एउटा सहरमा दुई पण्डित बस्थे । उनीहरू सानैदेखि सँगै हुर्केका र पढेका थिए । तर, दुवैले एकअर्कालाई आफ्नो प्रतिस्पर्धी ठानेर ईष्र्या गर्थे । देखावटी रूपमा भने उनीहरू एकआपसमा निकै मिल्थे । एक दिन सहरका एक धनाढ्य व्यापारीले दुवै पण्डितलाई भोजनका लागि एकसाथ आमन्त्रण गरे । दुवै खुसी हुँदै व्यापारीकहाँ पुगे । खाना तयार हुँदै थियो । दुवैले पालैपालो स्नान गरेपछि भोजन गर्ने बताए । पहिलो पण्डित स्नानागारमा प्रवेश गरे । उनी गएपछि व्यापारी र अर्का पण्डित भलाकुसारी गर्न थाले ।
कुरैकुरामा अर्का पण्डितको विषयमा कुरा उठ्यो । व्यापारीले अर्का पण्डितको प्रशंसा गर्दै उनी निकै असल भएको बताए । आफ्ना प्रतिस्पर्धी साथीको बयान सुनेर वार्तालापमा संलग्न पण्डित तिल्मिलाए । उनले भने— त्यो केको असल पण्डित हुन्थ्यो । त्यो त साँढे हो, साँढे ! त्यस्तालाई पनि के असल भन्नु ?
केहीबेरमै पहिलो पण्डित स्नानागारबाट निस्किएपछि दोस्रा पण्डित स्नान गर्न गए । यस क्रममा पहिलो पण्डित र व्यापारी कुराकानी गर्न थाले । कुरैकुरामा दोस्रो पण्डितको प्रसंग निस्कियो । व्यापारीले भने– उहाँ निकै भलादमी र असल हुनहुन्छ । साथीको प्रशंसा सुनेपछि मुख बिगार्दै पहिलो पण्डितले भने– कहाँ त्यो भलादमी र असल हुनु नि ? त्यो त गधा हो, गधा !
केहीबेरमा दोस्रा पण्डित पनि स्नान गरेर आए । अनि दुवैलाई भोजनका लागि आग्रह गरियो । दुवै भोजनका लागि तयार भए । व्यापारीले एउटा थालमा कलकलाउँदो हरियो घाँस र अर्को थालमा गधालाई दिइने मकैको दाना राखेर दिए । यो देखेपछि दुवै पण्डित अचम्ममा परे र एक स्वरमा सोधे— यो सब के हो हजुर ? व्यापारीले मुस्कुराउँदै जवाफ दिए– गधा र साँढेको प्रिय भोजन यही होइन र ? व्यापारीको भनाइ सुनेपछि दुवै पण्डितले एकआपसमा हेराहेर गरे र लाजले अनुहार रातो पार्दै शिर निहुराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।