अबकाे प्रधानमन्त्री काे ? यी हुन् सम्भावित पाँच अनुहार

२०७४ सालको मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा निर्वाचनले तत्कालीन बाम गठबन्धनलाई करिब २ तिहाई मत दियो। 

सो गठबन्धनका तर्फबाट तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। पार्टी एकता गर्दै ५ वर्ष स्थायी सरकार बनाउने प्रतिबद्धतासहित चुनावमा गएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रलाई जनताले अनुमोदन गरे। 

सरकार गठन भएको करिब ३ महिनामा दुई दलले पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल बनाए। सत्तारुढ दलमा विवाद उत्पन्न हुँदै जाँदा दुई वर्ष समयावधि बाँकी छँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरे। 

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन्।

सो निर्णयलाई मंगलबार (माघ ११ गते) सर्वोच्च अदालतले बदर गरिसकेको छ। 

आफ्नो निर्णय सर्वाेच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओलीको पद संकटमा परेको छ। 



अब बाँकी २ वर्षे अवधिका लागि को प्रधानमन्त्री बन्ला भनेर व्यापक चर्चा भइरहेको छ।

प्रतिनिधिसभा विघटनको निर्णयपछि सत्तारुढ दल नेकपा दुई खेमामा  बाँडिएको छ। नेकपा एक भएर सरकार बनाउने सम्भावना कमै देखिन्छ। २७५ सदस्य रहेको प्रतिनिधिसभामा बहुमतका लागि १३८ जना सांसद आवश्यक पर्छ। नेकपा दुई समूहमा बाँडिदा कुनै एक दलको बहुमत पुग्ने सम्भावना छैन। 



अहिलेको प्रतिनिधिसभामा रहेका सदस्यहरूको संख्या

नेकपा : १७३
कांग्रेस : ६४
जसपा : ३३
अन्य : ५

नेकपाका १७३ जनामध्ये एक जना अग्निप्रसाद सापकोटा सभामुख छन्। सांसदहरू ओली र प्रचण्ड–माधव समूहमा आउने जाने भइरहेकाले कसको पक्षमा कति भन्ने आँकलन गर्न कठिन देखिन्छ।  

प्रचण्ड–माधव समूहले आफूसँग एक सय जनाभन्दा बढी साथमा रहेका दाबी गरिरहेका छन्। ओली समूहले पनि आफूहरूकै पक्षमा बहुमत सांसद रहेको दाबी गरिरहेको छ।

बाहिर चर्चामा आए अनुसार ९० आसपास सांसद प्रचण्ड–माधवको पक्षमा र ८० आसपास सांसद ओलीको पक्षमा छन्। कांग्रेसका दुई सांसद निलम्बनमा छन्। 

संसद संख्याको हिसाब गर्दै अहिले नेपालको राजनीतिमा वृत्तमा भावी प्रधानमन्त्रीको लेखाजोखा सुरु भएको छ।

प्रधानमन्त्री बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानका कारण अब बन्ने प्रधानमन्त्री अर्काे आम निर्वाचनसम्म रहनेछन्। 

अबको २ वर्षसम्म प्रधानमन्त्री हुने सम्भावना देखिएका केही पात्रबारे चचा गरौँ–

१.केपी शर्मा ओली 

प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय गर्दै वैशाखमा निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीमाथि यतिबेला गम्भीर नैतिक संकट देखिएको छ। आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि उनले तत्काल राजीनामा दिनुपर्ने आवाज सर्वत्र उठिरहेको छ। ओली तत्काल प्रधानमन्त्री छाड्ने मनस्थितिमा छैनन्। बुधबार बसेको ओली समूहको स्थायी समिति बैठकमा पनि ओलीले तत्काल राजीनामा नदिने निर्णय भएको छ। यस्तो अवस्थामा ओलीलाई सरकारमा रही रहन कम्तीमा नेपाली कांग्रेसको साथ आवश्यक पर्छ। 

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भन्दै आन्दोलन गरेको कांग्रेसले ओलीलाई प्रधानमन्त्रीकै रूपमा समर्थन गर्ने कुरा भने कमै सम्भावना छ। 

२०७४ को निर्वाचनमा कमजोर प्रतिपक्ष बनेको कांग्रेस मध्यावधि निर्वाचन भइहाले गुमेको शक्ति चाँडै फर्किने आशमा थियो। सत्तारुढ दलमा विभाजन आएकाले आगाामी निर्वाचनमा पहिलाको भन्दा कांग्रेस शक्तिशाली बन्ने स्वतः देखिएको थियो। अब तत्काल त्यो अवस्था नरहेको र ओली राजनीतिक संकटमा रहेकाले ओलीलाई प्रधानमन्त्री बनाइरहनका लागि कांग्रेसले समर्थन गर्ने सम्भावना कम छ।

ओली प्रधानमन्त्रीका रूपमा कायम रहने भन्दा हट्ने सम्भावना नै बलियो छ।

२.शेरबहादुर देउवा

ओलीको बहिर्गमनपछि प्रधानमन्त्री बन्न सक्ने सम्भावना भएका पहिलो पात्र शेरबहादुर देउवा नै भएको आँकलन अहिले राजनीतिक वृत्तमा भइरहेको छ। प्रतिनिधिसभा पुनःस्थापित भएमा जोसुकै सरकारको नेतृत्वमा आए पनि फरक नपर्ने अभिव्यक्ति नेकपाको प्रचण्ड–माधव पक्षका नेताहरूले दिँदै आएका छन्। संयुक्त आन्दोलन गर्न आग्रह गर्दै देउवालाई भेट्न पुगेका प्रचण्ड र माधव नेपालले  प्रतिनिधिसभा पुनःस्थापित भएमा देउवालाई प्रधानमन्त्री बनाउने बाचन दिएको चर्चा करिब १ महिना अगाडि नै भएको थियो। 

संयुक्त आन्दोलन गर्नमा भने देउवा तयार भएनन्।

अदालतको फैसला आएपछि बुधबार नै माधव नेपालले प्रचण्डले देउवालाई उनकै निवासमा पुगेर भेटिसकेका छन्। उनीहरुको पहिलो प्रयास आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र कांग्रेसलाई सहभागी गराउने हुनसक्छ। आफूले नेतृत्व पाएमा मात्रै सरकारमा जाने निर्णय कांग्रेसले गरेमा कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवार  देउवा नै हुनेछन्। 

कुनै पनि हालतमा शक्तिमा रहिरहनका लागि ओलीले आफ्नो पक्षको समर्थनमा देउवालाई प्रधानमन्त्री बनाउन सक्छन्। पछिल्लो समय ओलीसँग नजिकजस्तो देखिएका देउवालाई ओलीसँग सत्ता सहकार्य गर्नका लागि पार्टीमा सहमति जुटाउन गाह्रो छ।

देउवा इतरको पक्ष ओलीसँग सहकार्य गर्न नहुने अडानमा देखिन्छ। 

नेकपाका अर्काे पक्षले सत्ताको नेतृत्व नदिने र ओली पक्षले दिने अवस्था आएको खण्डमा पार्टीमा देउवालाई प्रधानमन्त्री बनाउने सहमति जुट्न सक्ने झिनो सम्भावना छ।

ओलीको कदमको विरोधमा आन्दोलित भएको शक्ति नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सत्ता साझेदारी गर्ने तयारी नेकपा प्रचण्ड–माधव पक्षको छ। यसो हुँदा पनि सबैको साझेदारीमा देउवालाई प्रधानमन्त्री पद हात लाग्न सक्छ।

३.पुष्पकमल दाहाल ‘प्रचण्ड’

अब नयाँ प्रधानमन्त्री बन्ने लाइनमा अग्रस्थानमा देखिएका पात्र पुष्पकमल दाहाल पनि हुन्। ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेकै दिन नेकपाकै सांसदहरूले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई अघि सार्दै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। 

संसद सचिवालयमा दर्ता गरिएको सो प्रस्ताव प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएपछि अघि बढ्न सक्छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सहमतिमा लिई प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना पनि धेरै नै छ।

तर, कांग्रेसलाई अरुको नेतृत्वमा सहयोगी भएर सरकारमा लैजान त्यति सहज नहुन पनि सक्छ। 

तर, नेकपाकै केही सांसद ओली समूह छाडेर प्रचण्ड–माधव पक्षमा लागेको खण्डमा पनि जसपालाई लिएर कांग्रेस र ओली पक्षबिना नै प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जुट्न पनि सक्छ। 

