बालाजुका बासिन्दाले गरे काठमाडौं महानगरपालिका घेराउ

सडक विस्तारको नाममा बालाजुमा घर भत्काउने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने काम गरेको भन्दै स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

बृहत नागरिक आन्दोलन अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार सडक विस्तारको नाउँमा बालाजुमा जनताको घर गैरकानुनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फुल फुलाउने कामको विरोधमा महानगरपालिका घेराउ गरेको हो ।

घेराउ कार्यक्रममा उपस्थित भएका बालाजु क्षेत्रका स्थानीयले सडक विस्तार गर्ने नाममा घर भत्काइदिँदा आफूहरुको उठिबास भएको बताएका छन् । अहिलेसम्म एक रुपैयाँ क्षतिपूर्ति नपाएको पनि उनीहरुले बताए । 

यस्तै बृहत नागरिक आन्दोलनका अभियन्ताहरुले कमल पोखरीमा कंक्रिट प्रयोग गरी कमलको फूल फुलाउँदा पोखरीको मौलिकता नष्ट हुने बताएका छन् । जनताले कंक्रिटको प्रयोग नगर्न माग गरिरहे पनि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नसुनेको पनि बताए । उनीहरुले जनताको आवाज सुन्न र बुझ्न नसक्ने मेयरले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । 

महानगरपालिका घेराउ कार्यक्रममा उपस्थित स्थानीयले ‘हाम्रो घरजग्गा हाम्रो अधिकार, हाम्रो माग पुन:स्थापना गर’, ‘राज्य संयन्त्रका अङ्गहरूको दुरुपयोग बन्द गर’, ‘बालाजु बाइपासमा उठीबास गरिएका स्वबासीहरुलाई सोही स्थानमा पुन:स्थापना गर’, ‘नागरिकहरुको उठीबास हुने/गर्ने कस्तो सरकार ? कस्तो विकास ?’, ‘यो भूमि या देश पर्वते भाषा र भाषीको पेवा होइन’, ‘सम्पदा मास्ने भूत भगाऔँ, कमल पोखरी जोगाऔँ’ लगायत लेखिएका पम्प्लेट समेत बोकेका थिए ।

 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १९:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया