१० वर्ष विदेशमा काम गर्दा निराश, ‘भैंसीदाइ’ बनेपछि मालामाल

घोराही उपमहानगरपालिका–३ का कुलराज बुढाथोकीले करिब एक दशक वैदेशिक रोजगारीमै बिताए। घरको कमजोर आर्थिक अवस्थाले उनलाई विदेश पुर्‍यायो। विदेशको रोजगारीपछि घरको आर्थिक अवस्था बलियो सपना देखेका थिए उनले। 

त्यति लामो समय विदेशमा बसेर काम गरेपनि उनले सोचेजस्तो भएन। आजभन्दा तीन वर्षअघि कुलराज वैदेशिक रोजगारीबाट फर्किएका थिए। उताबाट फर्किएपछि गाउँमै केही गर्ने सोचमा भौँतारिए उनको सोचाइमा पर्‍यो व्यवसायिक भैंसी पालन। 

६० हजार रुपैयाँमा दुईवटा भैसी किनेर सुरु गरेको कुलराजको व्यवसाय अहिले करोड पुगेको छ। आम्दानी पनि रामै्र छ। वैदेशिक रोजगारीबाट पूरा गर्न नसकेको उनको सपना भैंसीपालन व्यवसायबाट पूरा गर्दैछन्। ‘विदेशमा दशवर्ष पसिना बगाएँ। त्यसले खासै फलफाप भएन’ कुलराज भन्छन्, ‘न राम्रो घर बनाउन सकेँ न सम्पत्ति जोड्न सकेँ।’ 

तीन वर्ष देखिको भैँसी पाललनले त्यो दश वर्ष विदेशमा बसेको भन्दा राम्रो कमाई भएको उनले सुनाए।

अहिले बुढाथोकी विदेशको त्यो दुःख भुलेर भैंसीको स्याहारमा तल्लीन रहन्छन्।



अहिले उनको फर्ममा ५० वटा भैंसी छन्। मासिक करिब डेढलाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। आफ्नै घरमा बसेर यति आम्दानी गर्न पाएकोमा उनी निकै मख्ख छन्।



जिल्लाका उदाहरणीय भैंसीपालक किसानको रुपमा पनि परिचित छन्। ‘विदेश जाँदा आउँदा कसैले चिन्दैन्थे अहिले सबैले भंैसी दाइका रुपमा चिन्छन्’ उनले खुसी सुनाए।

यो व्यवसायबाट आम्दानी मात्रै होइन सन्तुष्टि समेत मिलेको उनलाई।

पहिले उदारो नपाउने अहिले साहुजी 

कुलराजले जीवनमा निकै संघर्ष व्यहोरेका छन्। कुनै समय यस्तो थियो, गाउँमा खसी काट्दा कुलराजले उदारो पाउँदैनथे। कसरी तिर्ला भनेर ? भनेर उनलाई धेरैले पत्याउँदैनथे। 

‘भैंसीले करोडको मालिक बनाइदियो। हिजो गरिब भनेर हेप्नेहरु अहिले साउजी भन्छन्’ भैंसीले फेरिदिएको जीवनको खुसी यसरी पोखे कुलराजले।  

बाबुबाजेले उहिलेदेखि गर्दै आएको भैंसी पालनलाई नै व्यवसायिक बनाउँदा यति सफलता मिल्ला भनेर उनले सोचेकै थिएनन्। 
‘बाबुआमा पछिको दोस्रो जीवन दाता मेरो भैंसी बन्यो’ उनको निष्कर्ष छ। 

तीनसय घरमा दुध

दिनभर भैंसीको दानापानी व्यवस्था गर्ने, बिहान बेलुका दूध बेच्न बजार जाने आउने उनको दिनचर्या हो।

कुलराजको फार्ममा अहिले ३३ वटा भैंसी अहिले दुहुना छन्। उनले दिनमा करिब तीनसय घरमा दुध पुर्‍याउँछन्। आम्दानीले मात्रै नभएर ३ सय परिवारलाई भैंसीको शुद्ध दूध पिलाउन पाएकोमा पनि निकै खुसी छन् उनी। 

‘शुद्ध दुध खुवाएको छु। उनीहरुको स्वास्थ्य बनाउन प्रत्यक्ष सहयोग पुर्‍याएको छु। यो सोचेर पनि म खुसी हुन्छु’ कुलराज भन्छन्।

उनले आफ्नो परिवारबाहेक ४ जनालाई रोजगारीसमेत दिएका छन्। 

उनले भने– ‘हिजो रोजगार खोज्न म विदेशसम्म पुगे, आज घरमै दुई चारजनालाई रोजगार दिने अवसरको मिल्यो।’

राज्यको प्रोत्साहन छैन

राज्यले व्यावासयिक पशु तथा पन्छी पालन, कृषि व्यवसायको क्षेत्रमा रोजगारका अवसर सिर्जना गर्न वर्षेनी करोडौँ खर्चिँदै आएको छ। तर वास्तविक किसानसम्म उक्त लगानी पुग्न सकेको छैन। 

यसका कारण पशुपन्छी पालन, कृषि व्यवसायमा लाग्नेहरु पलायन हुँदै पनि गइरहेका छन्। 

राज्यले सहुलियत कर्जा व्यवस्थामा ध्यान पुर्‍याउँन सके विदेशीने युवाहरुको संख्या घट्ने बुझाइ कुलराजको छ। 

व्यवसायिक विकासले व्यक्तिको मात्रै नभई राज्यकै आम्दानीमा टेवा पुग्ने भएकाले राज्यले लगानीको अवसरमा सिर्जना गर्नुपर्ने कुलराज बताउँछन्।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार ११:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया