सरकारले वेवास्ता गरेपछि स्थानीयले आफैं बनाए पुल
सरकारी पुललाई गिज्याउँदै ‘लण्डन ब्रिज
स्थानीयले निर्माण गरेको ‘लन्डन ब्रिज’ पुल । तस्बिरः कैलाश जोशी ।

धनगढी–राजघाट जोड्ने पुल बनाउनका लागि ८ करोड ४२ लाख ९ सय ४६ रुपैयाँमा सम्झौता भयो । यो पुल निर्माणका लागि सम्झौता भएको ६ वर्ष वितिसकेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुल निर्माणको ठेक्का इलाइट एडभेन्चर जेभीलाई दिएको थियो । 

सरकारी तर्फबाट सम्झौता भएको पुल तोकिएको समयावधिमा नसकिएपछि स्थानीय युवाको सक्रियतामा सोही ठाउँमा अर्को पुल बनाइएको छ । त्यसको नाम ‘लण्डनब्रिज’ राखिएको छ । 

सरकार र ठेकदार कम्पनी म्याद थप्दै बसेका बेला पुल नभएर समस्यामा परेका कृष्णपुर नगरपालिका–८ राजघाटका स्थानीयहरू आफैंले विकल्प खोजे । त्यो विकल्प हो, फलामका डण्डीबाट अस्थायी पुल । त्यसलाई स्थानीयले ‘लन्डन ब्रिज’ का नामले पनि चिन्छन् । 

लन्डन ब्रिज बनाएका हुन्, कञ्चनपुरको कृष्णपुरका ज्ञानबहादुर चौधरी र धनगढी–५ का बिनोद भट्टले । पुल नहुँदाका समस्या दुवैले बाल्यकालदेखि नै भोगेका थिए ।

१६ वर्षअघि उनीहरू रोजगारी खोज्दै कतार गए । त्यहाँ समुद्रमाथि स्काइ फोल्डिङ विधिबाट विभिन्न संरचनाको बनाउने काम गर्थे । फलामका पाइप जोडेर समुद्रमा बनेका ठूला पुल निर्माणमा उनीहरूले काम गरे ।



७ वर्ष कतार बसेर फर्किँदा पनि मोहना नदीमाथि पुल बनिसकेको थिएन । उनीहरू आ–आफ्ना काममा लागे । नदीमाथि पक्की पुल बन्ने भयो रे भन्ने कुरा त सुने तर त्यो कहिल्यै बनेन ।

ज्ञानबहादुरको दिमागमा कतारमै जसरी यहाँ पुल बनाउन पो सकिन्छ कि भन्ने आइडिया आयो । उनले आफ्ना साथी विनोदसँग सल्लाह गरे । सरकारी जमिनमा पुल बनाउन अनुमतिबिना पाइँदैन । सुरूमा उनीहरू स्वीकृतिका लागि पुल छुने दुई वडाका कार्यालयमा पुगे ।



‘धनगढीको वडा नम्बर ३ र कृष्णपुरको वडा नम्बर ९ का अध्यक्षले यस्तोमा खस्ने, दुर्घटना हुने रिस्क लिदैनौं भनेर अनुमति दिएन’, ज्ञानबहादुरले भने । वडाले नदिएपछि यो कुरा गाउँमा पुग्यो । स्थानीयले चासो देखाए । दुवै वडाका स्थानीयहरूले पुल बनाउन समिति बनाए ।

‘केही भए हामी जिम्मेवार हुन्छौं, सुविधा हामीलाई चाहिएको छ भनेर स्थानीयले समिति बनाइ निर्णय नै गरेपछि सुरूमा हामीले सात दिन लगाएर पुल बनायौं,’ उनले भने ।
पहिलो पटक २०७४ को हिउँदका लागि त्यो पुल बनेको थियो । त्यसबाट बारपार गर्न निःशुल्क थियो । पछि वर्षायाममा पनि पुल भए हुन्थ्यो भन्ने भएपछि समितिले शुल्क लिने गरी बलियो पुल बनाउने भन्यो । 

पुलमा चाहिने सामान ‘बि क्लासका क्लाम्प’हरू भारतबाट, पाइपहरू धनगढीबाट ल्याएको र ‘ल्याडर’ भने घरकै वेल्डिङ मेसिनले तयार गरियो । 

‘यसको निश्चित दूरी र इन्जिनियरिङ हुन्छ । स्काइ फोल्डिङ डिभिजनको नियमअनुसार बनाइयो । यो राइट एंगल कप्लर, सोएबल कप्लर र सिंगल कप्लर गरी तीन प्रकारको क्ल्याम्प प्रयोग भएको छ,’ उनले थपे । 

बाढीमा पनि नबग्नलाई बिम चाहिने भयो । त्यसमा चार ट्रली ढुंगा हालेर बिम बनाइयो । महिना दिन लगाएर पुल तयार भयो । बिमले बाढीमा पुललाई बग्न दिँदैन । उनले आफूले फेरोसी सर्टिफिकेट लिएकोले पुल बनाउन योग्य बताए ।

पुलबाट पैदल, साइकल, मोटरसाइकल र अटोरिक्सा आवतजावत गर्न मिल्छ । सामानहरू ढुवानी गर्ने ठूला गाडी चलाउन मिल्दैन । ‘केहीले त यो पुल नदीमा बग्छ भन्थे, मलाई भने समुद्रमा त यस्तो पुल बनेका हुन्छन् भने यहाँ टिक्छ भन्ने विश्वास थियो,’ ज्ञानबहादुरले भने ।

यो पुल बनाउँदा उनीहरूले १३ लाख रुपैयाँ खर्च गरेका थिए । लगानी उठाउन पुल प्रयोग गर्ने सर्वसाधारणसँग शुल्क लिने कुरा उठ्यो । यस पुलमा वारपार गर्ने विद्यार्थीलाई शुल्क लाग्दैन । यस्तै ज्येष्ठ नागरिकलाई पनि बिना शुल्क हिँड्न दिइन्छ । 

‘टोरिक्सालाई आवतजावतको ४५, मोटरसाइकलको २५, साइकल र पैदलयात्रीको १०÷१० शुल्क लिने गरेका छौं’, ज्ञानबहादुरले भने । उनका अनुसार पुल निर्माणको लगानी उठिसकेको छ ।

कञ्चनपुरका अमर चौधरीले अस्थायी पुल बनेपछि आवतजावत गर्दा डुंगा र काठेपुलको यात्राभन्दा सहज भएको बताए ।

‘बिमारी हुँदा पौडी खेलेर पारी जानुपर्ने हुन्थ्यो, राति डेलिभरी केस भए समस्या हुन्थ्यो, अहिले यही पुलले सजिलो छ,’ उनले भने ।

कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सीमाना जोड्ने उक्त पुलमा सोही क्षेत्रका स्थानीयहरू बढी आवतजावत गर्ने गर्दछन् । पुल हेर्न र पुलमाथि चढेर तस्वीर लिनेहरुको संख्या बढ्दो छ ।


  

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १५:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया