प्रदर्शनले विश्व फुटबलमा नयाँ युगको सुरुवात हुने संकेत गरेको छ । विश्व फुटबलले रोनाल्डो र मेसीकै स्तरका खेलाडी पाउने अपेक्षा गर्न थालेको छ  ।

‘हामीले फेरि मेसी र रोनाल्डोपछि केही हेर्न लायक खेलाडी पाएका छौं’, ग्यारी लिनकरले बिबिसी स्पोटर्ससँग भने, ‘यिनीहरूले जसरी गोल गरिरहेका छन्, त्यो मेसी र रोनाल्डो समान छ ।’

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रियो फर्डिनान्ड भन्छन्, ‘एमबाप्पेले मेसी तथा हल्यान्डले रोनाल्डोलाई छायामा पारिदिए । यसले विश्व फुटबलमा नयाँ परिवर्तनको संकेत गरेको छ ।’

‘यसले पछिल्ला १० वर्षको भन्दा फरक प्रतिद्वन्द्वी देखिएको र हामीले लामो समयदेखि गर्दै आएको मेसी र रोनाल्डोपछि को भन्ने प्रश्नको जवाफ पनि दिएको छ’ रियोले थपे ।

यी चारबीच तुलना

जारी सिजनको रोनाल्डो र मेसीभन्दा हल्यान्ड र एमबाप्पे निकै लयमा देखिएका छन् । मेसी र रोनाल्डोले च्याम्पियन्स लिगमा हालसम्म मात्र ८ गोल गर्दा हल्यान्ड र एमबाप्पेले १३ गोल गरेका छन् । 

रोनाल्डो र मेसीले यस सिजन समान ४–४ गोल गर्दा हल्यान्डले ८ र एमबाप्पेले ५ गोल गरेका छन् । 

२१ औं जन्मदिन मनाउनुअघि एमबाप्पेले १९ र हल्यान्डले १८ च्याम्पिन्स लिग गोल गर्दा मेसीले मात्र ८ गोल गरेका थिए । रोनाल्डो यो उमेरसम्म गोलविहीन थिए । एमबाप्पे र हल्यान्ड २१ वर्षअघि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष दुईमा छन् । 

गत सिजन देखिको तथ्यलाई हेर्ने हो भने यी दुई युवा स्टारले संयुक्तरूपमा २८ च्याम्पियन्स लिग गोल गर्दा रोनाल्डो र मेसीले संयुक्त रूपमा १५ गोलमात्र गरेका छन् ।
सन् २०१९–२० को सिजन सुरु भए यता रोनाल्डोले ६४ खेलमा ५५ गोल गर्दा ९ गोलका लागि अवसर सिर्जना गरेका छन् । मेसीले ६६ खेलमा ४७ गोल गर्दा २९ गोलका लागि अवसर सिर्जना गरेका छन् । 

हल्यान्डले ५८ खेलमा ६२ गोल ९ गोलका लागि अवसर मिलाउँदा एमबाप्पेले ५७ खेलमा ४४ गोल गर्दा १९ गोलका लागि अवसर मिलाएका छन् । 

( यो सामग्री बिबिसी स्पोटर्सबाट साभार गरिएको हो ।)

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १६:२९:५,   अन्तिम अपडेट : फागुन ११, २०७७ मंगलबार १६:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया