गृहजिल्लामा प्रधानमन्त्री : अरिङ्गाल खायौँ, बच्छ्युँ खायौँ, झुसे बारुलोले फूर्ति नगरुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्तनका लागि  पटक पटक लडेकाले कसैसँग नडराउने बताएका छन्। झापास्थित आफ्नै निर्वाचन क्षेत्रमा आइतवार औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

ओलीले आफूले जिन्दगीमा कयौँ मुद्दा हार्दै आएकाले प्रतिनिधिसभा विघटनको मुद्दा हार्दैमा केही फरक नपरेको पनि बताए। 'म त जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो। गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो', ओलीले भने, 'कसैले मुद्दा जिताइदिएर म प्रधानमन्त्री भएको होइन। मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको हो। मेरो टाउकोमाथि तपाईंहरुको आशीर्वाद छ।'

उनले आफूलाई पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको आजकै दिन ५० वर्ष पुगेको स्मरण गरे। उनीसहित हाल बागमती प्रदेश प्रमुख रहेका विष्णु प्रसाईंसहितका नेताहरुलाई तत्कालीन शासकहरुले २०२७ फागुन १६ गते हिरासतमा लिएका थिए।

'आज यस्तो दिन हो, ५० वर्षअघि अहिले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई र म २०२७ फागुन १६ गते आइतवार बिर्ता बजारबाट सँगै गिरफ्तार भएका थियौँ । आज ५ वर्ष पूरा भयो', उनले भने, 'सँगै गिरफ्तार भएको साथी यहीँ हुनुहुन्छ। मोटोघाटो भएकाले विष्णु प्रसाईलाई धेरै चर्को कुटे तर मैले कम कुटाई खाएँ।'

आफूलाई गिरफ्तार गरेर जेल हालेको दिनले आधा शताब्दी नाघेको कुरा उनले सुनाए। 'हामी गिरफ्तार गरेको समय आधा शताब्दी पार गरेको छ। गिरफ्तारीको दिन सम्झिँदैछु, यस्ता मुद्दा त कति खेप्यौँ खेप्यौँ', उनले भने, '५० वर्ष पूरा भएको दिन, तिथि, मिति, दिनबार, घडी, पला सबै मिलेको छ। हामी त्यो भन्दा अगाडिदेखि संघर्ष गरिरहेका छौँ। त्यो भन्दा अगाडि हामी धेरै पटक गिरफ्तार भएका थियौँ। त्यो भन्दा अगाडि  धेरै लाठी खाने साथी आउनु भएन।'



उनले कयौँ पटक जेलनेल भोगेर आएकाले अरुले फुर्ती नलगाउन भन्दै कटाक्ष गरे। 'अरिङ्गाल खायौँ, बच्छ्युँ खायौँ, झुसे बारुलाहरुले फुर्ती नलगाए हुन्छ', उनले भने, 'राजतन्त्र र पञ्चायत फालेर आएका हौँ। संघर्ष हाम्रो जीवन हो, हाम्रो जीवन संघर्ष हो। आत्मविश्वासका साथ अघि बढौँ, देश बनाउन सकिन्छ।'



  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १६:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया