नायिका नचाउन भित्र्याउने बेलाको गहुँबालीमा मन्त्रीले चलाउन लगाए डोजर (भिडियो)

रौतहटको मौलापुर नगरपालिकाले शिव रात्रि पर्वको अवसरमा यही फागुन २७ गते मौलापुर महोत्सवको आयोजना गर्न लागेको छ। मौलापुर नगरपालिका ५ मा महाशिवरात्रि पर्वको अवसरमा आयोजना गर्न लागिएको महोत्सवका लागि किसानको गहुँ बाली नष्ट गरिएको छ।

खाद्यान्न ऐनबमोजिम यसरी कुनै किसानको बाली नष्ट गर्नु दण्डनीय रहे पनि महोत्सवका लागि ३ बिघामा लगाइएको गहुँ बाली सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा नष्ट गरिएको हो। मेलाकै लागि किसानले लगाएको गहुँ बालीमा मन्त्री साहको निर्देशनमा डोजर चलाइएको स्थानीय किसानको आरोप छ।

मेला आयोजना गर्ने मिति पहिले नै तय गरिए पनि निर्धारित स्थानमा मेलाको आयोजना नगरी बाली लगाइएको स्थानमा समितिले मेला लगाउन लागेको मौलापुर नगरपालिका  ५ का ३५ वर्षीय किसान कृष्ण साहले बताए।

उनले भने,  ‘यसअघि तय भएको स्थानमा समेत हाम्रो खेत थियो त्यहाँको करिब सात कट्ठा जग्गा पर्ती नै राख्यौं र यहाँको चार कट्ठा खेतमा बाली लगाएका थियौं। अबको करिब १० देखि १५ दिनमा हामी गहुँ बाली काट्ने तरखरमा थियौं तर अन्तिम समयमा आएर समितिले हाम्रो मिहिनेतमाथि बज्रपात गरिदियो।’ 

उनले अहिलेसम्ममा ४ कट्ठा खेतमा लगाएको बालीमा १० देखी १५ हजार खर्च भएपनि आयोजकले क्षतिपूर्तिको नाममा ५ हजार रुपैयाँ थमाई दिएको गुनासो गरे। उनले भने, ‘हामीले सुरूमा बाली नकाट्नुस्, बरु पहिले जुन स्थानमा मेलाको आयोजन हुने बाला थियो त्यही गएर मेला लगाउनु भनेका थियौं। तर, वहाँहरुले हाम्रो आग्रह नमानि उल्टै खेत उपलब्ध नगराए मुआब्जा समेत उपलब्ध नगराई बाली नै नष्ट गरी मेला लगाउने धम्की दिनुभयो।’

उनले आयोजकले एक कट्ठाको अढाई हजार रुपैया उपलब्ध गराउने भनेको छ जसमा पाँच हजार बालीमा डोजर लगाउनु भन्दा पहिल्यै दिइएको छ भने बाँकी रहेको पाँच हजार मेला सकिए पछि दिइने छ। 



अर्का एक पीडित महिलाले भनिन्, ‘मन्त्रीजीले घरमा आएर भन्नुभएको थियो महाशिवरात्रिमा मेला लाग्छ, उक्त स्थानमा भएका खेतहरूमा बाली नलगाउनु होला। त्यसैले हामीले सो स्थानमा बाली लगाएनौँ तर जहाँ बाली लगाएनौँ त्यहाँ मेला लगाइएन र बाली लगाएको ठाउँमा आएर मेला लगाउन लाग्दा हाम्रो मिहिनेत र पैसा दुवै डुबेको छ।’

यता मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनादेवी साहले किसानको गहुँ बाली नष्ट भएकोमा नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराएको प्रतिक्रिया दिएकी छन्। उनले भनिन्, ‘हामीले अघिल्लो वर्ष पनि त्यही स्थानमा मेलाको आयोजन गरेका थियौं र यस वर्ष पनि त्यही आयोजन गर्न लागेका हौं।’ यसमा किसानको बाली नालीको के कति क्षति भएको छ त्यो बुझेर हाम्रो नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउनेछ।’ 



नगरप्रमुख साह शहरी विकास मन्त्री प्रभु साहको श्रीमती हुन्। मेलाको आयोजना मौलापुर नगरपालिकाले गर्न लागेको छ। मौलापुर नगरपालिकास्थित महादेव मन्दिरमा भारतीय भोजपुरी जगतको नायिका अक्षरा सिंहलाई फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा बोलाइएको छ।

भिडियो

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १७:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया