नवीन्द्रराज जोशी बाँच्‍ने आशा अझै बाँकी छ : डा. राजीव झा

मस्तिष्काघात भएर गम्भीर बिरामी परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई बाँच्ने आश अझै पनि बाँकी रहेको उनको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन्। 

नेता जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार दिउँसो जानकारी दिँदै उपचारमा खटिएका नर्भिक अस्पतालका न्युरो सर्जन डा. राजीव झाले जोशी बाँच्ने आश अझै पनि ३० प्रतिशत बाँकी रहेको उल्लेख गरे।

बिहीबार राति घरमै रहेका बेला मस्तिष्काघात भएपछि शुक्रबार सबेरै बिहान नर्भिक अस्पताल लगिएका नेता जोशीको शल्यक्रियापछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनलाई भेन्टिलेटरमा राखेर चिकित्सकहरुले निरन्तर निगरानी गरिरहेका छन्। 

झाले मष्तिष्क घातका कारण नेता जोशीको आधा शरीर पूरै नचलेको बताए। ‘उहाँलाई यहाँ ल्याएपछि सुरुमा हामीले हामीले फोक्सो पुगेको बान्ता निकाल्यौँ। त्यसपछि पाइप हालेर श्वास फेर्न सहज बनायौं', झाले भने, 'हामीले उपचार गर्दै गर्दा उहाँको एउटा आँखामा फुलो परेको देखियो। यसो हुनुको अर्थ भनेको उहाँको दिमागले आधा मात्रै काम गरिरहेको छ।'

झाले जोशीको सबै अवस्था हेरिसकेपछि सिटी स्क्यान गरिएको जानकारी दिए। 'सिटी स्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको पाइयो', उनले भने, 'मष्तिष्कको नशा फुटेर रगत बाहिर मष्तिष्क भरी लागेको भेटियो।'

झाले जोशीको स्वास्थ्य अवस्थालाई स्थिर भन्न नसकिने बताए। 'उहाँको स्वास्थ्य अवस्था स्थिर भन्न मिल्ने किसिमको छैन। अझै पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ’, झाले भने, ‘रगत पातलो हुने औषधि खाइरहनुभएको रहेछ। यस्तो अवस्थामा ठूलो शल्यक्रिया गर्दा थप समस्या बढ्ने चिन्ताले विशेष रगत व्यवस्था गरेर 'माइनर अप्रेसन' गरेका छौँ। यस विधिबाट दिमागमा जमेको पानी निकालेका छौँ। उहाँको अहिलेको अवस्था एकदमै जटिल हो।'



टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको थियो। १ सय ३० एमएल पानी निकालिएको पनि डा. झाले बताए। त्यसपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उनले बताए।

यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताए। ‘यो एकदमै जटिल अवस्था हो। विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेमा १ सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँचनुहुन्छ उहाँहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ,’ उनले भने।



नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहेको उनले बताए। वान्ता भई फोक्सोमा असर भएकाले सास फेर्न गाह्रो भइराखेको झाले बताए।  

झाले यति जटिल अवस्थामा भएका विरामीहरु संसार ७० प्रतिशत नबाँच्ने बताए। बाँकी ३० प्रतिशत जस्तै जोशी पनि बाँच्न सक्ने आशा आफूहरुले गरेको उनले सुनाए। बिहीबार राति मष्तिष्क घात भएपछि जोशीलाई सुरुमा वीर अस्पताल लगिएको थियो। त्यहाँबाट उनलाई रिफर गरिएपछि पौने ३ बजे नर्भिकमा लगेर उपचार थालिएको थियो।

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १७:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया