विकासका लागि विकासे मोडल बाधक : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यक्तिवादी विकासे मोडेल हुँदा विकासले गति लिन नसकेको बताएका छन् । नगर विकास कोषले धनगढीमा गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उनले भने, ‘विकास गर्ने नेपालको आफ्नो अलग्गै मोडेल छैन, व्यक्ति-व्यक्तिका मोडेल छन्, यसले समग्र क्षेत्रको विकास हुन सक्दैन ।’ 

जबसम्म नेपालमा विकासको मोडेलको विकास हुन सक्दैन, तबसम्म विकासले गति नलिने उनले बताए । व्यक्तिवादी विकासे मोडेलले एक–अर्कोलाई आरोप–प्रत्यारोप लगाउने बाहेक अरु कुनै काम नहुने उनले बताए । बजेट वितरण प्रणालीसमेत ठीक नभएको उनले उल्लेख गरे । जनसंख्याका आधारमा मात्र बजेट वितरण नभएर भौगोलिक आधारमा समेत हुनुपर्नेमा उनले जोड दिए । उनले अहिलेका आवश्यकता भनेको परिणाममुखी आयोजनाको आवश्यकता रहेको आँैल्याए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार बेन्जु श्रेष्ठले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व स्वीकार गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले ३ वटै सरकारको सहअस्तित्व नस्विर्कादासम्म विकास नहुने धारणा व्यक्त गरे । 

यस्तै, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगर विकास कोषले तीनै तहका सरकारबीच पुलको काम गरी सहरी क्षेत्रमा आधारभूत पूर्वाधार जुटाउन प्रभावकारी भूमिका खेल्न जरुरी रहेको बताए ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बदलिँदो परिवेशमा अनुदानबाहेकको पर्याप्त स्रोत जुटाउन स्थानीय पालिकाबाट पहल हुनुपर्नेमा जोड दिँदै कोषले लगानी बढाउनुका साथै आन्तरिक स्रोत वृद्धि गर्नमा सहयोग गर्ने बताए । 

कार्यशालामा नगर विकास कोषको दूरदृष्टि र चारवर्षे व्यावसायिक योजना, कोषको व्यवसाय प्रवद्र्धन तथा कार्य प्रक्रिया, सहलगानी तथा वैकल्पिक वित्तीय स्रोत परिचालन विधिलगायत विषयमा प्रस्तुति र छलफल भएको छ ।



नगर विकास कोषले नेपाल सरकार र विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारको वित्तीय र प्राविधिक सहयोगमा नगरको सामाजिक, पूर्वाधारको विकास, विस्तार तथा नगरपालिका एवं साना सहरको क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । कार्यशालामा सुदूरपश्चिम प्रदेशका ३४ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १७:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया