प्रधानमन्त्रीको पक्षमा सय सांसद छन्, आवश्यक परे देखाउँछौँ : विशाल भट्टराई
पार्टी ह्विप नमान्‍नेलाई कारबाही गर्ने चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन्। संसदमा आवश्यक परे त्यो देखाउन तयारी अवस्थामा रहेको भट्टराईले दाबी गरे।

शनिबार रिपोर्टर्स बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन्। ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ’, उनले भने, ‘आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं। उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढी सांसद छन्।’

साक्षात्कारमा बोल्दै उनले जनताले नेकपालाई झण्डै दुईतिहाइ बहुमत दिएर पठाए पनि केही नेताहरुको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको सुनाए। 

‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरु भयो, यसको आभास पाउनेबित्तिकै उहाँसँग दुई वटा विकल्प थिए’, उनले भने, ‘एउटा आत्मसमर्पण गर्ने, अर्को संसद् विघटन गर्ने, यो बाहेक उहाँसँग अर्को विकल्प थिएन। उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो।’

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनले बताए।

सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरुले सम्मान गर्ने पनि उनले बताए। उनले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जनाए। 



संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाए। आफूहरुले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि बताए।

तर, चितवनको सभास्थल छोडेर काठमाडौं आएका दाहाल–नेपाल हस्याङ्फस्याङ गर्दै कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उनले आलोचना गरे। 



प्रचण्ड र माधव नेपाललाई अहिले पनि सच्चिने ठाउँ रहेको उनले बताए। तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने शर्त राखेका छन्। उक्त आरोपपत्र फिर्ता, संसदको पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्विकार गर्नुपर्ने उनले धारणा राखे। 

संसदको अधिवेशन (फागुन २३) गते अघि नै संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए। उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि उनले आग्रह गरे। तत्काल नआए पनि केही नगर्ने उनले बताए। 

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उनले बताए। तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि भट्टराईले चेतावनी दिए।

कांग्रेसले कित्ता क्लियर गरोस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे। 

प्रमुख सचेतक भट्टराईले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले क्लियर गर्नुपर्ने पनि धारणा राखे। तर, अहिले नेकपा नफुटेकोले आफूहरुसँग नै एकल बहुमत रहेको भट्टराईको जिकिर छ। उनले भने, ‘अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन।’

निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए। उनले भने, ‘केही साथीहरु बाहिर जानुभएको छ, उहाँहरु पनि आउनुहुन्छ।’ 

एमसीसीको सवालमा प्रधानमन्त्री ओली पक्षमा नै रहेको उनले सुनाए। तर, प्रचण्डले बाहिर विरोध गरेजस्तो गर्ने तर एमसीसीको विरोधमा नारा लाग्दा आफैले रोकेको पनि उनले सुनाए। 

  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १८:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया