कैलालीको जोशीपुर गाउँपालिका–४ झवहीगाउँ । सडकसँगै जोडिएको ‘थारू फुडल्यान्ड ।’ यो एक रिसोर्ट हो । रिसोर्टको मुख्यद्वारबाट भित्र प्रवेश गर्ने बित्तिकै डंगौरा र कठरिया थारू समुदायको परम्परागत पोसाक लगाएका दुई थारू युवतीका मूर्तिले आगन्तुकलाई झुकेर नमस्कारसहित अभिवादन गरिरहेका छन् । छेउमै लेखिएको छ ‘थारू सपना ।’
अलिकति अगाडि बढेपछि झर्नाको पानी, पानी भरिएको माटोको गाग्रो बोकेकी एउटी थारू युवतीको मूर्तिले मानौं हरेक क्षण पाहुनालाई स्वागत गरिरहेको छ । मूर्तिको छेउमा राखिएको एउटा बोर्डमा थारू भाषामा लेखिएको छ ‘तुँ कब आइबो’ अर्थात्, तपाईं कहिले आउनुहुन्छ ?’
यस फुडल्यान्डका प्रत्येक घर परम्परागत थारू घरका रूपमा बनाइएका छन् । थारू गाउँका घरको परम्परागत कलाकृति र रंगले सजाइएका र प्रत्येक कक्षको नामकरण समेत थारू भाषामै लेखिएका छन् । थारू फुडल्यान्डले प्रत्येक पाहुना, आगन्तुकलाई थारू संस्कृतिको झल्को दिने प्रयास गरेको छ ।
रिसोर्ट सञ्चालक रामजनम चौधरीका अनुसार हालसम्म रिसोर्ट निर्माणमा साढे पाँच करोड रुपैयाँ खर्च भइसकेको छ । रिसोर्टमा थारू भाषामा ‘अटुवा’ र ‘छिरुवा’ भनिने दुई प्रकारका खानपिन कक्षको व्यवस्था गरिएको छ । रिसोर्ट सञ्चालक रामजनमले भने, ‘छिरुवाको तलतिर फ्लावर रेस्टुरेन्ट निर्माण भइरहेको छ । त्यहाँ थारू भुपरीहरू रहेका छन् ।’
रिसोर्टमा मूर्ति तथा अन्य भौतिक संरचनामात्र नभएर थारू समुदायको परम्परागत खानाका परिकार नै पस्किने गरिएको छ । उनले भने, ‘सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जसरी ढिँडो हराइरहेको छ, त्यसैगरी यहाँ (तराईमा) थारू समुदायका खानाका परिकारहरू पनि हराइरहेका छन् ।’
उनका अनुसार घोंघी, ढिक्री, अन्नदी लगायतका थारू परिकारहरू अहिले लोप हुँदै गएको छ । उनले भने, ‘यो रिसोर्टमा थारू समुदायको विशेष खानाका परिकार (गंगेटा, अन्नदी, घोंघी, माछा, लोकल कुखुरा, ढिक्री, फुलौरी, बरिया, खरियाँ, छिगां माछा आदि) पाइन्छ ।
उनले अझै पनि रिसोर्टको भौतिक संरचना निर्माण पूरा नभइसकेको बताए । अहिले पाँच कोठाको आवास कक्ष छ भने दुई सय मानिस अटाउने हल रहेको छ । रिसोर्टले थारू कला, संस्कृति, रहनसहन, वेशभूषामात्र नभई वन्यजन्तु संरक्षणमा पनि सहयोग पुर्याउन मूर्ति राखिएको छ । रिसोर्टमा गोही, चितल, बाँघका मूर्तिहरू पनि देखिन्छ भने लोप हुँदै गइरहेको वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन पनि यहाँ केही जनावरहरूको मूर्ति राखिएका छन् ।
जिल्लाको मध्यभाग तथा राजमार्ग तथा सहरभन्दा टाढा गाउँमा रिसोर्ट सञ्चालनमा ल्याएका उनी अहिले सन्तुष्ट छन् । ‘अहिले पनि धेरै लगानी सहरमै गर्न मानिस रुचाउँछन् । सहरमै लगानी गर्दा गाउँका मानिसहरू वञ्चित हुन्छन्,’ उनले भने, ‘गाउँको विकास गर्न पनि यहाँ (झवही) मा लगानी गरेको हुँ ।
रिसोर्ट सञ्चालनमा आएदेखि अहिलेसम्म बढी सुदूरपश्चिमकै स्थानीयहरूले अवलोकन गरेका छन् । उनका अनुसार यो रिसोर्टमा सबैभन्दा बढी स्थानीय पर्यटक वा आगन्तुक नै आउँछन् । त्यस्तै, काठमाडौंदेखि देशका अन्य जिल्लाबाट पनि मानिस आउने गरेका छन् । उनले भने, ‘विदेशी पनि आउन सुरु गरेका थिए तर, कोरोना भाइरसको महामारीसँगै जारी गरिएको लकडाउनका कारण रोकिए ।’ उनले विदेशीहरू स्थानीय थारू परिकार खान पाउँदा खुसी व्यक्त गरेको बताए ।
२७ वर्षदेखि सांसद, मन्त्री, सहित राजनीतिक दलको उपल्लो तहको नेतृत्वमा रहेका नेता रामजनमले होटल व्यवसायसँगै सक्रिय राजनीतिलाई पनि निरन्तरता दिएका छन् ।
२०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका पूर्वमन्त्री रामजनम चौधरी २०४८ सालयता चुनावमा तीन पटकसम्म लगातार विजयी भए । चारपटक सम्म पनि मन्त्री भए । ‘गाउँको विकासका लागि गाउँमै लगानी गर्नुपर्छ । जबसम्म हामीले गाउँमा लगानी गर्न सक्दैनौं, तबसम्म त्यहाँको विकास हुँदैन,’ चौधरी भन्छन् ।
यसरी आयो ‘थारू फुडल्यान्ड’ रिसोर्टको कन्सेप्ट
२०७४ साल मंसिर २१ गते भएको प्रतिनिधिसभाको चुनावमा पराजित भएसँगै फुर्सदिलो बनेका चौधरीलाई खाली समयमा व्यापार गर्ने सोच आयो, तर उनलाई के को व्यापार गर्ने भन्ने न कुनै अनुभव थियो, न ज्ञान । बरु साथीभाइसँग सरसल्लाह गर्दा रिसोर्ट खोल्ने सुझाव आयो । साथीभाइकै सुझावका आधारमा उनी चितवन, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियालगायत धेरै ठाउँहरूका रिसोर्टहरूको भ्रमणमा निस्किए ।
उनले भ्रमण गरेका तारे होटल होस् वा रिसोर्ट वा होमस्टेहरू । सबैमा थारू परिकार र संस्कृतिलाई प्राथमिकता दिइएको थियो । थारू संस्कृति र परिकार नभएसम्म स्वदेशी तथा विदेशी पर्यटकहरू नै नआउने देखेपछि उनको मनमा आफ्नै गाउँमा रिसोर्ट खोल्ने सोच आयो । त्यो पनि थारूहरूकै संस्कृति र परिकारलाई प्राथमिकता दिएर । अन्ततः २०७४ सालबाट बनाएको उनको योजनाले २०७६ चैत ९ गते ‘थारू फुडल्यान्ड’ को नामबाट पूर्णता पायो ।
गाउँमै रिसोर्ट खोल्ने तयारी गरिरहँदा धेरैले उनलाई मन्त्री बोहुलायोसम्म भन्न भ्याएको उनी बताउँछन् ।
‘मैले धेरै ठाउँमा घुम्दा थारू संस्कृतिकै कारण आन्तरिक र बाह्य पर्यटकहरू आउने गरेको पाए । थारू संस्कृति नदेखाउँदा पर्यटक नै नआउने देखेपछि थारूहरूको संस्कृति र परिकारलाई विशेष जोड दिएर थारू फुडल्यान्ड खोल्ने योजना बनाएँ,’ उनी भन्छन्, ‘धेरैले मलाई सहरमै रिसोर्ट खोल्न सुझाएका थिए । तर, मैले गाउँमै खोल्ने सोच बनाए र धेरैले मलाई ‘मन्त्री बहुलायो’ भन्थे । तर अहिले उनीहरू खुसी पनि भएका छन् ।’
पारिवारिक वातावणसँगै अर्गानिक खाना
चौधरीले खोलेको थारू फुडल्यान्ड टीकापुरबाट झण्डै १० किमि पश्चिमस्थित झंबही गाउँमा पर्छ । स्वदेशी मात्रै होइन उनको रिसोर्टमा विदेशी पाहुनासमेत आउने गरेका छन् ।
एकान्त तथा पारिवारिक वातावरण र अर्गानिक खानाका कारण दिनप्रतिदिन ग्राहकको संख्या बढ्दै गएको उनी बताउँछन् ।
‘हामीले यहाँ आउने ग्राहकलाई अर्गानिक खाना खुवाउँछौँ । जुन हाम्रो बारीमै उत्पादन हुन्छ । त्योसँगै थारू परिकारहरूमा पाइने ढिक्री, गंगटो, लोकल मुर्गा, बंगुरलगायतका परिकारहरू छन्,’ उनले भने, ‘यसले गर्दा धेरैले यसलाई मन पराइदिनुभएको छ । मैले रिसोर्ट खोलेदेखि अहिलेसम्म दैनिक पाँचदेखि सात सयसम्म आइरहनु भएको छ । बीचमा यो कोरोनाले अलि समस्या बनायो ।’
उनले रिसोर्टमा आउने ग्राहकहरूलाई प्राकृतिक वातावरण दिन सकियोस् भनेर आफूले गाउँमै रिसोर्ट खोलेको बताए ।
‘अहिले मान्छे सहर बजारको भिडभाड र कोलाहलमा बस्न रुचाउँदैनन् । गाउँमा हल्लाखल्ला, कचकच हुँदैन । त्यसैले पनि मान्छेहरू गाउँमै आउन चाहन्छन् । ग्राहकलाई बोर फिल नहोस् भनेर मैले त्यही अनुसारको प्राकृतिक वातावरण बनाउने प्रयास पनि गरेको छु,’ उनले भने, ‘मानिसहरू परिवारसँगै आएर एकदुई घण्टा बसेर रमाइलो गर्न सकोस् भन्ने कन्सेप्टबाट मैले यो थारू फुडल्यान्ड तयार गरेको हुँ ।’
गाउँमै रोजगारी सृजना
गाउँमै रिसोर्ट खुलेपछि अहिले त्यहाँका १४ जना युवायुवतीले रोजगारी पाएका छन् । यस्तै, रिसोर्टमा चाहिने लोकल कुखुरा, गंगटो, माछा लगायत अर्गानिक तरकारीको उत्पादन गर्ने अन्य व्यक्तिहरूले समेत अप्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ ।
उनले क्याम्पस पढ्दै गरेका गाउँका युवायुवतीलाई स्थानीयस्तरमै रोजगारी दिन सकेकोमा खुसी व्यक्त गरे । ‘अहिले हाम्रै गाउँका धेरै युवायुवतीहरू बेरोजगार छन् । पढाइ नहुँदा न रोजगारी पाएका छन्, न कृषि पेसामा लाग्नेहरूले बजार पाएका छन्,’ उनले भने, ‘मैले रिसोर्ट खोलेपछि अहिले क्याम्पस पढ्दै गरेका १४ जना भाइबहिनीलाई काम दिएको छु । त्योसँगै यही वरपर उत्पादन भएका तरकारी र माछामासुले बजार पाएको छ ।’
थारू फुडल्यान्ड गाउँमै भए पनि आधुनिक प्रविधिको प्रयोगबाट बिल भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । विश्व ‘क्यासलेस’ सिस्टममा गइरहेका बेला आफूहरूले समेत इ–बैंङ्किक तथा मोबाइलबाट बिल भुक्तानी गर्न सकिने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।