प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मंगलबार सर्वोच्चले उनलाई ठूलो धक्का दिएको छ । ५ पुसमा उनले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएको छ ।
सर्वोच्चले विघटित प्रतिनिधिसभा पुनस्र्थापना मात्र गरेको छैन, १३ दिनभित्र संसद बोलाउन प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश पनि दिएको छ । यसको अर्थ हो, अबको १३ दिनमा प्रतिनिधिसभाको बैठक बस्ने छ ।
अर्कोतिर सर्वोच्चको निर्णय आएसँगै नेकपा प्रचण्ड–माधव समूह तथा कांग्रेसका विभिन्न नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा भए पनि राजीनामा दिनु पर्ने माग गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल मंगलबार दिउँसो भरतपुर पुगेका थिए । त्यहाँ उनीहरुले मंगलबार साँझ एक कार्यक्रम गरे । कार्यक्रममा दुवैले सर्वोच्चको निर्णयले आफूहरुलाई खुसी बनाएको मात्र बताएनन्, प्रधानमन्त्री ओलीको राजीनामा माग पनि गरे ।
अर्कोतिर नेपाली कांग्रेसका नेताहरुले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने धारणा दिइरहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले फरकधारसँगको कुराकानीमा पनि यसलाई दोहोर्याएका थिए ।
तर, यस विषयमा नेकपामा ओली समूहका नेताहरुले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
हामीले के अब प्रधानमन्त्रीले राजीनामा देलान् भनेर प्रश्न गरेका थियौँ, नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसँग ।
सबैभन्दा पहिले उनले आफूहरुले सर्वोच्चको फैसला मान्ने बताएका छन् । ‘हामीले संविधानको व्याख्यामा सर्वोच्चलाई मान्नैपर्छ,’ मंगलबार साँझको टेलिफोन संवादमा पौडेलले भने, ‘त्यसैले हामीले यो फैसलाको स्वागत गर्छौँ ।’
त्यसपछि उनले आफूहरु अब आन्तरिक छलफलमा जुट्ने बताए ।
‘अब के गर्ने भन्ने विषयमा हामीले छलफल गर्न बाँकी नै छ,’ पौडेलले भने । अनि के प्रधानमन्त्रीको राजीनामा आउला त भन्ने प्रश्नमा पौडेलले भने, ‘यसबारे पनि छलफल हुन बाँकी नै छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।