दिल्लीमा बाबुराम भट्टराई : स्वास्थ्य परीक्षणसँगै राजनीतिक उपचार पनि !
कुटनीतिज्ञसँगको भेटघाटबारे केही खुलाएनन्

साताअघि भारतको राजधानी नयाँ दिल्ली गएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो स्वास्थ्य परीक्षण पूरा भएको जानकारी सोमबार दिएका छन्। 

सोमबार बिहानै उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्य परीक्षण पूरा भएको छ। डाक्टरहरुका अनुसार मेरो पेटमा देखिएको ‘एनइटी’ क्यान्सरग्रस्त छैन। स्वास्थ्यबारे चासो–शुभेभ्छा व्यक्त गर्नुहुने सबैलाई र विशेषतः डाक्टरहरु भारतका विक्रम भाटिया, टिके चटर्जी....लाई धन्यवाद !’ 

उनले स्वास्थ्यमा खासै गडबडी नरहे पनि चिकित्सकले तत्कालै ट्युमरको शल्यक्रिया गर्न सुझाव दिएका उल्लेख गरेका छन्।

न्युरो–इन्डोक्राइनको ट्युटरमा क्यान्सर भएको आशंकामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभएको निष्कर्ष चिकित्सकहरुले निकालेका छन्। 

९ फागुनदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थानमा परीक्षण गराइरहेका डा. भट्टराई मंगलबार नेपाल फर्किँदैछन् । परीक्षण सकिएकाले उनी भोलि नै नेपाल वायुसेवाको जहाजबाट फर्कने बताइएको छ।

उपचारसँगै भेटघाट 



ट्युमरको उपचार गराउन भारत गएका डा. भट्टराईले ९ दिनबीचमा विभिन्न व्यक्तिसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा हालेका छन्।

यो अवधिमा उनले सहपाठीदेखि लिएर जनता समाजवादी पार्टीनिकट प्रगतिशील समाज भारतका कार्यकर्तासँग भेटेको तस्बिर सार्वजनिक गरेका छन्। उनले भारतको दिल्लीस्थित नेपाली दूतावासमा आश्रय बनाएका छन्। चण्डीगढमा आर्किटेक्चर पढ्दा (१९७२–७७) का सहपाठीहरुसँग भेटघाट गरेको सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पनि उनले सार्वजनिक गरेका छन।



भेट्न मानेनन् भाजपा नेता

यो त भयो उनले आफ्ना साथी र शुभेच्छुकसँग भेटेका समाचार। तर यही अवधिमा अन्य राजनीतिक व्यक्तिसँग पनि भेटघाट कोसिस उनले गरेका छन। तर त्यो प्रयास असफल भएको स्रोतको दावी छ। 

अर्थात् आफ्नो स्वास्थ्य जाँच चलिरहँदा उनले भाजपा केही नेताहरुसँग भेटघाट गर्ने खोजेका थिए। तर त्यो प्रयास सफल नभएको बताइएको छ। नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलन चर्काइरहेका बेला जसपा अध्यक्ष भट्टराई दिल्ली लागेका थिए। तर उनी दिल्ली पुगेलगत्तै प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फर्काइदियो।

स्रोत भन्छ, ‘डा. भट्टराईले चेकजाँचकै दौरान भाजपा नेताहरुसँग भेटघाट गर्न खोजेका थिए, तर उनीहरु मानेनन् । पूर्व राजदूतहरुको माध्यमले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने योजना पनि असफल भयो।’ ट्युमरको उपचार गराइरहेका डाक्टर भट्टराईसँग त्यहाँ उच्च तहका नेतासँग भेटघाटका लागि वातावरण नमिलेको स्रोत बताउँछ।

दिल्लीमा कसलाई भेटे? 

भारतीय उच्चस्तरका नेताहरुसँग भेट नभए पनि भाजपानिकट केही नेता तथा कुटनीतिज्ञसँग भने उनको भेट भएको छ। तर त्यसबारे उनले जानकारी गराएका छैनन्। न त सामाजिक सञ्जालमै राखेका छन्। डा. भट्टराईले सामाजिक सञ्जालमा राखेका तस्बिर केवल साथी र पार्टीका शुभचिन्तकको मात्रै छन्। 

स्रोतका अनुसार उनले दिल्लीमा भाजपानिकट केही व्यक्ति र नेपालका लागि भएका पूर्वराजदूतहरूसँग भेटघाट गरेका छन्। 

डा. भट्टराईले बिजेपीनिकट इण्डिया फाउण्डेसन अफिस (थिंक ट्यांक) का डाइरेक्टर आलोक वंसलसँग भेटघाट गरेका छन्। स्रोत भन्छ, ‘डा. भट्टराईले नेपालका लागि भारतका पूर्वराजदूतहरू श्यामशरण, रञ्जित रे र राकेश सुदसँग पनि भेटघाट गरेका छन्। तर ती भेटलाई उनले खुलाएका छैनन्।’

तीन पूर्वप्रधानमन्त्री भारत पुगे

मुलुकमा पछिल्लो समय राजनीतिक अस्थिरता बढिरहँदा स्वास्थ्य जाँच गराउन नेताहरु नेपालबाट भारत धाइरहेका छन्। चेकजाँचका लागि दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि जसपा नेताहरु महन्थ ठाकुर र पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि भारत पुगिसकेका छन्।

प्रतिनिधिसभा विघटनसँगै नेपालमा राजनीतिक अस्थिरता भएको बेला नेताहरु उपचारका लागि भारत धाउने क्रम बढेको थियो। नेताहरु आफ्नो र परिवारका सदस्यको समेत उपचारका लागि भन्दै भारत जाने गरेका थिए। तर फागुन ११ मा प्रतिनिधिसभा फर्किएसँगै नेताहरुको दिल्ली यात्रा केही कम हुने बताइन्छ।

पुस ५ को कदमयता भारत पुगेका तीनैजना पूर्व प्रधानमन्त्रीहरूले राजनीतिक भेटघाट नगरेको बताइरहेका छन्। भारत पुग्ने नेता र तिनका परिवारको उपचार नेपालमै सम्भव रहेको तर्क चिकित्सकहरु गर्छन्। तर पनि उपचारका नाममा दिल्ली धाउने क्रम उस्तै छ।

  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १८:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया