जनकपुरमा मात्रै प्लास्टिकसहितका खानले प्रतिवर्ष १ दर्जन गाई मर्ने अनुमान

जनकपुरधाममा बर्सेनि एक दर्जनभन्दा बढी गाई प्लास्टिक जन्य पदार्थ खाएकै कारण मर्ने गरेका छन् ।

प्लास्टिकमा पोको बनाएर फ्याँकिएका रोटी, भात, सागपातहरू खाएपछि उक्त संख्यामा गाईवस्तुको मृत्यु हुने गरेको गौ संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष जगदीश महासेठले दाबी गरे ।

प्लास्टिकमा राखिएका खानेकुराको लोभमा प्लास्टिक सहित खाँदा सो खानेकुरा पचाउन नसकेर गाईको मृत्यु हुने गरेको उनको भनाइ छ । तर यससम्बन्धी स्पष्ट तथ्यांक भने सरोकारबाला मानिएका कुनै पनि निकायसँग छैन । खास गरी गाईवस्तु पाल्नेहरू गाईको दूध दुहेर खाना नदिई सडकमा त्यतिकै छोड्ने गरेकाले विभिन्न समस्या देखिने गरेको महासेठ बताउँछन् ।

उनी भन्छन्, ‘गाईवस्तु पालकहरू यति स्वार्थी छन् कि गाईवस्तुलाई आफ्नो स्वार्थका लागि उपभोग गर्ने गर्छन् र सडकमा मर्नका लागि छाडिदिन्छन् । 

अध्यक्ष महासेठले गाईको रक्षाका लागि जनकपुरधाम उपमहानगरपालिकाले बजेट र कर्मचारीको व्यवस्था गरे पनि काम भने शून्य भएको आरोप लगाए ।

उनले उपमहानगरपालिकाले बजेट सिद्धयाउनका लागि ६ महिनामा एक पटक सडकमा रहेका गाई समात्ने अभियान चलाउने गरेको बताए । समातिएका गाईवस्तु छोडे बापत लिइएको जरिवानामा र बजेटसमेत उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयसँग बाँडफाँड गरी खाने गरेको उनको आरोप छ ।



‘गाईवस्तुविहीन सडक’ बनाउने अभियान स्वरुप काम थालनी गरिन्छ । गाईबस्तु समातिन्छ पनि तर बजेट बाँडफाँट गरेपछि फेरि उस्तै हुन्छ ।’

यसबारे जनकपुरधाम उपमहानगरपालिकाकी उप प्रमुख रीता मिश्र भन्छिन्, ‘उपमहानगरपालिकासँग गाईवस्तु समातेर राख्ने काञ्जीहाउसको व्यवस्था भए पनि चरीचरण व्यवस्था भने छैन त्यसैले हाम्रो यो अभियान असफल भयो ।’



गाईपालकहरू दूध दिने गाईहरू जरिवाना तिरेर समयमै लगे पनि बाच्छाबाच्छीलाई भने महिनौंसम्म नलगिदिँदा सबैभन्दा बढी समस्या भएको उपप्रमुख मिश्रले बताइन् ।

उनले जरिवाना बापत लिइएको रकममा बाँडफाँट गरिँदै आएको कुरा ठाडै अस्वीकार गरिन् । उनले भनिन्, ‘जरिवाना तिरेर पनि नलगे उपमहानगरपालिकाले के गर्ने ? बाध्यताबस हामीले समातिएका गाईवस्तुलाई छोड्नैपर्छ, यसमा ट्राफिक धनुषाले समेत हामीलाई सहयोग गर्दै आएको छ । जरिवाना बापत उठेको राजस्व रकमको केही प्रतिशत हामीले दिनै पर्ने हुन्छ यो कुनै कमिसन वा रकमको बाँडफाँट होइन ।’

छाडा चौपायाका कारण जनकपुरधामको बसपार्क, जिरोमाइल, रामानन्द चोकसहितका हाइवे सडकमा दुर्घटना हुनसक्ने परिस्थिति दिनहुँ जसो आउने गरेको छ भने सडक दुर्घटनामा परी कतिपय गाईवस्तु समेत मर्ने गरेका छन् ।

पशुधनीहरू आफ्नो स्वार्थ परिपूर्ति गरेर गाईवस्तुलाई प्लास्टिकजन्य कुराहरू खान र सडकमा दुर्घटनामा परेर मर्नका लागि छोड्ने गरेको नागरिक समाजका अगुवाहरूको आरोप छ ।

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १९:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया