बाइडेनको ‘चाँदी’ नीतिले सुनको मूल्य ओरालो बाटोमा

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेको छ । अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि त्यसको प्रभाव सुनचाँदी बजारमा देखिएको हो । 

सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा समेत त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अत्यधिक चाँदी प्रयोग हुने ‘ग्रिन भ्यालु प्रोजेक्ट’ अघि बढाएका छन् । ‘अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने सोलार पावरको अवधारणा ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ सुनचाँदी व्यवसायी माणिकरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर प्रतिऔंस १ हजार ७ सय डलरभन्दा माथि रहेको सुन आज पनि प्रतिऔंस १ हजार ७ सय ३३ डलरमा छ । व्यवसायी शाक्यले भने, ‘यो घटेर प्रतिऔंस १ हजार ७ सयमै आउने अनुमान गरिएको छ ।’

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय मूल्यका आधारमा निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पनि घट्ने र उता बढ्दा यहाँ पनि पुनः मूल्य वृद्धि हुने गरेको महासंघले जनाएको छ । यदि, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सयमा आइपुग्यो भने नेपाली बजारमा पनि प्रतितोला ८५ हजारमा आइपुग्ने महासंघले खुलाएको छ । यसरी हेर्दा आगामी दिनमा सुनको मूल्य नेपाली बजारमा अझ घट्न सक्ने देखिन्छ ।

यता, अमेरिकी डलर पनि बलियो बन्दै गएको छ । केही दिनयता डलरको भाउ पनि बढेको छ । ११६ रुपैयाँमा किनबेच भइरहेको डलरको भाउ बढेर ११८ रुपैयाँ पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक डलर खरिदका लागि ११७ रुपैयाँ ८ पैसा र बिक्रीका लागि ११७ रुपैयाँ ६८ पैसा तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बलियो हुँदा सुनको मूल्य घट्ने र सुनको मूल्य बढ्दा डलर कमजोर हुँदै जाने गरेको पछिल्लो तथ्य नै छ ।



विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण डलर बिक्री गरेर सुन खरिद गर्दा केही महिनाअघिदेखि सुनको मूल्य निरन्तर उकालो लागेको थियो । तर, अहिले सुन बिक्री गरेर डलर जम्मा गर्न खोज्दा पनि सुनको मूल्य घटेको व्यवसायीहरूको भनाइ छ ।

यसैगरी, चीन र अमेरिकाबीच व्यापारसम्बन्धी विषयलाई लिएर ‘वाक युद्ध’ नै चलेको थियो । तर, अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि चीनसँगको चिसिएको सम्बन्ध पुनः सुधार भएपछि सुनको भाउ घट्न पुगेको पनि बताइन्छ ।



केही सयमअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको थियो । गत साउन २३ गते सुनको मूल्यले नयाँ उचाइ छोएको थियो । उक्त दिन एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ हजार ५ सय रुपैयाँ तिर्नु परेको थियो । तर, बुधबार एक तोला सुन किन्दा ८७ हजार ५ सय तिरे मात्र पुग्छ । 

करिब सात महिनाको अवधिमा सुन तोलामा १६ हजार ५ सय रुपैयाँ घटेको छ । यसको अर्थ व्यवसायीले सात महिनामा नै तोलामा साढे १६ हजार गुमाउन पुगेका छन् ।

सुनको मूल्य सस्तिए पनि बजारमा अभाव

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य सस्तो हुँदा नेपालमा समेत त्यसको प्रभाव देखिएको छ । सुनको मूल्य घटे पनि नेपाली बजारमा सुनको अभाव हुन थालेको सरोकारवाला बताउँछन् ।

सुन आयात गर्दै आएको नेपाल बैंकर्स संघसँग पनि स्टकमा सुन नभएको जनाएको छ । यो साता सय किलो सुन मात्रै आउने संघको भनाइ छ । सरकारले दैनिक १० किलो मात्र सुन आयात गर्न दिएकाले पनि सुनको अभाव हुन पुगेको हो । अहिले बजारमा सुनको माग भने दैनिक ३० किलोको हाराहारीमा छ । मागभन्दा आयात कम भएकाले सुनको अभाव देखिएको व्यवसायीको भनाइ छ ।

सुन आयातको कोटा वृद्धि गर्नु जरुरी : महासंघ

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँगको वार्तामा कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भइसकेको भन्दै तत्काल कोटा वृद्धि गर्न माग गरेको बताएका छन् ।

महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गरेका छन् । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकाले अहिलेको समस्या आएको बताए ।

अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको महासंघको भनाइ छ । आवश्यकता अनुसार कच्चा सुन सहज रूपमा उपलब्ध नहुँदा बजारमा अवैध रूपमा सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको महासंघको दाबी छ ।

यता, सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघको भनाइ छ । आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायसँग आवश्यक परामर्श गरी शीघ्र समस्याको समाधान गर्ने सचिव भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सचिव भट्टराईले सुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि यसअघि नै मस्यौदा तयार भइसकेको उल्लेख गर्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

त्यस्तै, सुनचाँदी व्यवसाय प्रवर्द्धनका लागि आवश्यकताअनुसार तालिमको व्यवस्था गर्न, रोजगारीका अवसर बढाउन, सुनका गरगहना निर्यातका लागि आवश्यक सहज वातावरण निर्माण गर्न तथा व्यवसायीका तर्फबाट अगाडि सारिएका अन्य मागलाई सम्बोधन गर्न आफूले सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने भट्टराईको दाबी छ ।

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १७:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया