ममाथि हमला हुन सक्छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्‍नू : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने बताएका छन्। पोखरामा आयोजित ओली समूहको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

'नेकपा र सरकारलाई ठीक ढंगले चलाएको हुनाले ममाथि आक्रमण भयो, प्रहार भयो । राम्रो काम गर्दा गर्दै पनि आक्रमण भइरहेको छ', उनले भने, 'एक दिन ममाथि शारीरिक हमला हुन सक्छ। मेरो ज्यान तलमाथि भयो भने अनौठो नमाने हुन्छ।'

उनले आफ्नो ज्यान तलमाथि भए पनि आन्दोलन र पार्टी नबिग्रिने बताए। 'म रहिन भने पनि केही हुँदैन, आन्दोलन छ पार्टी छ तर प्रतिक्रियावादी तत्वहरुसँग घुँडा टेक्नु हुँदैन', उनले भने, 'अपराधिक तत्वहरुसँग लडिरहनुपरेको छ। जसले जालझेल गरिरहेका छन्। लोकतान्त्रिक मूल्य मान्यता पनि उनीहरुसँग छैन। अपमान मात्रै गर्न लागेका छन्। झूटा लाञ्छना लगाउन मात्रै लागेका छन्।'

उनले जनताको एकता र उन्नति देख्न नचाहनेहरूले षडयन्त्र गरिरहेको आरोप पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुमाथि लगाए। 'जनताको एकता र उन्नति देख्न नचाहनेहरुलाई, देशमा विकास भएको हेर्न नचाहनेहरुलाई अहिले गाह्रो भएको छ। आफ्नो स्वार्थका लागि राष्ट्रिय हितलाई तिलाञ्जली दिन खोज्नेहरूसँग सम्झौता हुँदैन', उनले भने, 'हाम्रा कामका बेग असाधारण छन्। अहिले एक दिनमा ५.७ किलोमिटरका दरले सडक कालोपत्रे भइरहेको छ। पहिले पहिले वर्षमा १० किलोमिटर मात्रै बाटो बन्थ्यो।'





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १४:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया