रघुजी पन्तलाई कोमल वलीको खुलापत्र

पन्तजी,

तपाईंलाई सम्बोधन गर्न अहिले मसँग कुनै शब्द भएनन्, तपाईंलाई आदर गर्नका लागि मसँग अहिले कुनै शब्द भएनन्। हिजोसम्म मैले तपाईंलाई आदर गरेर विभिन्न शब्द प्रयोग गरेँ हुँला, दाइ भनेँ हुँला, कमरेड भने हुँला। हिजो मात्रै मैले तपाईंको एउटा भाषण सुन्ने मौका पाएँ। 

तपाईंको भाषणमा तपाईंले मेरो पनि प्रसंग निकाल्नु भएको रहेछ। 

जब मैले त्यो सुनेँ, मसँग तपाईंलाई आदर गर्न भएका शब्दहरू अचानक गायब भए, जब मैले त्यो सुनेँ, तपाईंलाई मैले चिन्छु वा हाम्रो समाजले तपाईंलाई आदर गर्नुपर्छ भन्ने मेरो जुन सोच थियो, त्यो सबै एकैपटक गर्ल्याम्म ढल्यो।

पन्तजी,

आज मैले यो लेख्नु पनि हुँदैनथ्यो। मेरा केही साथीभाइ, मेरा केही शुभचिन्तकहरुले मलाई यो नलेख्न अनुरोध गरिरहनु भएको थियो। नेपाली समाजमा एउटा उखान छ नि– ... लाई चलायो मुखभरी छिटा।



उहाँहरुले मलाई यस्तो भनिरहनु भएको थियो। तर, होइन, तपाईंको जस्तो दरिद्र र निच सोच हुनेहरूलाई केही नभन्ने हो भने हाम्रो समाजमा ममात्र होइन, मजस्ता हजारौँ महिलामाथि तपाईँजस्ता कु-पात्रहरूको नजर के रहेछ भन्ने कुरा थप संस्थागत हुँदै जान्छ। त्यसैले पनि मैले यो नलेखी रहन सकिनँ।



पन्तजी,

अहिले सामाजिक सञ्जालमा तपाईँमाथि प्रश्नहरु ओइरिएका छन्। मलाई थाहा छ, तपाईं ती प्रश्नहरूलाई जवाफ दिनु हुन्न, दिन चाहनुहुने छैन। तपाईंलाई त सायद भ्रम छ, आफू पुरुष हुँ र मैले जे बोले पनि हुन्छ। तपाईं त सायद भ्रमहरुको चक्रव्यूहमा हुनुहुन्छ र महिलामाथि आफूले जे बोल्दा पनि हुन्छ भन्ने सोच्नुहुन्छ। यो समाजमा महिलालाई अगाडि बढ्नबाट रोक्न तपाईं र तपाईंको जस्तो मनोवृत्ति भएका पुरुषहरु जिम्मेवार हुन्। तर, सायद तपाईं यसलाई नै गर्वको रुपमा सोच्नुहुन्छ र यही कुरामा आफूलाई सर्वश्रेष्ठ मान्नुहुन्छ।

पन्तजी,

तपाईंले भाषणमा जे शब्द गर्वका साथ उच्चारण गर्नु भएको छ, त्यसले तपाईंको दरिद्रता पूर्ण रुपमा उजागर गरेको छ। यो सुनिसकेपछि म विस्मयमा परेकी छु, यो सुनिसके पछि म आश्चर्यमा परेकी छु– तपाईंलाई एउटा कम्युनिस्ट पार्टीले कसरी आफ्नो सदस्यता दियो होला ? तपाईं आफूलाई समाजमा म कम्युनिस्ट हुँ भनेर कसरी उभिनुहुन्छ ? हो, तपाईंले भाषण गर्दा दर्शकदीर्घामा रहेकाहरुले बढो आनन्दका साथ ताली पिटेको र हाँसोको फोहोरा छुटेको पनि मैले सुनेकी छु। त्यसले तपाईं मात्र होइन, तपाईं जुन समुदायमा हुनुहुन्छ, जुन तह र तप्कामा रहेर तपाईंले यो भाषण गर्नु भएको छ, त्यसले तपाईँमाथि थप प्रश्नहरु उब्जाएको छ। त्यसले तपाईँमाथि मात्र होइन, तपाईंको समूहमाथि नै प्रश्न उठाएको छ। 

पन्तजी, 

तपाईंलाई थाहा छ, मानव विकासको यो चरणमा हामी केही निमेषमा आइपुगेका होइनौँ। तपाईंलाई पक्कै थाहा होला हामीले अहिलेको समाज ल्याउन जति संघर्ष र दुःख गरेका छौँ, त्यसको लेखाजोखा इतिहासले सधैं गरिरहने छ। तपाईंलाई पक्कै हेक्का होला, हिजो हामी निर्वाचनमा जाने समयमा जे परिकल्पना नेपाली समाजको गरेका थियौँ, समानता र समृद्धिबारे जे भनेका थियौँ, देशलाई त्यो अवस्थामा पुर्याउन तपाईं र तपाईंको जस्तो सोच भएका व्यक्तिहरु नै काँडेतार हुन्।

तपाईंहरुकै कारण अहिले नेपाली समाजमा महिलाले खुसीसाथ आफ्नो जीवन यापन गर्न पाएका छैनन्। तपाईंको सोचका कारण नै नेपाली समाजमा अहिले महिलाहरु अझै पनि स्वतन्त्र भएर हिँड्न पाएका छैनन्, आफ्नो भविष्यलाई अगाडि बढाउन पाएका छैनन्।

पन्तजी,

सबैभन्दा पहिले कोमल वलीबारे तपाईंलाई केही थाहा नभएको हो कि भन्ने पनि मलाई लागेको छ। हो, तपाईंको जस्तो सानैदेखि राजनीतिमा म लागिनँ तर मैले कला र संगीतको क्षेत्रबाट जे गरेकी छु, त्यसलाई आम नेपाली समुदायले राम्रोसँग बुझेको छ। त्यसलाई आम नेपाली समुदायले पक्कै सोचेको छ। त्यही कला र संगीतको क्षेत्रमा म लागेको भएर हुनुपर्छ, तपाईं पनि सदस्य रहेको पार्टीले मलाई पार्टीमा आउन अनुरोध गरेको हो। 

तपाईं आफैं स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो जसको बैठकले मलाई राष्ट्रिय सभामा लैजानका लागि निर्णय गरेको हो। तपाईंलाई थाहा नै होला, जिल्लाबाट सिफारिस भएर प्रदेश कमिटीले नाम पठाएर तपाईं समेत बसेको स्थायी कमिटी बैठकले मलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय गरेको हो। तपाईंलाई पक्कै थाहा होला, मैले राष्ट्रिय सभाका लागि निर्वाचन जितेर यहाँ आएकी हुँ। राष्ट्रिय सभा सदस्य बनेपछि मैले जे गरेकी छु, जनताको लागि र देशका लागि जे गरेकी छु, त्यो सायद तपाईंले यतिका वर्ष राजनीति गरेर गर्नुभएको छैन होला।​

पन्तजी,

तपाईंले पनि निर्वाचनका लागि टिकट पाउनु भएको थियो। निर्वाचन हो, हारजित भइहाल्छ। हो, तपाईंले पराजय भोग्नु भयो तर के तपाईंलाई स्मरण छ, तपाईंले टिकट पाउँदा के गर्नुभएको थियो ? तपाईंलाई पक्कै त्यो सम्झना होला, तपाईंले गर्नुभएको चाप्लुसी र षडयन्त्रको सम्झना होला। ​

पन्तजी,

के तपाईंले आजसम्म कुनै पनि महिलालाई केही सहयोग गर्नु भएको छैन ? के तपाईंको घरमा, समाजमा दिदीबहिनी र आमा र भाउजूहरूलाई तपाईंले सक्दो सहयोग गर्नुभएको छैन ? के कुनै महिलालाई सहयोग गर्न परेको खण्डमा तपाईं उनीहरुलाई पिँडुला देखाउ भन्नुहुन्छ ? यति निकृष्ट सोच कसरी तपाईंमा जन्मिन्छ ? पन्तजी, अब हाम्रो भेट प्रहरी कार्यालय र अदालतमा हुनेछ। यस्तो निच सोच लिएर नेपाली समाजमा राजनीति गरिरहन्छु भन्ने सोच अब तपाईंले त्याग्नुहोस्, तपाईँजस्तो दरिद्र मानसिकता भएकालाई अब नेपाली समाजमा कुनै स्पेस छैन।

के भनेका थिए पन्तले?  

  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १३:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया