कांग्रेस अब के गर्छ ? यस्ता छन् तीन विकल्प
अझै पर्ख र हेरको स्थितिमा

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि सबैको नजर अब सत्ता समीकरणतर्फ मोडिएको छ। १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक आदेश सर्वोच्चले दिएपछि यसबीचमा प्रधानमन्त्रीबाट कुनै ‘आश्चर्यजनक’ कदम आउने सम्भावना छैन। 

त्यस्तो परिस्थितिमा अब नेकपा प्रचण्ड–माधव नेपाल पक्ष, नेपाली कांग्रेस, जसपा नेपाल र प्रधानमन्त्री ओली समूहबीचमा को कता जाने भन्ने चर्चा चलिरहेको छ। 

नयाँ सत्ता समीकरण हुने भएकाले यसमा सबैभन्दा महत्वपूर्ण नेपाली कांग्रेस भएको छ। यस्तोमा ओली र दाहाल–नेपाल नेकपा कांग्रेसलाई फकाउने कोसिसमा देखिएका छन्।  कांग्रेस यस सन्दर्भमा मौन देखिएको छ। प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षसँग संयुक्त आन्दोलन गर्न अस्वीकार गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले अब के गर्लान्? धेरैलाई यो कुरामा चासो छ।

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेलगत्तै प्रचण्ड र माधव नेपालले देउवासँग मंगलबार राति चितवनबाट फोनमा संवाद गरेका थिए। उनीहरु चितवनबाट फर्किएर देउवालाई भेटन बुधबार दिउँसो बूढानीलकण्ठ पुगिसकेका छन्। 

सर्वोच्चको फैसलापछि प्रचण्डले आफूहरु कांग्रेस, जसपा लगायतका दलसँग कुरा गरेर सहकार्य गर्ने बताएका थिए। यद्यपि जसपाका नेताहरुले बुधवार दिउँसोसम्म प्रचण्ड–नेपाल पक्षसँग संवाद गर्ने कार्यक्रम बनिनसकेको बताएका छन्। 

कांग्रेस नखुल्ने



कांग्रेस नेताहरु भने नेकपाको आन्तरिक विवाद निरुपण नहुन्जेल कतै नखुली परिस्थितीलाई सुक्ष्म मूल्यांकन गर्ने योजनामा छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँण नेकपाको आन्तरिक विवाद साम्य नहुन्जेल कांग्रेस पर्ख र हेरकै अवस्थामा रहने बताए। 

केही समयअघि नेकपा नेताद्वय प्रचण्ड र माधव नेपालले सभापति देउवालाई भेटेर अगामी प्रधानमन्त्रीको अफर गरेका थिए। तर पनि कांग्रेस उनीहरुसँग खुलेको थिएन। कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिले नै कांग्रेस कुनै निष्कर्षमा नपुगेको दावी गरे। ‘अहिले हामी कुनै पनि निष्कर्षमा पुगेका छैनौँ’, महतले भने ‘परिस्थिति हेरेर निर्णय गर्छौँ।’



यस्ता छन् विकल्प
यस्तो परिस्थितिमा कांग्रेसको सम्भावनाबारे अहिले थरी थरी आँकलन चलिरहेको छ। कांग्रेस नेताहरुले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेससँग तीनवटा  विकल्प रहेको बताउँछन्। 

पहिलो : प्रचण्ड–नेपालसँग मिल्ने

प्रतिनिधिसभा विघटनको मुद्धामा प्रचण्ड–नेपालसँग मिलेर संयुक्त आन्दोलनमा नगए पनि कांग्रेस एक्लै आन्दोलित भएको थियो। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै उसले तीन चरणको विरोध कार्यक्रम पनि गरेको थियो। यस्तोमा कांग्रेस वर्तमान प्रधानमन्त्री केपी ओलीसँग मिल्न सक्ने सम्भावना छैनन। यस्तोमा सत्ता सहयात्रा प्रचण्ड–नेपालसँग हुने सम्भावना धेरै छ।

दोस्रो : ओलीसँग मिलेर जाने 

यसअघिका संवैधानिक नियुक्तिहरुमा प्रधानमन्त्री ओलीले देउवालाई पनि भाग दिएका थिए। राजनीतिक वृत्तमा कांग्रेस र ओलीबीच सहकार्य हुन सक्ने आँकलन गरिँदैछ। 

यद्यपि कांग्रेसभित्र सभापति देउवाबाहेक अन्य शीर्ष नेताहरु यसमा सहमत छैनन्। सभापति देउवा प्रधानमन्त्री ओलीप्रति नरम रहेको कांग्रेसकै कतिपय नेताहरुले सार्वजनिक रुपमै बोलेका छन्। 

तर कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित अधिकांश शीर्ष नेता तयार नरहेकाले सभापतिलाई उक्त निर्णयमा पुग्न गाह्रो हुन सक्ने नेताहरु बताउँछन्।

तेस्रो : तटस्थ बस्ने, कतै नजाने 

सभापति देउवा र वरिष्ठ नेता पौडेलसहित शीर्ष नेतामा सत्ता समीकरणलाई लिएर विवाद बढेमा कांग्रेस तटस्थ बस्न सक्छ। कांग्रेस तटस्थ बसेमा नेकपाको कुनै पक्ष जसपासँग मिलेर बहुमतको सरकार बनाउने सक्ने तत्काल सम्भावना छैन। 

यद्यपि संसद पुनःस्थापनापछि ओली पक्षबाट केही सांसदहरु प्रचण्ड–नेपाल पक्षले आफ्नोतिर तान्न सके त्यो सम्भव हुन सक्छ। यदि बहुमत नपुग्ने देखिए कांग्रेसले कतै नजाने हो भने प्रतिनिधिसभाले अन्ततः निर्वाचनमा जाने निर्णय गर्न सक्छ। यद्यपि यो सम्भावना कम छ। 

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १४:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया