पेटको उपचारका लागि भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई फागुन ९ गते भारतको राजधानी नयाँ दिल्ली गए। नेपालका चिकित्सकको सल्लाहअनुसार दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस'मा बसेर उनले उपचार गरेको बताए।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेपाल फर्किएकै दिन भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली उडेका थिए। ९ दिन लामो दिल्ली बसाइका क्रममा उनले भाजपानिकट केही व्यक्ति र नेपालका लागि भएका पूर्वराजदूतहरूसँग भेटघाट गरेको खुलेको छ।
डा. भट्टराईले भाजपानिकट इण्डिया फाउण्डेसन अफिस (थिंक ट्यांक) का डाइरेक्टर आलोक वंसलसँग भेटघाट गरेका बताइएको छ। डा. भट्टराईले नेपालका लागि भारतका पूर्वराजदूतहरू श्यामशरण, रञ्जित रे र राकेश सुदसँग पनि भेटघाट गरेका छन्। तर ती भेटलाई उनले खुलाएका छैनन्।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट प्रयास गरे पनि सफल हुन सकेनन्। उनले राजनीतिक तहमा गरेको कोसिस सफल नभए पनि एउटा अन्तरवार्ताले पनि अहिले विवाद जन्माएको छ।
नक्साकै पक्षमा थिए
भारतले लामो समयदेखि मिचिरहेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपाल सरकारले २०७७ जेठ ७ गते नयाँ नक्सा निकालेको थियो। आफ्नो भूमि फिर्ताका लागि गरिएको वार्ताको पहलको भारतले बेवास्ता गरेपछि नेपालले उक्त नक्सा निकालेको थियो।
त्यसपछि उक्त नक्सालाई ९ जेठमा दर्ता गरेर संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेपछि निशान छापमा हालेको थियो।
उक्त नक्साको पक्षमा बाबुराम आवद्ध जनता समाजवादीका नेताहरु राजेन्द्र महतो र उपेन्द्र यादवले पनि बोलेका थिए। उनीहरुले नक्सामा समर्थन जनाउँदै अब भूमि फिर्ता ल्याउनुपर्ने मत राखेका थिए।
नेपालको नयाँ नक्साबारे विवादित अभिव्यक्ति दिएकी सांसद सरिता गिरीलाई कारवाही गर्नुपर्ने पक्षमा स्वयम् बाबुरामले बोलेका थिए। जनता समाजवादी पार्टीकै वरिष्ठ नेता डा. भट्टराईले सीमा/भूभाग सम्बन्धी संविधान संशोधनमा आफूहरुको समर्थन रहने बताएका थिए। उनीसहितकै अडानले सदनमा दर्ता गराएको संशोधनविरुद्ध उभिएकी नेतृ सरिता गिरीलाई जनता समाजवादी पार्टीले निष्काशन गरेको थियो।
भारत पुगेर नक्साविरुद्ध बोले
तर उनै बाबुराम उच्च शिक्षा लिएको दिल्ली पुगेर आफ्नै समर्थनमा पास भएको नक्साविरुद्ध उभिए। पेटको उपचारको बहानामा दिल्ली पुगेका उनले नक्साविरुद्ध उभिँदै भारतीय सञ्चारमाध्यममा अन्तरवार्ता नै दिएका छन्।
भारतले मिचेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएर प्रकाशित नक्साविरुद्ध भारत पुगेर बोलेपछि उनको तिखो आलोचना भइरहेको छ। उनको यो अभिव्यक्तिलाई लिएर सर्वसाधारणले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन्। नयाँ नक्सा जारी भएको करिब १० महिनापछि उनले पहिलोपटक असन्तुष्टि जनाएका हुन्, त्यो पनि नेपालबारे भारतमा गलत सन्देश जाने गरी।
दिल्लीमा रहँदा उनले उच्च राजनीतिक भेटघाट नगरे पनि भारतको चर्चित इन्डिया टुडे टेलिभिजनलाई अन्तवार्ता दिएर त्यहाँको सेन्टिमेन्ट तान्न खोजे। हिन्दीमा भाषामा अन्तर्वार्ता दिँदै उनले नक्साविरुद्ध बोलेका हुन्।
अन्तर्वार्ताका क्रममा इन्डिया टुडे टेलिभिजनकी पत्रकारले नेपालमा नयाँ नक्सा सार्वजनिक गरिएको विषयमा डा. भट्टराईलाई सोधेकी छन्। अन्तरवार्ताका क्रममा इन्डिया टुडेकी पत्रकारले सोधिन्, ‘हालै नेपालमा नक्साबारे विवाद भएको थियो, तपाईंलाई के लाग्छ? ओलीले संसदबाट नक्सा पास गर्न हतार गरे?'
तर नेपाली राष्ट्रियताको सवालमा प्रतिरक्षामा उत्रिनुको साटो उनी यहाँको राजनीतिक उपजको कारण भन्दै नक्साको विरोधमा उत्रिए। भारत नै पुगेर उनले नेपालको नयाँ नक्साविरुद्ध वक्तव्यबाजी गर्नुलाई नेपालको अहिलेको जटिल राजनीति अवस्थाका सन्दर्भमा अर्थपूर्ण मानिएको छ। नयाँ नक्सा पारित भइसकेकाले मिचिएको भूमि फिर्ता गर्नुपर्ने कुरा भारतीय मिडियामा राख्नुको साटो डा. भट्टराईले भारतीय लाइनमै आफ्ना कुरा राखेर अहिले नेपालमा आलोचनाको भुमरीमा परिरहेका छन्।
उनको जवाफ भारतीय नेतृत्वका लागि नेपालको आन्तरिक मामिलामा खेल्न मसला त भयो तर नेपालीको भने चित्त दुखाएको छ। नेपालीका लागि अनौठो र अनपेक्षित जवाफ दिएर उनले प्रधानमन्त्री केपी ओलीतर्फ लक्षित गर्दै आन्तरिक राजनीतिक समस्या समाधान गर्न नसकी नक्सासहित राष्ट्रियताको कुरा ल्याएर 'पपुलर' हुन खोजेको टिप्पणी गरे।
के भने बाबुरामले ?
इन्डिया टुडेकी पत्रकारसँगको अन्तरवार्ताका क्रममा डा. भट्टराईले नेपालमा आन्तरिक संकट बढेपछि भारतविरोधी राष्ट्रियताको मुद्दा उछाल्ने गरिएको बताए। ‘दक्षिण एसियाका धेरै देशहरूमा यस्तो भइरहको छ, जब आन्तरिक संकट आउँछ तब त्यसलाई समाधान गर्न नसके शासकले राष्ट्रियताको विषय उछाल्छन्। त्यो प्रयास जनताको ध्यान अन्तै मोड्न गरिएको हो। नयाँ नक्सालाई लिएर नेपालमा पनि त्यही भएको हो। सीमा समस्या त अंग्रेजको शासनदेखि नै थियो नि! त्यसलाई समाधान गर्न राजनीतिक संयन्त्र बनाइएको थियो। त्यही संयन्त्रमार्फत समाधान गर्नुपर्ने थियो। यसलाई लिएर दुवै देशबाट गल्ती भएको छ। यो विवादमा भारतभन्दा सानो देश भएकाले धेरै क्षति नेपाललाई भइरहेको छ। भारत नेपालको सबैभन्दा ठूलो आर्थिक साझेदार पनि हो। भारतसँग हाम्रो आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ। भारतसँग सम्बन्ध बिग्रिए नेपालीले धेरै नोक्सानी र दु:ख व्यहोर्नुपर्छ। यस्ता संवेदनशील विषय वार्ताबाटै समाधान हुनुपर्ने हाम्रो मान्यता छ ।'
नेपाल आएर के भने ?
नेपाल फर्किएपछि डा. भट्टराईले चाँडै चुनावी सरकार निर्माण हुनुपर्ने बताएका छन्। उनले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्न ट्वीटरमार्फत आह्वान गरेका छन्। भट्टराईले संविधान संशोधन गर्नुपर्ने लगायत माग पनि फेरि दोहोर्याएका छन्।
प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आएका भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको निर्णय आउँदा आफ्नो रोग निको भएको प्रतिक्रिया दिएका थिए।
‘अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति हो, बाटो बिराए पुरानै ठाउँमा फर्कनु भने झैं एकपटक ‘फर्गिभ एण्ड फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै काम गरौं,’ भट्टराईले भनेका थिए।
उनले योसहित ५ प्रस्ताव पनि राखेका थिए। सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत शान्ति प्रक्रियामा बाँकी काम पूरा गर्नुपर्ने पनि उनको प्रस्ताव छ। यस्तै भट्टराईले सहमतिको सरकारले सहमतिले संविधान संशोधन, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन, समावेशी समृद्धिको बृहत् गुरुयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै भारत, चीन, अमेरिकासँग असल सम्बन्ध बनाउनुपर्ने भट्टराईले बताएका छन्।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।