दाहाल-नेपाललाई सूचना चुहाएको भन्दै 'बादल'ले हटाए स्वकीय सचिव

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले आफ्ना एकजना स्वकीय सचिवलाई हटाएका छन्। पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयता दुई समूहमा विभाजित नेकपाको बाछिटा गृहमन्त्री बादलको सचिवालयमा पनि देखिएको हो। 

गृहमन्त्री थापाले स्वकीय सचिव बीरु तामाङलाई सचिवालयबाट बिदा गरेका हुन्। आफ्नो सचिवालयमा रहेर बीरुले दाहाल-नेपाल समूहलाई सहयोग र सूचना दिएको आरोप लगाएर बादलले विदा गरिदिएका हुन्। 

बीरु बादल गृहमन्त्री भएदेखि नै निरन्तर स्वकीय सचिवको भूमिकामा थिए। 'गृहमन्त्रीको सचिवालयमा बसेर बीरुले दाहाल-नेपाल समूहलाई सूचना चुहाएको भेटिएको छ', बादलका एक सहयोगीले भने, 'यताको सूचना उता पठाएर उनले पदको बार्गेनिङ गरिरहेको भेटिएपछि हटाइएको हो।'

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र ठूलो विभाजन आएको छ। नेकपा विभाजनसँगै लामो समय बादललाई साथ दिएका प्रमुख सल्लाहकार सूर्य सुवेदी 'पथिक'ले पनि बादललाई छाडेर प्रचण्ड समूहतिर लागिसकेका थिए। अन्य सल्लाहकारहरु डा. इन्द्रजीत राई र किरण भट्टराई भने अहिले पनि बादलसँगै रहेका छन्। 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १५:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया