ओलीको चुनौती : लड्डु खानेहरूले प्रधानमन्त्रीबाट हटाएर देखाउन्

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई हटाउन नसक्ने बताएका छन्। झापास्थित आफ्नै निर्वाचन क्षेत्रमा आइतवार औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

उनले पहिलो पटक प्रधानमन्त्री बन्दा आफूलाई अविश्वास प्रस्तावबाटै हटाइएको भन्दै यो पटक त्यसैगरी हटाउन चुनौती दिएका हुन्। 'मैले पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिँदै गर्दा भनेको थिएँ, 'समय अन्त्य भएको छैन।' हामी यहीँ छौँ भन्ने नबिर्स', ओलीले भने, 'लड्डु खानेहरूलाई भन्न चाहन्छु हामी यहीँ छौँ भन्ने नबिर्स।'

ओलीले आफूले जिन्दगीमा कयौँ मुद्दा हार्दै आएकाले प्रतिनिधिसभा विघटनको मुद्दा हार्दैमा केही फरक नपरेको पनि बताए। 'मत जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो। गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो', ओलीले भने, 'कसैले मुद्दा जिताइदिएर म प्रधानमन्त्री भएको होइन। मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको हो। मेरो टाउकोमाथि तपाईंहरुको आशीर्वाद छ।'

ओलीले प्रतिनिधिसभा पुन:स्थापनालाई राम्रै भने। 'प्रतिनिधिसभा पुन:स्थापना भयो, राम्रै भयो', उनले भने, 'प्रतिनिधिसभा पुन:स्थापना भएपछि लड्डु खानेहरू चितवनको सभा छाडेर काठमाडौं आए। उनीहरुको घर त दक्षिणतिर छ तर उत्तरको बूढानीलकण्ठतिर लागे। उनीहरुले त्यहाँ सुतिरहेका भन्दा उठिरहेका बूढानीलकण्ठकहाँ निवेदन हाले।'

उनले दाहाल-नेपाल देउवाकहाँ पुगेर प्रधानमन्त्री स्वीकारिदिनुपर्यो भनेर बिन्ती बिसाएको ओलीले बताए। 'प्रभु ! प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो। विभिन्न थरी नन्दीभृंगी मिलेर सरकार बनाऊँ। देशको विकास रोक्नका लागि केपी ओलीलाई हटाउनै पर्यो भनेछन्', उनले भने, 'तर उठेका बूढानीलकण्ठले पख्नु म विचार गर्छु भनेपछि अँध्यारो मुख लगाएर फर्किएछन्।'

ओलीले जनता समाजवादी पार्टीका नेतासँगको भेटको प्रसंग पनि उप्काए। 'लड्डु खानेहरूले बूढानीलकण्ठबाट अर्को ठाउँमा गएर मिलेर सरकार बनाऊँ भनेपछि तपाईंहरुको पार्टी कुन हो? भनेर सोधिएछ। त्यसपछि झसंग भएछन् साथीहरु', उनले भने, 'संसद पुन:स्थापना भए पनि पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री त म नै हो। साथीहरुले प्रधानमन्त्री पदका लागि मसँग हात थाप्‍न थाल्नु भएको छ।'



ओलीले आफूलाई हटाएर देखाउन पनि पटक पटक चुनौती दिए। 'प्रधानमन्त्री दिनुस् भनेर हिँड्नेहरूले केपी ओलीलाई हटाएर देखाउनुस्। अविश्वासको प्रस्ताव राखेर देखाउनुस्', उनले भने, 'हटाउन सक्नु भएछ भने तीन करोड नेपाली जनताबाट दुईतिहाइ ल्याएर देखाइदिन्छु। चिन्ता गर्नु पर्ने अवस्था होइन।'

उनले लोकतन्त्रलाई तलमाथि गर्न नदिइने पनि तर्क गरे। ओलीले संविधान समयानुसार परिमार्जन हुने बताउँदै संविधानको मर्म र भावनालाई तलमाथि पर्न नदिने पनि वाचा गरे। 



  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १६:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया