माफी नमागे पल शाह अभिनित फिल्म पूर्वमा चल्न नदिने चेतावनी

नायक एवम् मोडल पल शाहले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा चल्न नदिने चेतावनी एकजना निर्माता अरुण प्रधानले दिएका छन्। आफूमाथि बिहीबार धरानमा कुटपिट भएको भन्दै उनले पलले माफी नमागेसम्म उनी अभिनित फिल्म प्रदेश १ मा चल्न नदिने चेतावनी दिएका हुन्। 

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले आफूमाथि दुर्व्यवहार गरेको भन्दै पलले माफी माग्नुपर्ने अडान लिएका छन्। प्रधानले पल र उनका सहयोगी कृष्णप्रसाद जोशीले माफी माग्नुपर्ने बताएका छन्। 

बिहीबार आफूमाथि कुटपिट भएपछि प्रधानले पल शाह र उनका सहयोगी जोशीविरुद्ध उजुरी दिएका छन्। प्रहरी कार्यालयले शुक्रबार दिउँसो छलफलका लागि बोलाएको थियो। माफी नमागे कानुनअनुसार प्रक्रिया अघि बढाउने र शाहद्वारा अभिनित चलचित्र प्रदर्शन रोक्ने उनले बताए।

शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा कुटपिटसम्बन्धी उजुरी परेको थियो। कुटपिट गरेको भन्दै उजुरी परेपछि प्रहरीले शाहलाई छलफलका लागि शुक्रबार उपस्थित हुन भनेको थियो।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार शाहविरुद्ध कुटपिटसम्बन्धी एउटा उजुरी बुधबार दर्ता भएको थियो। 'कुटपिट गरेको भन्दै एउटा उजुरी बुधबार हामीकहाँ दर्ता भएको छ', बस्नेतले भने, 'उक्त उजुरीबारे छलफलका लागि दुवै पक्षलाई शुक्रबार आउन भनेका छौँ।'



म्युजिक भिडियोको सुटिङ गर्न केही दिनअघि धरान आएका शाहको निर्देशनमा उनका सहयोगीले बुधबार साँझ चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानमाथि कुटपिट गरेको आरोप लागेको थियो। आफूमाथि कुटपिट गरिएपछि उजुरी दिनुपरेको उनले बताए। 
 



  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १६:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया