सरकारले फागुन २३ गते नै संसद् अधिवेशन अन्त्य गर्ने भएको छ। फागुन ११ गते सर्वोच्च अदालतले पुन:स्थापना गरिदिएपछि बस्न लागेको प्रतिनिधिसभाको पहिलो बैठकबाटै अधिवेशन अन्त्य तयारी सरकारले गरेको हो।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएसँगै नेकपा दुई चिरा भएको छ। यस्तोमा त्यही दिन नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित ९० जना सांसदले संघीय संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव यथावत छ।
तर सोमबार बसेको दाहाल-नेपाल समूहको सचिवालय बैठकले तत्काललाई ओलीविरुद्धको अविश्वास प्रस्ताव अघि नबढाउने निर्णय लिएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका थिए।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका चारदेखि पाँचजना सांसद ओलीतिर लागेपछि दाहाल-नेपाल अफ्ठ्यारोमा परेका छन्। उक्त अविश्वास प्रस्तावको पक्षमा दाहाल-नेपालले कांग्रेस र जसपालाई सहमत गराउन नसकेपछि उनीहरुलाई समस्या भएको छ।
सरकारविरुद्ध कांग्रेस र जसपासँग मोर्चाबन्दी गर्न खोजिरहेका दाहाल-नेपालको सम्भावित आक्रमण रोक्न सरकारले संसद अधिवेशन पहिलो बैठकबाटै गर्ने रणनीति बनाएको हो। दाहाल-नेपालले आफ्नो एजेण्डामा ल्याउन कुनै कसर नछाड्ने रणनीति तय गरिसकेको छ। यसअघि नै दाहाल-नेपालले कांग्रेस सभापति देउवालाई ओली विस्थापित गरेपछि प्रधानमन्त्री बनिदिन आग्रह गरिसकेका छन्।
सरकारले फागुन २३ मै संसद् अधिवेशन अन्त्य गर्न सक्ने सूचना दाहाल-नेपाल नेकपालाई पनि पुगेको छ। 'प्रधानमन्त्रीले भने जस्तै राष्ट्रपति कलमको बिर्को बन्द नगरी बस्नु भएको हामीले पनि बुझेका छौँ', दाहाल-नेपाल समूहका एकजना नेताले भने, 'यो रणनीति प्रधानमन्त्रीले संसदबाट आउन सक्ने संकट टार्ने प्रयास हो। यसलाई लिएर हामी अहिले पनि कांग्रेससँग सम्वादमा छौँ।'
दाहाल-नेपालको एजेन्डा कांग्रेस र जसपा सहमत हुन नसकिरहेको अवस्थामा सरकारले संसदको हिउँदे अधिवेशन तत्कालै अन्त्य गरिदिने रणनीति बनाएको हो। हिउँदे अधिवेशन अन्त्यपछि एकै पटक जेठमा बजेट अधिवेशन बस्ने छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय सदनको दुवै सदनको अधिवेशन अन्त्य गर्न सक्ने प्रावधान रहेको छ। तर संविधानमै एकचौथाइ सांसदहरुले माग गरेर निवेदन दिएमा अधिवेशन अन्त्य भइसकेपछि पनि संसद बैठक बोलाउनुपर्ने प्रावधान छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।