आज मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । जन्मदिनलाई सधैं झैँ विशेष रुपमा आज मनाइरहेका थिए, प्रधानमन्त्री केपी शर्मा ओली ।
जन्मदिनको अवसरमा बालुवाटारमा कार्यक्रमहरु आयोजना गरिएको थियो ।
प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र अन्य पारिवारिक सदस्यहरुसहित पहिले निर्धारण गरिएका कार्यक्रममा व्यस्त थिए । त्यही समयमा सर्वोच्चमा उनले ५ पुुसमा गरेको प्रतिनिधिसभा विघटनको विषयमा फैसला हुने भयो ।
‘आज नै फैसला आउला भन्ने प्रधानमन्त्री ओलीले मात्र होइन, उहाँनिकट हामी कसैले पनि सोचेका थिएनौँ,’ आज प्रधानमन्त्री ओलीको बर्थ डे सेलिब्रेसनमा पुगेका एक नेकपा ओली समूहका नेताले फरकधारसँग भने, ‘यो त उहाँको बर्थ डेमा सरप्राइज भयो ।’
पहिले नै निर्धारण भएअनुसार आज राधिका शाक्यको पुस्तक मेरा अनुभूति पनि बालुवाटारमा सार्वजनिक गरियो ।
यो पुस्तक लेखक राधिका शाक्य, प्रधानमन्त्री केपी शर्मा ओली र प्रज्ञा प्रतिष्ठानका कुलपतिले सार्वजनिक गरेका हुन् । कार्यक्रममा केही नेता तथा कलाकारहरुले आआफूले लेखेका कविता र गीत पनि सुनाएका थिए ।
यति बेला सर्वोच्चको निर्णय आइसकेको थियो ।
प्रधानमन्त्री ओलीसँग निकट नेताहरु सबै बालुवाटारमा पुगेका थिए । उद्योगमन्त्री लेखराज भट्टबाहेक अन्य सबै मन्त्री पनि प्रधानमन्त्री निवासमा थिए ।
किताब विमोचन कार्यक्रममा पहिले प्रधानमन्त्री ओलीले पनि बोल्ने कार्यक्रम राखिएको थियो ।
तर, सर्वोच्चको निर्णय आएपछि उनले आजको कार्यक्रममा केही बोलेनन् ।
‘उहाँको हाउभाउमा कुनै परिवर्तन त थिएन,’ कार्यक्रममा सहभागी एक नेताले फरकधारलाई बताए, ‘तर, उहाँले यसबारे होस् या अन्य विषयमा नै किन नहोस्, आज केही बोल्नु भएन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।