देशमा संकटकालको हल्लाले सेयर बजारमा असर : मंगलबार २१.१६ अंकले घट्यो बजार

दुई दिन लगातार दोहोरो अंकले घटेर नेप्से परिसूचक २ हजार ६०० विन्दुभन्दा तल झरेको छ । सोमबारदेखि घटेको बजारले मंगलबार पनि निरन्तरता पाएको हो ।

सोमबार ३२ दशमलव ६७ अंकले घटेको बजार मंगलबार २१ दशमलव १६ अंकले घटेको छ । आइतबार २ हजार ६४० दशमलव ३४ विन्दुमा पुगेको नेप्से परिसूचक दुई दिन लगातार घटेर २ हजार ५८६ दशमलब ५१ विन्दुमा झरेको हो । यसरी पछिल्लो दुई दिनमा नेप्से परिसूचक ५३ दशमलव ८३ अंकले घटेको छ ।

मंगलबार २ हजार ६२७ दशमलव ३४ विन्दुदेखि खुलेको बजार २ हजार ५१९ दशमलव ४२ विन्दुसम्म झरेर फेरि उकालो लागेर बन्द भएको छ । नेप्से परिसूचकले उच्च विन्दु कायम गरिरहँदा लगानीकर्ताहरूको मनोबल पनि कमजोर हुँदै गएको अनुमान विश्लेषकहरूले लगाएका छन् ।

लगानीको मूल्य बढिरहँदा घट्ने हो कि भन्ने आशंकाले लगानीकर्ताको मनोबल कमजोर भएको उनीहरूको तर्क छ । पुँजीबजारमा लगानी गरी नाफा आर्जन गर्न चाहनेले आत्तिनु पनि नहुने र मात्तिनु पनि नहुने सुझाव जानकारहरूको छ । 

देशमा संकटकाल घोषणाको हल्लाले यस दिन सेयर बजार प्रभावित भएको विश्लेषण गरिएको छ । सो हल्लाका कारण बजार खुल्ने बित्तिकै नेप्से तीव्र गतिमा ओरालो लाग्यो । 

कारोबारको सुरुवातमा नै यस्तो भएपछि लगानी कर्ताहरू झन् त्रसित भई बिक्री गर्न थालेको एक ब्रोकरले बताए । यस दिन बजारले पटक–पटक सकारात्मक दिशा समात्न प्रयास गरे पनि बिक्री कर्ताको चाप थाम्न सकेन । अन्तिम एक घण्टामा नेप्से सकारात्मक दिशा तर्फ अघि बढे पनि अघिल्लो दिनको बन्द विन्दुलाई भेटन सकेन ।



यस्तै मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्रै कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमल ४१ अंकले घटेको छ । नेप्से परिसूचक ओरालो लागे पनि बजारमा कारोबार रकमको उच्चता भने कायमै रहेको छ ।

मंगलबार कुल ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार बराबरको सेयर कारोबार भएको छ । उक्त रकम बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर कारोबार भएको हो । यो दिन २०५ ओटा कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा उल्लेखित सेयर कारोबार भएको हो । 



नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयरमा नेगेटिभ सर्किट

नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार खुलेको सातौं दिनसम्म लगातार सकारात्मक सर्किट लागेको यस बैङ्कको सेयरमा मंगलबार भने नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । यो दिन कम्पनीको ७३ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक रकमको सेयर कारोबार भएको यो दिन कम्पनीको सेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ । मंगलबार बजार खुल्ने बित्तिकै यस बैङ्कको सेयर बढेर प्रतिकित्ता ६९३ रुपैयाँ पुगेको भए पनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा सेयर मूल्य ६६ रुपैयाँले घटेर ५९४ रुपैयाँमा झरेको हो ।

मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भए पनि खरिद गर्ने लगानीकर्ता भने शून्य छन् । यो दिन कम्पनीको सेयर बिक्रीमा उच्च चाप देखिएपछि मूल्यमा असर परेको हो । 

मंगलबार व्यापारिक समूह बाहेकका सबै परिसूचक घटेका छन् । व्यापारिक समूहको भने शून्य दशमलव ९ प्रतिशतले परिसूचक बढेको छ । नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी कम्पनी र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्से परिसूचकले देखाएको छ ।

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १६:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया