गाई-भैंसी कक्षा कोठामा, विद्यार्थी चौरमा !

विद्यालयमा विद्यार्थीलाई बस्नका लागि डेस्क बेन्च छैनन् । गर्मी मौसम होस् या जाडो, सबै विद्यार्थी बोरा ओछ्याएर प्राङ्गणमा पढ्छन् । कक्षा एकदेखि कक्षा पाँचसम्म पढाइ हुने धनुषाको नगराइन नगरपालिका २ राघोपुरस्थित श्री राघोबाबा प्राथमिक विद्यालयको चित्र हो यो । 

विद्यालयका कक्षा कोठा गाई–भैंसी र बाख्रा बाँध्ने ठाउँका रूपमा प्रयोग हुँदै आइरहेका छन् । झट्ट हेर्दा गोठ हो कि विद्यालय छुट्याउनै गाह्रो पर्छ । विद्यालयको नाममा एक धुर पनि जग्गा छैन । विद्यालय खुलेको ३५ वर्ष बितिसकेको छ । शैक्षिक सामग्रीको के कुरा भो र विद्यालयको सम्पत्तिका नाममा केबल एउटा टेबल र चार थान कुर्सी मात्रै छन् । 

‘विद्यालयको रजिस्टरमा २१७ जना बालबालिका छन् । तर, पढ्न भने ३० देखि ४० जनासम्म मात्रै आउँछन्’, ‘शिक्षिका रञ्जु कुमारी मण्डलले भनिन् ।

आधारभूत शिक्षा परियोजनाले विद्यालयका लागि डेस्क बेन्च उपलब्ध गराएको थियो तर सबै भाँचिसके । सबै गोदाममा राखिएको छ । २ वर्षदेखि नगरपालिकासँग माग गरिरहेको छु तर अहिलेसम्म उपलब्ध भएन, ‘विद्यालयका प्रधानाध्यापक रत्नेश्वर लाल कर्णले बताए ।’ उनले भने, ‘विद्यालयको कक्षा कोठामा गाउँकै केही व्यक्तिले जबरजस्ती गाई–भैंसी बाँध्छन् ।’ 

त्यतिमात्र नभई गाउँमा कसैको विवाह, व्रतबन्ध लगायतका कार्य भए भोजभतेर पनि विद्यालयमै हुन्छ । जन्तीको बास पनि विद्यालयमै हुन्छ । भोज पकाउने भाँडाकुँडा थन्क्याउने ठाउँ पनि यस विद्यालयको कक्षाकोठा नै हुन्छन् ।

विद्यालय व्यवस्थापन समिति, गाउँले तथा स्थानीय जनप्रतिनिधि कसैलाई पनि यस विद्यालयप्रति कुनै चासो छैन । शिक्षा विकास तथा समन्वय इकाइ समितिले समेत यस विद्यालयको स्तरोन्नति प्रति कुनै चासो नदेखाएको उनको गुनासो छ ।



विद्यालयमा प्रधानाध्यापक रत्नेश्वर लाल कर्ण, सहायक प्रधानाध्यापक रामचन्द्र मण्डल, रञ्जु कुमारी मण्डल र आमोद कुमार राम गरी चारजना शिक्षक कार्यरत छन् । सरकारले यस विद्यालयका शिक्षकहरूको तलबमा मासिक १ लाख १७ हजार रुपैयाँ खर्च गर्छ तर पाँच कक्षामा पढ्ने अधिकांश बालबालिकालाई आफ्नो र आफू अध्ययनरत विद्यालयको नाम पनि लेख्न आउँदैन ।

‘विद्यालय गएर पनि छोराछोरीले आफ्नै नाम लेख्न नजानेपछि हामी आफ्ना बालबालिकालाई बोर्डिङमा पठाउन बाध्य भएका छौं’, स्थानीय कञ्चन मण्डलले बताए । उनले भने, ‘शिक्षकहरू पढाइभन्दा बढी राजनीति गर्छन् भने शैक्षिक अवस्था कसरी सुधार हुन्छ ?’



यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसोगारथ मण्डलसँग बुझ्न खोज्दा उनले भने, ‘विद्यालयको यस्तो दूरावस्था किन छ त्यो मलाई के थाहा ? म दैनिक हाजिरी दिन जान्छु र ? मलाई आफ्नो व्यक्तिगत कुनै काम छैन ?’ 

स्थानीय सरकारले सार्वजनिक शिक्षा सुधारका लागि जोडतोडका साथ काम गर्ने जनाउँदै आए पनि पूर्णता पाएको ३ वर्षसम्ममा पनि देखिने गरी भने केही काम नभएको पूर्व प्राध्यापक परमेश्वर कापडीले बताए । यसमा सुधारका लागि स्थानीय सरकार थप जागरुक हुनु अहिलेको आवश्यकता देखिएको उनले बताए  ।

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १७:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया