प्रतिनिधिसभा पुन:स्थापनापछि सरकार झन् बलियो : सुवास नेम्बाङ
फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुन:स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् ।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणी समेत गरे ।

उनले भने,  ‘हिजो पुन:स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन, यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुन:स्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईंहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा पुन:स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गर्नुभएको समेत नेता नेम्वाङले बताए ।

तर, अहिले पुन:स्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे ।

उनले भने, ‘पुन:स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो– जनतामा जाने मेरो निर्णय लोकतन्त्र सम्मत छ कानुन सम्मत छ । सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ । उहाँले भनिराख्नु भएको थियो तर पुन:स्थापित भइदिँदा अब हामी संसदमा फेरि फर्किएका छौं । स्थिति भनेको यो हो । पुन:स्थापित गर्ने साथीहरुले के सोच्नुभयो थाहा छैन । तर यसले त प्रधानमन्त्री केपी ओलीलाई, हाम्रा पार्टी अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन ।’



प्रतिनिधिसभा पुन:स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेम्बाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्बाङले बताए ।

नेता नेम्बाङले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्बाङले बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणी समेत गरे ।



‘हामीले भनिराखेका छौं । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं ।’

  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १९:९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया