हरेक नेपालीको थाप्लोमा ५० हजार रुपैयाँ ऋणको भारी
२ सय प्रतिशतले बढ्यो सरकारको ऋण

पछिल्लो ३ वर्षमा संघीय सरकारको ऋण २ सय १६ प्रतिशतले बढेको छ। ३ वर्षको अवधिमा सार्वजनिक ऋण ८ खर्ब ८ अर्ब रुपैयाँ बढेको सरकारी तथ्यांकले देखाएको छ। 

अर्थ मन्त्रालयका अनुसार २०७४ फागुनसम्म ६ खर्ब ९८ अर्ब सार्वजनिक ऋण थियो। चालु आ.व.को पुससम्ममा यस्तो ऋण २ सय १६ प्रतिशतले बढेर १५ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। 

चालु आ.व.को पुससम्ममा सरकारले भुक्तानी गर्न बाँकी ऋण १५ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो। यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४० प्रतिशतको हाराहारी रहेको छ। पछिल्लो समय मुलुकको जीडीपीको आकार ३७ खर्ब रुपैयाँ रहेको तथ्यांक विभागले जनाएको छ।

बाह्य ऋण ८ खर्ब

सरकारको कुल ऋणमध्ये ८ खर्ब ४२ अर्ब ५९ करोड रुपैयाँ बाह्य (विदेशी) ऋण र ६ खर्ब ६४ अर्ब २१ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ। 

२०७७ असार मसान्तसम्म सरकारको तिर्न बाँकी खुद ऋण १३ खर्ब ४६ अर्ब ७६ करोड रुपैयाँ थियो। त्यसैगरी २०७६ असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ। जसमा विदेशी ऋण ५ खर्ब ९३ अर्ब र आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब रुपैयाँ थियो।



चालु आ.व.को ६ महिनामा नेपाल सरकार (संघीय सरकार) ले थप ७८ अर्ब ४ करोड रुपैयाँ ऋण लिएको छ। अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आवको पुससम्म ५७ अर्ब आन्तरिक र २१ अर्ब ४ करोड वैदेशिक ऋण लिएको हो।

हरेक नेपालीको थाप्लोमा कति?



प्रत्येक नेपालीको थाप्लोमा करिब ५० हजार सार्वजनिक ऋण छ। केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबार (आज)सम्म नेपालको जनसंख्या ३ करोड २ लाख ५५ हजार २ सय १६ छ। यसरी सबैलाई समानुपातिक रुपमा भाग लगाउँदा प्रत्येक नेपालीको टाउकोमा ऋणको भारी ४९ हजार ८ सय ३ रुपैयाँ सार्वजनिक ऋण पर्न आउँछ। 

आ.व. २०७३/७४ मा प्रतिव्यक्ति ऋण २४ हजार रुपैयाँ थियो। आ.व. २०७४/७५ मा ३१ हजार पुगेको थियो। आ.व. २०७५/७६ मा ३५ हजार ५ सय रुपैयाँ ऋण पुगेको थियो। यस्तै, आव २०७६/७७ मा ४२ हजार थियो। यस हिसाबले पछिल्लो ४ वर्षमा मात्रै एक नेपालीको भागमा २५ हजार ऋण बढेको देखिन्छ।

पछिल्लो समय कोरोना भाइरसका कारण देशको अर्थतन्त्र सुस्त छ। जसले सरकारको आम्दानीको मुख्य स्रोत राजस्व असुलीमा ठूलो गिरावट आएको छ। राजस्व असुलीमा आएको कमीले गर्दा आगामी दिनमा सरकारको ऋण झनै बढ्ने सम्भावना छ।

६ महिनामा ३० अर्ब ७० करोड भुक्तानी

सरकारले पुस मसान्तसम्ममा ऋणको साँवा र ब्याजसमेत गरी कुल ३० अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयका अनुसार त्यस अवधिमा आन्तरिकतर्फ ६ अर्ब साँवा र १३ अर्ब ९६ करोड ब्याज सहित १९ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको छ।

गत आ.व.को त्यही अवधिमा आन्तरिक ऋणको साँवातर्फ २ अर्ब ४० करोड र ब्याजतर्फ १० अर्ब ३१ करोड गरी कुल १२ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरिएको थियो। 

पौने २ खर्ब प्रतिबद्धता

चालु आ.व.को ६ महिनामा वैदेशिक ऋणको १० अर्ब ७४ करोड साँवा भुक्तानी भएको मन्त्रालयले जनाएको छ। यसैगरि पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको छ।  

यो गत आ.व.को त्यही अवधिको तुलनामा १ सय ५६ दशमलव ९ प्रतिशतले बढी हो। गत आ.व.को ६ महिनामा ७२ अर्ब ९५ करोडको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १४:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया