नेपाल भाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं महानगरपालिकाले आइतबारदेखि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ सुरु गरेको छ । वडा नम्बर २२ को नेपाल आदर्श माध्यमिक विद्यालयमा प्रशिक्षण सुरु भएको हो । 

प्रशिक्षणको उद्घाटन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको सम्पदा संरक्षण गर्ने अभियानका लागि स्थानीय नेपाल भाषाकै पाठ्यक्रम पठनपाठन गर्न लागिएको बताए । 

‘हामीले नगरसभाबाट सर्वसम्मत निर्णय गरेर स्थानीय पाठ्यक्रम तर्जुमा गरेका हौं । यो महानगरपालिकाको संस्थागत निर्णय हो । थालनी भएकोले यसमा केही सुधार गर्नुपर्ने पक्ष हुन सक्छन्’, मेयर शाक्यले भने । तीन दिनसम्म चल्ने प्रशिक्षण नेवाः स्यनामि दबू नेपाल मण्डलको संयोजनमा महानगरको शिक्षा विभागले आयोजना गरेको हो । 

वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले नेपाल भाषाको माध्यमबाट स्थानीय पाठ्यक्रम पठनपाठन गराउने महानगरको निर्णयका कारण भाषा आन्दोलनका अभियन्ताहरूले दशकौंदेखि उठाइरहेको मागको सम्बोधन भएको बताए । आफ्नो वडाका सबै विद्यालयमा प्रभावकारी कार्यान्वयन गर्नेतर्फ आफू कटिबद्ध हुने महर्जनले दाबी गरे । 

शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार निर्णय कार्यान्वयन गराउन सबै संयन्त्र र प्रणालीलाई सक्रिय बनाइएको छ । यो कार्यान्वयनमा आएपछि अरु भाषाहरूलाई पनि आ—आफ्ना भाषामा पठनपाठन गराउन प्रेरणा मिल्ने उनले बताए । 

नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालका अनुसार पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समेटिएका छन् । 



बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ । 
 



  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार २०:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया