दाहाल-नेपाललाई जसपाको प्रश्‍न : तपाईंहरु कुन पार्टीको? दलबिना सरकार कसरी बन्छ?
कांग्रेसपछि जसपलाई मनाउने दाहाल-नेपालको प्रयास

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उत्साहित पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपा अहिले सरकार निर्माणको कोसिसमा छ। 

बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउने कोसिस गरेका दाहाल-नेपालले बिहीबार बिहान जनता समाजवादी पार्टीका नेताहरुलाई पेरिसडाँडामा बोलाए। बिहान नौ पेरिस डाँडा पुगेका जसपा नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसहितसँग दाहाल-नेपालले करिब डेढ घण्टा लामो संवाद गरे। 

उक्त सम्वाद मुख्य रुपमा सम्भावित सत्ता समीकरणमै केन्द्रित रहेको स्रोतले बताएको छ। पेरिस डाँडाको बैठकमा दाहाल-नेपालले जसपा नेताहरुलाई नयाँ सरकारमा मिलेर जान प्रस्ताव राखेका थिए। 

उक्त छलफलमा बोल्दै अध्यक्ष दाहालले सत्ता समीकरणका लागि कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको बताउँदै जसपा नेताहरुलाई फकाउने प्रयास गरेका थिए। उनले प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटिसकेकाले अब मिल्ने सम्भावना नरहेकाले कांग्रेस र जसपासहितका शक्तिसँग मिलेर सरकार बनाउन चाहेको कुरा राखेका थिए। 

तर उठ्यो आधिकारिकताको प्रश्न 

दाहाल-नेपालले सरकारमा सहकार्य प्रस्ताव गरे पनि जसपा नेताहरुले भने उनीहरुमाथि आधिकारिकताको प्रश्न उठाइदिएका छन्।  जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुरले दाहाल-नेपाललाई नेकपाको आधिकारिकताबारे प्रश्‍न उठाइदिएका हुन्। 



'तपाईंहरुको पार्टी कुन हो? पहिले तपाईंहरुले पार्टीको टुंगो लगाउनुस्', ठाकुरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले फरकधारलाई भने, 'यदि नेकपा नै यथावत हो भने ठिकै छ। होइन, फुटेकै हो भने पनि तपाईंहरूले राजनीतिक रुपमा मान्यता प्राप्त नगरी हामी सहकार्य गर्न सक्ने अवस्था रहँदैन।'

सत्ता समीकरणका लागि गरेको प्रस्तावमा जसपाका अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले पनि सरकार निर्माणका लागि पार्टी चाहिने तर्क राखेका थिए। 'पहिलो कुरा त सरकार निर्माणका लागि तपाईंहरुको पार्टी चाहियो नि', वरिष्ठ नेता महतोले भनेका थिए, 'पार्टीको कुरो टुंगो नलागी सरकार निर्माण कसरी अघि बढ्छ? पहिले एउटै हो कि दुइटा भइसक्यो? त्यसलाई कानुनी रुपमा टुंगो लगाउनुस् अनि सरकारमा सहकार्यको कुरा अघि बढ्न सक्छ।'



बैठकपछि बाहिरिँदा पनि आफूले त्यही कुरा राखेको जानकारी महतोले पत्रकारहरुलाई दिएका छन्। 'तपाईंहरुको कुन पार्टी हो? पार्टी चाहियो नि त, त्यसमा पहिले प्रस्ट हुनुहोस्', बैठकमा आफ्नो भनाइबारे महतोले भने,'तपाईंहरुले राखेका सबै कुरा हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौँ भनेका छौँ।'

स्रोतका अनुसार  बैठकमा जसपा नेताहरुले संविधान संशोधन र हाल जेलमा रहेका टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भनिएका सांसद रेशम चौधरीबारे साझा एजेन्डा बनाए सहयात्रा सम्भव हुने बताएका थिए। उनीहरुले  यी दुई एजेन्डामा दाहाल-नेपाल तयार भएमा पार्टीले आधिकारिकता पाएपछि सरकारसम्मको सहयात्रा सम्भव हुने तर्क गरेका थिए।

प्रचण्डको जवाफ : हामी नै आधिकारिक

जसपा नेताहरूसँगको संवादका क्रममा प्रचण्डले आफ्नै समूह आधिकारिक रहेको जिकिर गरेका थिए। उनले ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरु नै आधिकारिक रहेको तर्क गरेका थिए। 

अर्का अध्यक्ष नेपालले पनि संसददेखि पार्टीसम्म आफुहरुकै बहुमत रहेकाले सबैतिर आफूहरु नै आधिकारिकता हुने व्याख्या बैठकमा गरेका थिए। तर जसपा नेताहरुले जवाफमा दाहाल नेपाललाई ओलीको प्रतिगमन अदालतले सच्याए पनि संविधान बनाउँदा भएको प्रतिगमन पनि सच्चिनुनपर्ने मत राखेका थिए। अर्थात् उनीहरुले संविधान संशोधन गर्न तयार भए मात्रै सहयात्रा सम्भव हुने कुरा पेरिस डाँडामा राखेर बाहिरिएका थिए। 

'केपी ओलीको प्रतिगमन त सच्चियो, हामीले स्वीकार्यौँ', जसपा नेताहरुले बैठकमा भनेका थिए, 'तर संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ?'

जसपाले बैठकमा संविधान संशोधनबारे कांग्रेस, एमाले र माओवादीसँग गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने अडान राखेका थिए। उनीहरुले टीकापुर हत्याकाण्डसहितका जोडिएका आफ्ना नेता-कार्यकर्ता रिहा नभएसम्म सहकार्य असम्भव रहेको जवाफ दिएर पेरिस डाँडाबाट हिँडेका थिए।

भिडियो

  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १३:३१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया