जीपको ठक्करबाट एकजना सहपाठीको निधन भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधबार ललितपुरको जावलाखेलस्थित सडकमै बसेर प्रदर्शन गरेका छन्। उनीहरुलाई साथीलाई ठक्कर दिएपछि चालकले जीप ब्याक गरेर ज्यान लिएको भन्दै विद्यार्थीहरुले सडकमै बसेर प्रदर्शन गरेका हुन्।
कोटेश्वर मल्टिपल क्याम्पस स्नातक पहिलो वर्षमा अध्ययनरत १९ वर्षीया अन्जु दाहाललाई आजै बिहान क्याम्पस जाँदै गर्दा नख्खु, बागडोलमा जीपले ठक्कर दिएको थियो। जीपको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको थियो ।
सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरा बस्दै आएकी अन्जु कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन्। दाहाललाई बिहान ६ बजेतिर स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिएको थियो । जीप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताउ।
ठक्कर दिएपछि जीपले उनलाई ‘ब्याक’ गरेर अन्जुको ज्यान लिएको आरोप विद्यार्थीले लगाएका छन्। सडकमै बसेर विद्यार्थीहरुले प्रदर्शन गरेपछि ललितपुरको सवारी आवागमन प्रभावित भएको छ।
ललितपुर प्रहरी बिहान १० बजेदेखि जावलाखेलमा सवारी आवागमन अवरुद्ध भएको जनाएको छ। सडक आवागमन खुलाउन विद्यार्थीहरूसँग कुरा भइरहेको प्रहरीले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।