अचानक निर्णायक बनेपछि तानातानमा देउवा
नेकपाका दुवै समूह निरन्तर धाउँदै बूढानीलकण्ठ

साढे तीन वर्षअघि आफ्नै नेतृत्वमा तीनै तहको निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले आशाको त्यान्द्रो बनेका छन्। आफैंले गराएको निर्वाचनमा नराम्ररी पराजित हुँदा कम्युनिष्ट गठबन्धनले भने दुईतिहाइ नजिक मत ल्याए।

तीनै तहको निर्वाचनमा पराजित भएपछि पार्टीमा समेत रक्षात्मक देउवा नेकपा विभाजित भएसँगै सत्ताका निर्णायक खेलाडी बनेका छन्। 

पुस ५ अघिसम्म पार्टीमा र बाहिर पनि रक्षात्मक देउवा अहिले अचानक शक्तिशाली भएका छन्। उनको निवास बूढानीलकण्ठ विशेष गरी विभाजित नेकपाका दुवै समूहका लागि एउटा धाम जस्तो भएको छ। 

धेरैले देउवाको राजनीतिक भविष्य सकिएर शक्तिमा नआउने अनुमान गरिरहेका बेला कांग्रेस बाहिर पनि उनी एकाएक सत्ताका प्रमुख खेलाडी बनेका छन्। यसको अर्थ के हो भने नेकपा दुवै समूहले देउवाको साथबिना सरकार बनाउन सक्ने अवस्था नै छैन।

त्यहीकारण फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेबित्तिकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई फोन गरेर सम्भावित सत्ता समीकरणको सहयात्री बनिदिन आग्रह गरे। चितवनबाट फोन गरेलगत्तै यही बुधबार उनीहरु काठमाडौं आएर देउवा निवास पुगेर प्रधानमन्त्री बनिदिन पनि आग्रह गरे। 

देउवालाई घेर्न नेपाली कांग्रेसमा मोर्चाबन्दी चलिरहेका बेला अचानक नेकपा विभाजित हुन पुगेपछि अहिले उनी प्रमुख शक्ति केन्द्र बन्न पुगेका छन्। 



दुई खेमामा विभाजित हुन पुगेका नेकपा र जनता समाजवादी पार्टीसहितको नजर अहिले देउवाले लिन सक्ने निर्णयमा अडेको छ । यद्यपि देउवा तत्कालै नेकपाका कुनै समूहलाई सहयोग गर्ने मुडमा छैनन्। पदाधिकारी बैठक बोलाएर पनि उनले त्यही छनक नेकपाका दुवै समूहलाई दिइसकेका छन्।

निर्णायक कांग्रेस



प्रतिनिधिसभा पुनःस्थापनापछि भइरहेको सत्ता समीकरणको खेलमा ६३ संसदसहितको कांग्रेस निर्णायक देखिएको छ । ऊ नेकपाको जुन समूहसँग मिल्छ, सरकारको समीकरण पनि उतै बन्ने अवस्था छ। त्यहीकारण दाहाल–नेपाल र ओली समूह दुवैले देउवालाई भावी सरकारको नेतृत्व गर्न ‘अफर’ नै गरेका छन्। 

गत मंगलवार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाको एउटा खेमाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल बूढानीलकण्ठ पुगेर सत्ता सहयात्राको प्रस्ताव राखे। स्रोतका अनुसार त्यसअघि नै प्रधानमन्त्री केपी ओलीको तर्फबाट पनि देउवालाई सत्ता–सहयात्राको प्रस्ताव गइसकेको छ। 

प्रधानमन्त्री ओलीको तर्फबाट नेता सुवास नेम्वाङले देउवा र उनका विश्वास पात्र कांग्रेस नेता रमेश लेखकसँग यसबीचमा पटक पटक भेटेर सत्ता समीकरणबारे सम्वाद गरेका छन । 

देउवासँग भेटेका नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले बिहीबार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग पनि संवाद गरेका थिए । 

तर प्रचण्डसँग भेटेलगत्तै जसपा अध्यक्ष ठाकुरले त्यही दिन कांग्रेस सभापति देउवासँग पनि भेटन पुगे । जसपाले पनि पछिल्लो समय कांग्रेस झैँ नेकपाको विवाद नसकिएसम्म कसैलाई साथ नदिने रणनीति बनाएको छ। अध्यक्ष ठाकुरले त्यहीकारण प्रचण्डसँग भेटेपछि देउवालाई भेटेका हुन्।

आन्तरिक संवाद

सत्तालाई लिएर नेकपाका दुवै समूह र जसपा धाउन थालेपछि देउवाले विहीबार आफूनिकट दुई दर्जन केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन्। आगामी रणनीतिबारे उनले ती केन्द्रीय सदस्यहरुसँग छलफल गरेपछि पदाधिकारी बैठक डाकेका थिए। 

विहीबार दिउँसो बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले नेकपाको अधिकारिता विवाद किनारा नलागेसम्म कांग्रेसले कुनै पनि निर्णय नगर्ने निचोड निकालेको थियो। 

दूतहरु धाउँदै 

नेपालको राजनीतिको भावी यात्राको चाबी कांग्रेसले बोकेपछि आन्तरिकदेखि बाह्य शक्तिले समेत गतिविधि बढाएका छन्। विहीबार दिउँसो देउवासँग भारत र चीन नेपालस्थित राजदूतहरुले भेटेका थिए।

अचानक निर्णायक बन्न पुगेपछि देउवाले लिने निर्णयमा आन्तरिकदेखि बाह्य शक्तिको पनि ध्यान अड्किएको छ। देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले पार्टी सभापतिले सबैसँग सल्लाह गरिरहेको बताए। 

उनले कांग्रेसलाई दुरगामी रुपमा हुने फाइदा हेरेर मात्रै निर्णय लिनुपर्ने बताए । ‘अहिले तत्कालै कांग्रेसलाई सरकारमा जान या कसैलाई सघाउन खाँचो छैन’, साउदले भने, ‘संसद बैठक सुचारु भएपछि प्रक्रिया कसरी अगाडी बढ्छ? कांग्रेसले त्यही अनुसार आफ्नो कित्ता क्लियर गर्नेछ।’

प्रधानमन्त्रीले संसद विघटन गरेपछि त्यसविरुद्ध कांग्रेसले तीन चरणको आन्दोलन गरिसकेको छ। त्यहीकारण कांग्रेसभित्र सभापति इत्तर पक्षले ओली पक्षसँग मिल्न नहुने अडान लिइरहेको छ। यद्यपि कांग्रेसमा पछिल्लो समयमा नेकपा विभाजनको कानुनी वैद्यता टुंगिने कुरालाई चासोपूर्वक हेरिएको छ।

नेकपा प्रचण्ड–माधव समूहले ओली पक्षबाट डेढ दर्जन सांसद आफनो पक्षमा ल्याउन सके कांग्रेसबिना नै जसपासँग मिलेर बहुमतको सरकार बनाउने सम्भावना पनि छ। यद्यपि त्यसको ठोस आधार अहिलेसम्म देखिएको छैन।

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १८:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया