सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले पार्टी र देशलाई निकास दिनका लागि सचिवालय बाहेकका सांसदहरु छलफलमा जुट्न आह्वान गरेका छन् ।
शर्माले सामाजिक सञ्जालमार्फत संसद विघटनसम्मको परिस्थिति र पुनःस्थापनापछिको अवस्थालाई मध्यनजर गर्दै देशलाई निकास दिनका लागि पार्टीको सचिवालयमा रहेका भन्दा बाहेकका सांसदहरु एकीकृत भएर छलफल गर्न आवश्यक भएको बताएका छन् ।
उनले लेखेका छन, 'सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्ने अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ ।'
शर्माले पार्टीमा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवं पदीय झगडाका रुपमा आआफ्ना बुझाइ रहेको भन्दै जननिर्वाचित संसदसमेत भंग हुने अवस्थासम्म पुग्नु सबैका लागी दुर्भाग्यपूर्ण अवस्था भएको बताएका छन् ।
जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसदको पुनःस्थापना भएको सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरुले आफूप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको शर्माको निष्कर्ष छ ।
जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएकोले सबै सांसदहरुले खुला रुपमा आफ्नो धारणा राख्नेगरी बैठक आवश्यक भएको उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एंवम पदीय झगडाका रुपमा आआफ्ना...
Posted by Janardan Sharma'Prabhakar' on Tuesday, March 2, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।