प्रधानमन्त्री ओलीसँग बाँकी रहेका दुई विकल्प

नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो ‘मुभ’ फेलियर सावित भएको छ । ५ पुसमा संसद विघटन गरेर उनले जे गर्न चाहन्थे, त्यो अब पूरा नहुने भएको छ । 

एकथरि नेताहरु सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको यो कदमलाई बदर गरिदिएसँगै अब प्रधानमन्त्रीको राजनीतिक भविष्य अँध्यारो भएको टिप्पणी गर्न थालेका छन् । तर, अर्कोतिर प्रधानमन्त्री ओलीले फेरि नयाँ कदम चाल्न सक्ने सम्भावना पनि जीवितै रहेको केहीले बताउन थालेका छन् ।

सर्वोच्च अदालतले संसद विघटनको विपक्षमा गरेको फैसलामा अब संसद १२ दिनभित्र बस्नै पर्ने हुन्छ । सर्वोच्चको यो फैसलाले नेपालको संविधानको कार्यान्वयनमा विशेष महत्व र अर्थ राखेको छ । 

आखिर संसद पुनस्र्थापना गरेको सर्वोच्चले किन १३ दिनमै यो बैठक बस्नु भन्ने निर्देशनात्मक आदेश दियो ? यसबारे फरकधारको यो सामग्री पढ्नुहोस्ः

अब संसद अधिवेशन आह्वान हुने भएसँगै प्रधानमन्त्री ओलीले के गर्ने हुन् भन्ने विषयमा पनि चर्चा भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री ओली समूहको स्थायी कमिटी बैठकमा यस विषयमा केही चर्चा पनि नचलेको होइन । तर, अहिले ओली पक्ष के गर्ने भन्ने निर्र्णयमा पुग्न सकिसकेको छैन । 

अब आउनुहोस्, यो सन्दर्भमा ओलीसँग बाँकी रहेका दुई विकल्पबारे चर्चा गरौँ । 



ओलीसँग बाँकी रहेको सबैभन्दा पहिले विकल्प हो, संसद अधिवेशन बोलाउनु भन्दा अगाडि नै राजीनामा दिने । उनले यसरी राजीनामा दिएको खण्डमा राष्ट्रपतिले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नेछिन् । त्यसपछि नेपालको पोलिटिकल रोडम्याप नयाँ ढंगमा अगाडि बढ्ने निश्चित छ । त्यो हो– प्रतिनिधि सभामा नयाँ सरकार गठनका लागि गठबन्धनहरु निर्माण हुन सक्नेछन् । 

तर, महत्वपूर्ण प्रश्न छ– के प्रधानमन्त्री ओलीले राजीनामा देलान् त ? 



आजको स्थायी कमिटी बैठकबाट बाहिरिएपछि ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्ट रुपमा भनेका छन्– अहिले हामीले राजीनामा दिनेबारे सोचेका छैनौँ । उनले प्रधानमन्त्री ओलीले पनि राजीनामा दिने वा नदिनेबारे कुनै छलफल नभएको बताएका छन् । पछिल्लो समय ओलीका आलोचक रहेका नेकपाका एक नेताले फरकधारसँग यो विषयमा भने, ‘ओली सत्ता गुमाउन चाहँदैनन्, उनले राजीनामा दिने भएको भए नेकपामा अहिलेको अवस्था आउने नै थिएन । त्यसैले उनले अब पनि राजीनामा देलान् भन्ने लाग्दैन ।’

प्रधानमन्त्री ओलीले राजीनामा नदिँदा उनको राजनीतिक भविष्य थप अन्योल हुनसक्छ । तर, राजीनामा दिएनन् भने ओलीले के गर्लान् त ? 

ओलीले जुन कदम अगाडि बढाउने छन्, त्यही नै अब ओलीका लागि बचेको दोस्रो विकल्प हो । 

अर्थात्, संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने । यो अवस्थामा पुग्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा राखिरहन अन्य दलको साहरा लिन सक्छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई समर्थन गरेको खण्डमा उनी थप दुई वर्षका लागि प्रधानमन्त्री रहिरहन सक्छन् । 

अविश्वासको प्रस्ताव सामना गर्ने अब ओलीसँग बचेको दोस्रो विकल्प किन हो भने नेकपामा प्रचण्ड–माधव समूहले उनीविरुद्ध यसअघि नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । संसद विघटनपछि नेकपामा यी दुई समूहबीच जसरी आरोपप्रत्यारोप भएको छ, त्यसले प्रष्ट पार्छ, यी दुई समूह एकअर्कासँग अब मिल्न सक्ने छैनन् । यही कारण पनि अब ओलीसँग बाचेको दोस्रो विकल्पका लागि उनलाई सहज हुनसक्ने अवस्था हो– कांग्रेस र जसपासँग सत्ता भागवण्डा गर्नु ।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार २०:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया