‘बस्न त पाल टाँगेरै पनि सकिन्थ्यो, खाने अन्न छैन’
फरकधार / ११ फागुन, २०७७

जोरा बादी उमेरले ५५ वर्षका भए । दैलेखको गुङ्गेश्वर गाउँपालिका–१ स्थित कर्णाली नदीको आसपास क्षेत्रमा बस्दै आएका उनी परिवार सहित दुई दिनदेखि वीरेन्द्रनगर सुर्खेतमा छन् । डुङ्गेश्वरबाट आफ्नो सामग्री सहित तीन दिनको पैदल यात्रापछि उनीसहित ४ सयभन्दा बढी बादी समुदायका मानिसहरू वीरेन्द्रनगर आएका छन् । खेती गर्नका लागि व्यवस्थित जग्गाको माग गर्दै उनीहरू प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना दिइरहेका छन् ।

‘पहिला–पहिला धेरै मादल बनाउँथ्यौँ गाउँघरमै बिक्री हुन्थ्यो त्यहाँबाट अन्न ल्याउँथ्यौँ,’ पुराना दिनहरू सम्झिँदै जोराले भने, ‘अहिले त्यो छैन । गाउँघरमा मादल नै बिक्री हुँदैनन् । उल्टै मादलको साटो घरघरमा डेक र मोबाइल छन् । त्यसै माग्न जाँदै काम गरेर खा भन्दै थपाउँछन् ।’

केही वर्ष पहिलेसम्म दैलेखको जबमुकाँध हाल चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ मा बस्दै आएका उनी २०५६ सालमा सहरी विकास योजना अन्तर्गत गुङ्गेश्वरमा नमुना बस्ती निर्माण भएपछि परिवार सहित आएका थिए ।

यसरी पेसा लोप हुँदै गएपछि आफूहरू ज्याला मजदुरी गरेर खाइरहेको भन्दै उनले पछिल्लो समय त्यो पनि नपाएको बताए । ‘हाम्रो पेसा लोप भएपछि हामी मारमा छौँ,’ उनले थपे, ‘विगत केही वर्ष यताबाट पुरानो पेसाभन्दा माछा मार्ने, बालुवा चाल्ने, कर्णाली राजमार्गमा आएका गाडीमा सामान लोड–अनलोड गर्ने जस्ता काममा केन्द्रित हुँदै आएका छौँ ।’

‘पछिल्लो समय खोलामा माछा पाउन छाड्यो दिनभर मार्न बसे पनि माछा नै भेटिँदैनन्, बालुवा चाल्न प्रशासनले रोक लगाएको छ । गाउँ–गाउँमा सडक पुगेपछि गाडी लोड–अनलोडको काम पनि पाइएन । त्यसैले अब हामी खेती गर्न चाहन्छौँ । त्यसका लागि जग्गाको माग गर्दै कर्णाली प्रदेश सरकारको शरणमा छौँ’, उनले भने । 

उनीसहित उनका श्रीमती, ४ छोरा, ७ छोरी गरी १४ जनाको घर परिवार छ । तीमध्ये ५ छोरी र २ छोराको बिहे भइसकेको छ भने बाँकी जोराकै साथमा छन् । उमेर बढ्दै जाँदा काम गरेर खानका लागि काम नै नपाइएपछि आफूहरू एकदमै पीडामा रहेको उनले दुखेसो पोखे ।

‘हाम्रा बाबु बाजेले कहिल्यै खेती गरेनन् । आफ्नै पेसामा लागिरहे हामी पनि त्यसैलाई पछ्याउँदै गयौँ,’ आफू बच्चामा हुँदाका दिन सझिँदै उनले भने, ‘आज हाम्रो पेसा नै लोप हुने अवस्थामा पुग्यो । बस्न त जहाँ पनि पाल टाँसेरै भए पनि बस्न सक्छौँ तर खाने अन्न छैन ।’ सिचाइँ सुविधा भएको जग्गा उपलब्ध गराएको अवस्थामा आफूहरू जुनसुकै ठाउँमा पनि जान तयार भएको उनी बताउँछन् ।

प्रदेश सरकारलाई आफ्नो पीडा सुनाउँदा मन्त्रीज्यूले जग्गाको अधिकार हामीमा छैन हामी केही गर्न सक्दैनौँ सक्दो पहल गर्छौं भन्ने आश्वासन दिएको भन्दै उनले जग्गा नपाउञ्जेल मुख्यमन्त्री कार्यालय नछोड्ने बताए ।

जोरा बादी जस्तै डुङ्गेश्वर गाउँपालिका–१ मै बस्दै आएका सेते बादीको पीडा पनि उस्तै छ । रोजगारीका स्रोतहरू गुम्दै गएपछि आफूहरूले बाध्य भएर खेतीयोग्य जग्गाको माग गरिरहेको उनले बताए ।

‘हामीले हाम्रा बालबच्चालाई पढाउन सकेनौँ, राम्रो बासको व्यवस्थापन गर्न सकेनौँ । हुँदाहुँदै एकछाक खुवाउन समेत नसकिने अवस्था आएको छ,’ उनले भने, ‘घरमा ३ छोरा, ३ छोरी छन् । उनीहरूको पालनपोषणका लागि गरिखाने काम छैन । न त उत्पादन गर्ने जग्गा नै । त्यसैले हामी बाध्य भएर प्रदेश सरकारसँग माग गरिरहेका छौँ ।’

एकीकृत बस्ती विकास, शिक्षा, स्वास्थ्य, रोजगार उपलब्ध गराउने जस्ता नारा अघि बढाइरहेको प्रदेश सरकारले आफूहरूको समस्याबाट पन्छिन नमिल्ने उनीहरूको भनाइ छ । बादी समुदायका लागि सरकारले छुट्टै आयोग गठन गरेरै भए पनि जग्गा उपलब्ध गराउनुपर्ने अगुवा हिक्मत बादीले बताए ।

आफूहरूको माग पूरा नभएसम्म कुनै पनि हालतमा मुख्यमन्त्री कार्यालय नछोड्ने उनीहरूको भनाइ छ । दैलेखमा झण्डै ६६९ जनसंख्या बादी समुदायको छ । त्यसमा ४०२ परिवार र ११२ घरधुरी संख्या रहेको छ । ती मध्ये धेरैजसो दुल्लुनगरपालिका–१ र डुङ्गेश्वर गाउँपालिका–५ स्थित डुङ्गगेश्वर बजार आसपासमा बस्दै आएका छन् ।

उनीहरूको माग सुनेपछि कर्णाली प्रदेश सरकारले जग्गा उपलब्ध गराउन नसक्ने बताएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जमिनको व्यवस्था संघ र स्थानीय तहले गर्ने भएकाले प्रदेश सरकारले जमिन उपलब्ध गराउन नसक्ने बताएका हुन् । बादी समुदायका लागि जमिन दिन नसकेपछि स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी लिने बताए ।

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १७:३३:१०,   अन्तिम अपडेट : फागुन ११, २०७७ मंगलबार १७:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया