च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातिका खेलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले जित निकालेका छन् । अन्तिम १६ को पहिलो लेगमा स्पेनिस मड्रिड र इङ्ग्लिस क्लब सिटीले जित निकालेका हुन् ।
गएराति भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोल अन्तरले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र गाब्रियल जिससले एक एक गोल गरे ।
सिटीका लागि खेलको २९औँ मिनेटमा सिल्भाले र ६५औँ मिनेटमा जिससले गोल गर्दै २-० को जित दिलाए । जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग सिटीको मैदानमा मार्च १६ मा हुनेछ । मन्छेनग्लाडबाखलाई अन्तिम आठको यात्रा तय गर्न दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
यस्तै गएरातिनै भएको अर्को खेलमा रियल मड्रिडले १० खेलाडीमा सीमित इटालियन क्लब एटलान्टालाई १–० गोल अन्तरले पराजित गरेको छ । एटलान्टाको मैदानमा रियललाई जित दिलाउन फेर्लान्ड मेन्डीले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरे ।
त्यसअघि खेलको १७औँ मिनेटमा रिमो फ्रेलेरले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
रियल र एटलान्टाको दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ । एटलान्टालाई अन्तिम आठमा प्रवेशका लागि दोस्रो लेगमा दुईभन्दा बढी गोल अन्तरको जित निकाल्नु पर्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।