नेकपा आधिकारिक रूपमा फुटिनसकेकाले पार्टीमा कमजोर अवस्थामा रहेको ओली पक्षले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सर्तमा पार्टीमा सहमति जुट्न पनि सक्छ। तर, पछिल्लो सम्भावना अहिले तत्काल देखिँदैन।

पछिल्लो समय प्रचण्ड आफैँले पनि आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नभएको अभिव्यक्ति दिँदै आएका छन्। यो हेर्दा सहमति नजुट्ने अवस्था आउँदा प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरिरहने देखिँदैन। ओलीलाई सत्ताबाट बाहिर राख्नका लागि उनले त्याग गरेरै भए पनि सहमति गर्ने अनुमान लगाउन सकिन्छ।

४.माधव कुमार नेपाल

माधव कुमार नेपाल भावी प्रधानमन्त्रीको दौडमा सामेल हुन सक्ने अर्का पात्र हुन्। संसद विघटन गर्ने ओलीको कदमपछि उनलाई कारबाही गरी नेकपा प्रचण्ड–माधव पक्षले नेपाललाई अध्यक्ष चुनेका छन्। कांग्रेस वा अन्य दलसँगको सहकार्यमा प्रचण्डको पक्षमा सहमति नजुट्ने र नेपालको पक्षमा सहमति जुटेमा उनी प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ। सत्ता साझेदारी गर्दा पक्कै पनि प्रचण्ड–माधव पक्षको पहिलो प्राथमिकता प्रचण्ड वा माधव नेपालकै नेतृत्वमा सकार गठन गर्नेमा हुनेछ।

यस्तो अवस्थामा सहमति जुटेर माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना पनि देखिन्छ।

५. डा. बाबुराम भट्टराई 

नेकपा प्रचण्ड–माधव पक्ष, कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता साझेदारीका क्रममा अन्य नेतामा सहमति नजुटे डा.बाबुराम भट्टराई पनि प्रधानमन्त्रीका सम्भावित उम्मेदवार हुन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका भट्टराई ओलीका गतिविधिको चर्काे विरोधमा देखिएका छन्। प्रचण्ड, देउवा वा अन्य कोही नेताको पक्षमा सहमति हुन नसक्दा बाबुराम भट्टराई विकल्पका रूपमा बलियो पात्र हुन्।

गत निर्वाचनमा गोरखामा नेपाली कांग्रेससँग गठबन्धन गरी भट्टराईले निर्वाचन जितेका थिए। लामो समय एउटै पार्टीमा रहेका र ओलीको संसद विघटनको कदमपछि नजिकिएका प्रचण्डबाट समर्थन लिन बाबुरामलाई गाह्रो देखिँदैन। अर्थमन्त्री हुँदै पाएको लोकप्रियता र प्रधानमन्त्री हुँदा सडक फराकिलो पारेर कमाएको चर्चाले पनि बाबुरामलाई सहयोग गर्न सक्छ। 

तर उनको पार्टी जसपाबाट सहमति जुटाउन सक्नेमा भने शंका छ। जसपाले संसदीय दलमा अझै एक पार्टीको आधिकारिकता पाएको छैन।   जसपालाई सरकारको नेतृत्व गर्ने अवसर आएको खण्डमा 

पहिलो वरीयताका अध्यक्ष महन्त ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको नाम पार्टीले अगाडि सार्न सक्छ। तर पूर्वप्रधानमन्त्री समेत रहेको राजनीतिक उचाइका आधारमा भट्टराई जत्तिको बलियो पात्र ठाकुर र यादव होइनन्। 

कोही हुन नसके स्वतः विघटन

कुनै दलले बहुमत प्राप्त नगरेको अवस्थामा र प्रतिनिधिसभाले कसैगरी प्रधानमन्त्री दिन नसकेको अवस्थामा प्रतिनिधिसभा विघटन भई निर्वाचनमा जानुपर्ने हुन्छ।

यो प्रक्रियाबारे संविधानको धारा ७६ को चर्चा प्रतिनिधिसभा विघटनपछि सबैभन्दा धेरै भएको थियो। कुनै दलका कोही नेतामा सहमति जुट्न नसकेमा धारा ७६ मा भएको व्यवस्था अनुसार कुनै दलको जो व्यक्ति पनि प्रधानमन्त्रीको रूपमा रुपमा अगाडि सर्न सक्छ।

तर त्यो परिस्थितिसम्म पुग्ने अवस्था भने अहिले देखिँदैन।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १९:३६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया