नेकपा विधिवत नफुटेसम्म कांग्रेस सरकारमा नजाने
पदाधिकारी बैठकमा देउवाले भने : हतारिएर निर्णय नगरौँ

प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक तरंगबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल सरकारमा नजाने निर्णय लिएको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सत्तारुढ नेकपा विभाजनको कानुनी टुंगो नलागेसम्म तटस्थ बस्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी अधिकांश नेताहरुले  पनि अहिले हतारिएर सरकारमा जाने कुरा उचित नहुने धारणा राखेका छन्। नेकपा व्यवहारिक रुपमा दुई समूहमा बाँडिएकाले अगामी साता समीकरणमा कांग्रेस निर्णायक देखिएको छ। यो अवस्थामा कांग्रेसले लिने निर्णयमा धेरैको चासो थियो। 

बुधबार मात्रै चितवनबाट आएर दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई सत्ता साझेदारी प्रस्ताव गरेका थिए। तर देउवाले पार्टीमा छलफल गर्ने भन्दै दुवै नेतालाई फर्काइदिएका थिए।

यस्तोमा कांग्रेसले तटस्थ बस्ने निर्णय लिएर तत्काल सत्तामा नजाने संकेत गरेको हो। सभापति देउवा निवासको पदाधिकारी बैठकले कांग्रेस तत्काल कतै नजाने निचोडमा पुगेको सह-महामन्त्री डा. प्रकाशशरण महतले बताए ।

देउवाले के भने?

बैठकमा सभापति देउवाले पछिल्लो राजनीतिक परिस्थितिपछि नेकपाका दुवै खेमाले काङ्ग्रेससँग राखिरहेको सहकार्य प्रस्तावबारेमा बिफ्रिङ गरेका थिए। बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले पनि नेकपाको आन्तरिक विवाद टुंगो नलागेसम्म तत्काल कतै नजाने पक्षमा रहेको बताएका थिए। 



बैठकपछि पत्रकारहरुसँग बोल्दै सह-महामन्त्री महतले नेकपाको अधिकारिता नटुंगिएसम्म आफूहरु हचुवाका भरमा कतै नलाग्ने प्रष्टाए। 'आजको मितिसम्म उहाँहरु वैधानिक रुपमै एक हुनुहुन्छ', महतले भने, 'वैधानिक रुपमा नेकपा एक रहुञ्जेल उनीहरुसँग आफैँ बहुमत हुन्छ, यो अवस्थामा हामी किन उत्ताउलो बन्‍ने? नेकपा  कानुनी रुपमै दुई पार्टी भएमा मात्रै सत्ता समीकरणको कुरा हुन्छ। अहिले सत्ता समीकरणको कुरा हुनै सक्दैन।'

प्रतिनिधिसभा बैठक सुचारु भएपछि यही सरकारले निरन्तरता पाउने विषयमा पनि कुरा भएको महतले बताए।  'त्यस्तो परिस्थितिमा मात्रै कांग्रेसले आफनो 'स्टायन्ड क्लियर' गर्छ', उनले भने, 'अहिलेलाई कांग्रेसको निर्णय भनेको नेकपा कानुनी रुपमा विभाजन हुने प्रतिक्षा हो।'



बिहीबारको पदाधिकारी बैठकपछि सह-महामन्त्री महतले तरल राजनीतिक परिस्थितिमा नेताहरुबीच छलफल हुनु स्वभाविक भन्दै पार्टीको अधिकारिक लाइन अहिले कसैसँग नजाने रहेको स्पष्ट पारे

५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसलाई असंवैधानिक भन्दै विरोध गरेको थियो। ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको थियो। 

संसद पुनःस्थापनापछि नयाँ सत्ता समीकरणमा कांग्रेस निर्णायक देखिएपछि नेकपाका दुवै पक्षले सहयात्रा प्रस्ताव राखेका छन् सह-महामन्त्री महतले भने, 'अरुले के के प्रस्ताव राखे भन्दा पनि हामी के गर्छौँ भन्ने कुरा महत्वपूर्ण हो।'

प्रतिनिधिसभा विघटनपछि त्यसविरुद्ध कांग्रेसमा दुई धार देखिएको थियो। त्यसविरुद्ध संयुक्त आन्दोलनका लागि प्रचण्ड-माधव नेपालले गरेको आग्रह कांग्रेसले अस्वीकार गरेको थियो। कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा मुद्दा चलिरहेको भन्दै आन्दोलनमा नजाने निर्णय लिएका थिए। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आन्दोलनमा जोड दिएका थिए।

प्रतिनिधिसभा पुनःस्थापनापछि पनि कांग्रेसमा सत्तामा जाने कि नजाने भन्नेमा अलमल छ। सभापति देउवा इतर पक्षका नेताहरुले सार्वजनिक रुपमै अहिले  नेकपाको कुनै पनि पक्षसँग मिलेर सरकारमा नजाने कुरा गरिरहेका छन्। यद्यपि सभापति देउवाले बुधबार सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिँदा राम्रो हुने भन्दै नेकपाको आन्तरिक विवादमा कांग्रेस नफस्ने बताएका थिए। 

  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया