प्रधानमन्त्रीले अझै हठ लिए उहाँको अन्त्य दर्दनाक हुनेछ : योगेश भट्टराई
प्रतिनिधिसभाले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर नगर्ने दाबी

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले अलिकति पनि हठ नगरी पद त्याग्नु पर्ने बताएका छन्। दाहाल-नेपालनिकट प्रेस संगठनको २ नम्बर प्रदेशस्तरीय भेलालाई आइतवार जनकपुरमा सम्बोधन गर्दै भट्टराईले यसो भनेका हुन्।

'सम्मानित सर्वोच्च अदालतको फैसलाबाट आज संविधान बाँचेको छ', उनले भने, 'यदि संविधानको मृत्यु भएको हाम्रो बाटो सडक मात्रै हुन्थ्यो। सडकबाटै फेरि संविधानलाई पुनर्जागरण गर्थ्यौँ। तर संविधान बाँचेकाले हाम्रा लागि अनेक विकल्प छन्। अब विषय प्रतिनिधिसभासम्म पुगेको छ।'

सर्वोच्च अदालतका न्यायाधीशहरूले संविधान जोगाउन विवेक पुर्‍याएको बताउँदै अब सांसदहरुले त्यस्तै विवेक देखाउने बेला आएको भट्टराईले बताए। 'न्यायाधीशहरूले संविधान जोगाउन विवेक पुर्‍याएका छन्', उनले भने, 'प्रतिनिधिसभाका सदस्यहरुले संसदको इज्जत-प्रतिष्ठा जोगाउने काममा गल्ती गर्छन् जस्तो लाग्दैन मलाई।'

उनले संविधानमाथि गम्भीर आक्रमण गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिएर प्रतिनिधिसभाका सदस्यहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर नगर्ने पनि दाबी गरे। 'प्रतिनिधिसभाका सदस्यहरुले आफ्नो मृत्यु पत्रमा आफैँ हस्ताक्षर गर्ने छैनन्', उनले थपे, 'संविधानमाथि गलत हस्तक्षेप गरी प्रतिगमनमा लैजाने काम भएको थियो। तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्दै सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने प्रतिनिधिसभाले मृत्यु पत्रमा हस्ताक्षर गर्छ।'

उनले दोहोर्‍याउँदै प्रतिनिधिसभाले आफ्नो मृत्यु पत्रमा आफैँ हस्ताक्षर गर्ने काम नगर्नेमा विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्री ओलीले आगामी फागु २३ गते संसद बस्नुअघि नै प्रधानमन्त्रीले पद त्यागिसक्ने विश्वास व्यक्त गरे। 'प्रधानमन्त्रीले त्यसअघि नै पद त्याग गरिसक्नेछन्। सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक छ भनिसक्दा पिन प्रधानमन्त्री पदमा बसिरहनु त्यो भन्दा लज्जास्पद अरु हुने छैन', उनले भने, 'प्रतिनिधिसभाको फैसला कुर्नु पहिले नै उहाँले पद त्याग्नु उचित हुन्छ।'

यदि प्रधानमन्त्रीले नैतिक रुपमा पद नत्यागे उनको अन्त्य दर्दनाक हुने पनि जिकिर गरे। 'उहाँले नैतिक रुपमा पद त्याग्नुपर्छ। प्रधानमन्त्रीले हठ लिनु भयो भने व्यक्तिगत रुपमा पनि उहाँका निम्ति दर्दनाक र वियोगान्तको इतिहास हुनेछ', उनले भने, 'उहाँले मार्ग प्रशस्त गरेर पार्टी एकताको विकल्प दिनुपर्छ। यदि संसदमा टसल गर्न आउनु भयो भने उहाँका निम्ति त्यो वियोगान्त हुनेछ। मुलुकका लागि पनि ठूलो दुर्भाग्य हुनेछ। तर त्यसपछि पनि हामी निराश भएर बस्ने छैनौँ, संविधानलाई पुनर्जागृत गर्ने छौँ।'





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १४:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया