दार्चुलाको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण : ५ महिनामा जगमात्र
फाइल तस्बिर

दार्चुला व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण थालिएको ५ महिनाभन्दा बढी समय बितेको छ । यी ५ महिनामा भवनले जगको स्वरूपभन्दा अन्य आकार लिन सकेको छैन । गत असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोलीले निकै तामझामसहित शिलान्यास गरेको थियो ।

व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी आधुनिक सुविधा सम्पन्न भवन बनाउन थालिएको हो । ४० कोठे यो भवनको निर्माण गत मंसिरभन्दा पछि रोकिएको छ ।

भारतले अतिक्रमण गरेको कालापानीभन्दा झण्डै १४ किमि तल छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो । एक वर्षभित्रै निर्माण सक्ने गरी कुल १० करोड रुपैयाँ लागतमा काम सुरु गरिएको भए पनि अहिले निर्माण रोकिएको छ ।

भवनको शिलान्यास लगत्तै निर्माण व्यवसायी सुरेश चन्दले दुई महिनाभित्रै भुइँ तला निर्माण गरेर सशस्त्र बस्न मिल्ने बताएका थिए । तर, ५ महिना बितिसक्दा पनि भवनको जगमात्र राखिएको छ । भवन निर्माणका लागि आवश्यक उपकरण, सामग्री जम्मा गरिएको छ, तर निर्माण मंसिर पहिलो साताबाटै रोकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका प्रहरी उपरीक्षक नरेन्द्रबहादुर बमले जानकारी दिए । व्यासमा सौका समुदायको बसाइँ–सराई सर्नु अगावै निर्माण व्यवसायी र मजदुरहरूले छाङ्गरु छोडेका हुन् । 

मंसिर पहिलो साता भवन निर्माणको जग हालेर फर्किएका निर्माण व्यवसायी अझै फर्किएका छैनन् । सशस्त्र प्रहरी उपरीक्षक बमले ठेकेदारलाई ताकेता लगाउँदा यही फागुन अन्तिमसम्म जनशक्ति परिचालन गर्ने खबर आएको बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितका नेपाली भूभाग अतिक्रमण गरी वर्षभरि बस्न सक्ने सैन्य अखडा स्थापित गरेको छ । नेपालले भारतले अतिक्रमण गरेका तीनवटै क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेर उक्त क्षेत्रमा पछिल्ला दिनमा सुरक्षाकर्मी परिचालन गरेको छ ।



पहिलो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरी छाङ्गरुमा नियमित बस्न थालेका छन् । सशस्त्रको डिएसपी र प्रहरीको सईको नेतृत्वमा टोली खटिएको छ । बाह्रै महिना सशस्त्र प्रहरी बस्ने भएपछि उनीहरूका लागि सुविधासम्पन्न भवन बन्न लागेको हो । तर, भवन निर्माणमा भइरहेको ढिलाइले सशस्त्र प्रहरी गत वैशाखदेखि भाडाको घरमा बस्दै आएका छन् ।

विगतमा मंसिरदेखि हिमपात सुरु हुने गरेको थियो । तर, यो वर्ष व्यासमा बढी हिमपात भएको छैन । भएको ठाउँमा हिउँ पग्लिसकेको छ ।



सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राख्ने निर्णय गरेको थियो । लगत्तै सरकारले नक्सा नै जारी गरेपछि असार २८ गतेको मन्त्रिपरिषद् बैठकले व्यासमा बाह्रै महिना सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको हो । त्यसअघि ६ महिना मात्र सशस्त्रको क्याम्प बस्ने गरेको थियो ।

सशस्त्र प्रहरीको भवन निर्माणका लागि स्थानीयले गागा क्षेत्रमा १५ रोपनी जग्गा सशस्त्रलाई दिएका हुन् । सशस्त्र प्रहरी बाह्रै महिना बसेपछि त्यो क्षेत्रमा चोरी सिकारी नियन्त्रण, भारतले सहजै अतिक्रमण गर्न नसक्ने अपेक्षा गरिएको छ । मौसम प्रतिकूलताका कारण भवन निर्माण रोकिएको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी सुरेश चन्दले बताए । ‘मौसम प्रतिकूलताका कारण निर्माण मंसिरमा रोकिएको हो’, उनले भने, ‘चैतबाट फेरि सुरु हुनेछ ।’ भवन आउने कात्तिकभित्र निर्माण सम्पन्न अवधि रहेको छ ।

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १८:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया