नेपालमा इन्टरनेट प्रयोगकर्ता १३ लाखभन्दा बढी : सेवा-सुविधाकै गुनासो

पछिल्लो समय नेपालमा इन्टरनेट सेवालाई अत्यावश्यक सेवाका रूपमा घोषणा गरिसकिएको छ । सोहीअनुसार नेपालमा इन्टरनेट सेवाग्राहीको सङ्ख्या पनि बढिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार गत मंसिरसम्म नेपालमा इन्टरनेटको पहुँचमा रहनेको संख्या २ करोड ४३ लाख ४७ हजार नाघेको छ । नेपालको कुल जनसङ्ख्याको ८१ प्रतिशत जनसङ्ख्या ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा पुगिसकेको प्राधिकरणले जनाएको छ । 

इन्टरनेट प्रयोगको क्रममा सबैभन्दा बढी सेवाग्राही नेपाल टेलिकमका रहेका छन् । नेपाल टेलिकमले फिक्स्ड, वायर्ड र मोबाइल ब्रोडब्यान्डमा आधारित इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । जसमा सबैभन्दा बढी सेवाग्राहीले मोबाइल ब्रोडब्यान्ड अन्तर्गत रहेको थ्रिजी सेवा उपयोग गरिरहेका छन् ।

प्राधिकरणका अनुसार हाल नेपाल टेलिकमको थ्रिजी सेवाका सेवाग्राहीहरू ८४ लाख ७० हजारभन्दा बढी पुगेका छन् । यस्तै टेलिकमका फोरजी सेवा उपभोग गर्ने सेवाग्राहीको सङ्ख्या २२ लाख ५५ हजारभन्दा बढिरहेका छन् ।

यस्तै अर्को दूरसञ्चार सेवाप्रदायक एनसेलले भने आफूले प्रदान गर्ने इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ६७ लाख ५२ हजार २३३ रहेको जनाएको छन् । एनसेलले मोबाइल ब्रोडब्यान्डमा आधारित थ्रिजी र फोरजी सेवा मात्रै दिँदै आएको छ ।

नेपालमा इन्टरनेट सेवाप्रदायक (आइएसपी) ले प्रदान गर्ने इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १३ लाख ३५ हजार ६०१ पुगेको छ । जसमा सबैभन्दा बढी ग्राहक भने वर्ल्डलिंक कम्युनिकेसनका रहेका छन् ।



प्राधिकरणका अनुसार गत मंसिरसम्ममा वर्ल्डलिंकले आफ्ना ग्राहकको सङ्ख्या ४ लाख २८ हजार ४८८ पुगेको जनाएको छ । यस्तै धेरै ग्राहकहरू इन्टरनेट सेवाप्रदायकको दोस्रो स्थानमा भने नेपाल टेलिकम नै परेको छ । टेलिकमका फाइबर, वायर र वायरलेसका सेवाग्राहीहरू २ लाख ६८ हजार नाघेका छन् । 

यसबाहेक धेरै ग्राहक हुने इन्टनरेट सेवा प्रदायकमा सुविसु केवलनेटका ग्राहक सङ्ख्या १ लाख ७४ हजार, भायोनेट कम्युनिकेसन ग्राहकको सङ्ख्या १ लाख २६ क्लासिक टेक सेवाग्राहीको सङ्ख्या १ लाख २३ हजार रहेका छन् ।



पछिल्लो समय मुलुकमा १२७ ओटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा सुचारु गर्नका लाग लाइसेन्स लिएका भए पनि हाल सक्रिय रूपमा सेवा दिने कम्पनीको संख्या भने ४० मात्रै रहेको छ ।

हाल दिनप्रति दिन इन्टरनेट सेवाग्राहीहरू बढिरहे पनि प्रायः सेवाग्राहीले इन्टरनेट सेवाको गुणस्तर र शुल्क सम्बन्धमा गुनासो गरिरहेका छन् । यो क्षेत्रको नियामक निकायका नेपाल दूरसञ्चार प्राधिकरण भए पनि गुनासो सुनुवाई भने नभएको सेवाग्राहीहरू बताउँछन् । 

जसका कारण सेवाप्रदायक र नियामक निकायबाटै सेवाग्राही ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । उनका अनुसार सेवाग्राहीहरूले सेवा प्रदायकविरुद्ध प्राधिकरणमा उजुरी दिइरहेका भए पनि मिलेमतो गरेजस्तो सुनुवाई नै नगर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको उनको भनाइ छ ।

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १४:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया