नेकपा विभाजनले सत्तामा पुर्‍याउला जसपालाई ?
ओलीलाई बिदा गर्न नेताहरु फकाउँदै प्रचण्ड-माधव

सर्वोच्च अदालतले संसद विघटनको मुद्दा बदर गरिदिएपछि सबै राजनीतिक दल सम्भावित सत्ता समीकरणलाई लिएर सक्रिय बनेका छन्।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आन्दोलनसहितका गतिविधिमा सक्रिय राजनीतिक दलहरु अहिले सरकार निर्माणतर्फ सक्रिय हुन थालेका हुन्।

सर्वोच्च अदालतले संसद विघटनको मुद्दा बदर गरेपछि नेकपा दाहाल–नेपाल समूहसहित सरकार गठन गर्ने खेलमा लागेका छन्। नेकपाकै बहुमतले केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकार आन्तरिक लडाइँका कारण संकटमा छ।

नेकपा संकटको फाइदा 

सत्तारुढ नेकपा अहिले प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहमा विभाजित छ। यो विभाजनले ओली समूह ८३ र दाहाल–नेपाल समूह ८८ जना सांसदसहित बाँडिएको छ। तर यो व्यवहारिक विभाजन मात्रै हो, कानुनी विभाजन भइनसकेकोले नेकपा अझै पनि वैधानिक रुपमा एकै पार्टी छ। 

संसदको यो तथ्यांकले अब नेकपाका यी दुवै खेमाले एक्लै सरकार चलाउन सक्ने अवस्था छैन। व्यवहारिक  रुपमा विभाजित नेकपा फेरि एक भएर सरकार यथावत रहने सम्भावना छैन। बिहीबार मात्रै पेरिस डाँडामा जसपा नेताहरूसँगको भेटमा प्रचण्डले ओलीसँग मिल्न सकिने सबै विकल्प र ढोका बन्द भइसकेको बताएका छन्। 



जाग्दै जसपा

संसदको अंक गणितीय खेलमा आफ्नो दुनो सोझ्याउन प्रतिपक्षी दल कांग्रेससहित तेस्रो दल जसपा पनि सक्रिय भएको छ । सत्ताको खेलमा कांग्रेस निर्णायक भूमिकामा देखिएकाले सबैले छलफल गरिरहेका छन्। 



कांग्रेसको समर्थन जता हुन्छ उसकै सरकार बन्ने भएकाले नेकपाका दुवै समूह फकाउने रणनीतिमा छन्। त्यसपछि आफ्नो एजेण्डा सफल बनाउन जसपा पनि सत्ताको जोड घटाउमा जुटिसकेको छ। अर्थात जसपा पनि सत्ताको खेलमा नबिर्सिने खेलाडी बनेको छ। प्रतिनिधिसभामा जसपाबाट ३४ जना सांसद छन्। दुईजना निलम्बनमा परेकाले यो संख्या अहिले ३२ मा झरेको छ।

जसपाको खोजी

संविधानसभा निर्वाचनपछि निरन्तर सत्ताको खेलाडी बनेको जसपा एक वर्षयता चुपचाप छ। ओली सरकारबाट बाहिरिएपछि आन्तरिक विवादमै रुमलिएको जसपाको नेकपा विभाजनसँगै खोजी हुन थालेको हो। नेकपा विभाजन अघिसम्म संसदको अंकगणितीय खेलमा महत्वहीन जसपाले अहिले अवसर पाउने देखिएको छ।

ओलीलाई सरकार बचाइराख्न र प्रचण्ड–माधवलाई नयाँ सरकार बनाउन कांग्रेस र जसपाको साथ चाहिने अवस्था छ। यो पटक पनि जसपा निर्णायक नभए पनि कांग्रेसपछिको विकल्पमा सत्ता साझेदार बनाउने प्रयास दुवै नेकपाले गरिरहेका छन्। 

नेकपा विभाजन भइसकेपछि पनि दुवै समूह जसपासँग भर परेर सरकार बनाउन सक्ने अवस्थामा छैनन्। तर दुइटै समूहले जसपालाई मात्रै लिएर सरकार बनाउन सक्ने अवस्था छैन। तर सत्ताका लागि बहुमतको खेलमा जसपा पनि एउटा खेलाडी बन्न पुगेको छ। अहिले सत्ताको खेलमा निर्णायक पार्टी कांग्रेस भएको छ। 

कांग्रेसमाथि सबैको भर

फागुन ११ मा संसद पुनःस्थापना भएपछि त्यसको केहीबेरमा नै दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन सम्पर्क गरेका थिए। त्यसबारेमा प्रचण्डले त्यही दिन बिबिसीलाई अन्तर्वार्ता दिँदा पनि खुलाएका थिए। 

यही बुधबार काठमाडौं फर्केलगत्तै दाहाल–नेपाल समूहका दुइटै अध्यक्ष सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। जहाँ उनीहरुले देउवालाई प्रधानमन्त्री बन्न या आफूहरुलाई सत्ता साझेदारीमा साथ दिन प्रस्ताव गरेका थिए। यता बिहीबार मात्रै जसपा नेताहरुलाई पनि दाहाल–नेपालले पेरिसडाँडामा बोलाएर वार्ता गरेका छन्। 

अर्को आन्दोलनमा गर्छौँ : राजेन्द्र महतो

विगतमा सत्ताको खेलाडी बनिरहेको जसपा यस पटक पनि नेकपाका दुवै समूहतर्फ समान सम्पर्कमा छ। तर दाहाल–नेपालले जसपलाई मनाउने प्रयास गरिरहेका छन
नेकपाका दुइटै समूह र कांग्रेसका नेताहरुसँग भेटघाट र छलफलमा सक्रिय छ जसपा। जसपा वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी अब अर्को प्रतिगमनको विरोधका लागि तयारी अवस्थामा रहेको बताउँछन्। 

‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन सकियो। अब अर्को प्रतिगमनको विरोधमा संघर्षका लागि तयारी अवस्थामा छौँ’, उनले भने, ‘अहिले उच्चस्तरीय भेटघाटसँगै सांगठनिक काममा जसपा लागेको छ। 

नेता महतोले संविधान संशोधन र सांसद रेशम चौधरीसहित जेलमा रहेका नेताहरु रिहा नभएसम्म जसपा सरकारमा नजाने ठोकुवा गरे।

छलफल हुँदैछ : शरद सिंह

जसपाका अर्का नेता शरद सिंह भण्डारीले पनि जसपाले अहिले नेकपासहितसँग भेटघाट र छलफल मात्रै गरिरहेको छ। 

‘छलफलमा स्थिर सरकार बनाउन आफ्नो पार्टीले भूमिका निर्वाह गर्ने बताइरहेका छौँ’, उनले भने, ‘वैकल्पिक सरकार निर्माणमा जसपाले पूर्ण सहयोग गर्छ। तर, हामी छलफलकै चरणमा छौँ।’

उनले यही मौकामा आफ्ना पुराना माग पूरा गराउने योजना बनाइएको पनि बताए। ‘जसपा अहिले सबैसँग भेटेर सांसद चौधरीको रिहाइ र संविधान संशोधनबारे छलफल गरिरहेको छ’, उनले भने, ‘जसले हाम्रा यी एजेण्डामा सहमति जनाउँछ, उसलाई नै हाम्रो समर्थन हुनेछ।’ 

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार ९:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया