६० अकंले घट्यो सेयर बजार

साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा केही सुधार देखिए पनि मंगलबार भने पुनः ओरालो लागेको छ ।

सेयर बजार सूचकमा मंगलबार फेरि ६० अंकको पहिरो गएको छ । आइतबार ८० अंकले घटेको बजार सोमबार ४० अंकले बढेको थियो । 

परिसूचक घटेसँगै मंगलबार नेप्से २४५५.३३ बिन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले घटेर ४४३ विन्दुमा झरेको छ । तर समग्र कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार आएको छ ।

सोमबार २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री भएको थियो । तर, मंगलबार २०८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता सेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले देखाएको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र होटल उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक घटेको छ । घट्दो बजारमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसन र चन्द्रागिरि हिल्सको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा सर्वाधिक वृद्धि



मंगलबार सर्वाधिक मूल्य वृद्धि हुने सेयरमा साल्ट ट्रेडिङ कर्पोरेसन रहेको छ । यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता रू. ९ हजार २९३ पुगेको हो । कम्पनीको सेयरमा बिक्रेताभन्दा खरिदकर्ता अत्यधिक भएकाले सेयर मूल्य बढेको हो । 

त्यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँमा कारोबार भएको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य आठ प्रतिशतले र एचआइडिसिएलको सेयर मूल्य दुई प्रतिशतले बढेको छ । त्यस्तै गुडविल फाइनान्स र मेरो माइक्रो फाइनान्सको सेयर मूल्य करिब १–१ प्रतिशतले बढेको नेप्सेले देखाएको छ । 



नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर ७ प्रतिशतले घट्यो

सर्वाधिक मूल्य घट्ने कम्पनीमा नेपाल हाइड्रो डेभलपर कम्पनी रहेको छ । यस दिन यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेको हो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक र सिनर्जी पावरको ६–६ प्रतिशत, साधना लघुवित्त, गुह्येश्वरी मर्चेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स, र स्वाभिमान लघुवित्तको सेयर मूल्य ५–५ प्रतिशतले घटेको छ ।

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १६:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया