[नयाँ पुस्ता] आमाको जिन्दगी सम्झँदा ‘विवाह’ शब्दसँगै डर लाग्छ
जिम्मेवारीका अगाडि आफ्नै सपना छुटेको मोड थाहा पाइनँ
फरकधार / २० फागुन, २०७७

सानै थिइन्, सिर्जु अधिकारी । उनी स्कुलबाट घर फर्किंदा हरेक दिनजसो आमाका आँखाका डिल सुनिएका हुन्थे । उनका बुवा रोजगारीको सिलसिलामा धेरैजसो बाहिर हुन्थे । घरमा आएका बेला आमा–बुवाको सधैं किचलो हेर्दै हुर्किएकी उनलाई त्यतिबेला थाहै हुन्थेन घरमा के भइरहेको छ ।

चार दिदी–बहिनीमध्ये साइँली हुन् सिर्जु । चार छोरी जन्माएकी उनकी आमालाई छोरो नपाएको भनेर समाजले दिने दबाब एकातिर थियो, अर्कोतिर श्रीमानसँग विचार नमिल्दा हरेक दिन पाउने यातना । 

सिर्जुले आफूले बुझिन् गर्भको बच्चा छोरा वा छोरी हुनुमा महिलाको कुनै भूमिका हुँदैन । तर, उनकी आमालाई लाग्थ्यो, ‘मेरै कारणले छोरो जन्मिएन ।’ यस्तै धेरै कुराले गर्दा सिर्जुकी आमाले ४ छोरीपछि पनि सन्तान जन्माउनु पर्‍यो । पाँचौँ सन्तानका रूपमा छोरालाई जन्म दिइन् । उनकी आमा छोरो पाएर भाग्यमानी भइन् ।

स्कुले जीवनबाटै आफ्नी आमामाथिको यो ज्यादती हेर्दै हुर्किएकी सिर्जु भने भाग्यमानी हुन सकिनन् । त्यसैले होला उनलाई सानैबाट घरसँग प्रेम रहेन । २०६२ सालमा एसएलसी दिएपछि उनले दाङ छोडिन् । घर छोडिन् ।

एसएलसी दिँदा उनी मात्रै १५ वर्षकी थिइन् । १५ वर्षीया आफ्नी छोरीलाई काठमाडौं पठाउन उनका बुवा तयार थिएनन् । उनलाई भने बुवा-आमाको नमिलेको विचारबाट उत्पन्न जिन्दगीको अन्योलबाट कतै टाढा जानु थियो । 

आमाले काठमाडौं जाने सहमति दिइन् । समय यस्तो थिएन । सिर्जुकी आमासँग त्यसबेला छोरीलाई दिने बाटो खर्चसमेत थिएन । आमाले आसामी काढिन्, केही हजार ऋण लिएर काठमाडौं पठाइन् ।

पहिलो पटक घर छोडेर काठमाडौं निस्कँदा सिर्जुको साथमा थिइन् दाङकै सुहाना श्रेष्ठ । सुहाना काम विशेषले काठमाडौं आउँदै गर्दा साथ लागेर आएकी सिर्जुले काठमाडौंमा पहिलो साथ कलाकार पूजा लामाको पाइन् । 

पूजा फिल्मको सुटिङका दौरानमा दाङ पुगेका बेला सिर्जुको चिनजान भएको थियो । त्यहीबेला कलाकारितामा मोह भएकी सिर्जुले पूजाको नम्बर राखेकी थिइन् । त्यतिबेला सिर्जुको हातमा मोबाइल थिएन । पूजालाई गाउँकै ल्यान्डलाइनबाट फोन गरेर आफ्ना रहर सुनाएकी थिइन् ।

दाङबाट रात्रि बस चढेर पहिलो पटक काठमाडौं आउँदै गर्दा सिर्जुका आँखा एकैछिन ओभानो भएनन् । भर्खर भर्ना गरेको कलेज, आमाले पाइरहने यातना, घरसँगै आफ्नो गाउँ र बाल्यकालका साथी सबै सिर्जुका आँखा अगाडि आइरहन्थे । 

बिहान लगभग ६ बजेतिर काठमाडौंको नयाँ बसपार्कमा गाडी रोकिएपछि बल्ल उनी झल्याँस्स भइन् । जे होस् उनी सपनाको सहर काठमाडौं आइपुगिन् । उनलाई बसपार्कमा रिसिभ गर्न दिनेश डिसी पुगेका थिए । दिनेशले नै काठमाडौंको धापासीस्थित पूजा लामाको घरसम्म पिकअप गरिदिए । त्यहीँबाट छुटिन् दाङबाट साथ लागेर आएकी सुहाना श्रेष्ठ ।

दाङमै प्लस टु भर्ना भएर सिर्जुलाई काठमाडौं आएपछिका धेरै दिन अन्योलमै बिते । यहाँ कलेज भर्ना भएर पढ्ने अवस्था थिएन । दाङको पढाइ उतै छुट्यो । पढाइ अन्योलमा पर्दा भविष्य पनि अन्योलमा पर्ने हो कि ? उनी यस्तै सोचेर धेरै दिन निदाउन सकिनन् । बिस्तारै पूजासँग विभिन्न कार्यक्रममा सहभागी हुन थालिन् । 

फिल्मको छायाङ्कनमा पूजाको असिस्टेन्ट जस्तै भएर हिँडिन् । यही दौरानमा फिल्म क्षेत्रका थुप्रै मान्छेसँग भेट र चिनजान भयो । फिल्मको सुटिङमा हिँड्दा हिँड्दै सिर्जुलाई लाग्थ्यो ‘म पनि हिरोइन बन्छु होला ।’ आखिर उनीसँग पनि त कलाकार बन्ने सपना थियो । झण्डै डेढ वर्ष उनी पूजासँगै बसिन् ।

कलाकारितामा पूजाको करिअर सोचेको जस्तो भएन । उनी एयरहोस्टेजका रूपमा कतार जाने भइन् । त्यहीँबाट छुट्यो पूजासँगको साथ । सँगै रहेर पनि सानैबाट बुवाको ट्रेजिडी खेपेर बाँचिरहेकी आमाको जीवन हेर्दै हुर्किएकी सिर्जुको जीवनमा पनि साथ छुट्ने मोड आइपुग्यो । 

त्यतिबेला सिर्जुलाई लागेको थियो, ‘यो काठमाडौंमा एक्लै संघर्ष गर्न सकिँदैन । अब के गर्ने ?’

ठीक यही अन्योलको समयमा भेटिइन् गायिका निशा सुनार । पूजासँग हुँदै निशा सुनारसँग भएको चिनजान जीवनको यो मोडमा आएर काम लाग्यो । निशा पहिलेदेखि नै सिर्जुलाई आफूसँग राख्न चाहन्थिन् । 

पूजा देश छोडेर हिँडेपछि सिर्जु निशाकै साथमा बस्न थालिन् । निशासँगको भेटले भने सिर्जुको कला यात्राको बाटो फेरियो । घरमा बस्दा पनि गीत गाइरहने निशालाई सिर्जुले एकदिन दोहोरीमा जवाफ दिइन् । निशाले भनिन्, ‘तिम्रो स्वर राम्रो रहेछ । गायनमा लाग्नु पर्छ । गीत गाउनु पर्छ ।’

निशा त्यतिबेला दोहोरी साँझमा काम गर्थिन् । काठमाडौंको सुनधारास्थित ‘देउराली दोहोरी साँझ’मा निशाले कुरा गरिन् । आफ्नै ड्रेस लगाएर चिटिक्क पारेर सिर्जुलाई आफूसँगै लिएर जान थालिन् । सानैबाट आधुनिक गीत धेरै सुन्ने सिर्जुमा लोकगीतको रस त्यति थिएन । 

दोहोरी साँझमा पनि सुरु सुरुमा उनी ‘मै ठूली भै छु रे’ लगायतका आधुनिक गीत गाउँथिन् । बिस्तारै दोहोरीमा रस बस्दै गयो । उनी दोहोरी साँझकी नामी कलाकार भइन् । 
जिन्दगीको एक मोडमा आएर निशासँगको साथ पनि छुट्यो । निशा अहिले अमेरिकामा छिन् । सिर्जु जीवनको एउटा बाटो बनाइदिने निशालाई बारम्बार सम्झना गर्छिन् ।

दोहोरीमा काम गर्दा गर्दै भेट भयो गायिका कला लम्सालसँग । कलासँग पनि सिर्जुको ट्युनिङ मिल्यो । दोस्ती राम्रै जम्यो । उनीहरूले सोचे अब हामीले मिलेर केही गर्नुपर्छ । 
मिलेर गीत निकाल्ने निर्णय गरे । मिलेर तीजको गीत निकाले ।  ‘भनिदेऊ न बाइ मलाई सुहाको छ कि नाइँ ।’ यो गीत त्यति धेरै त चलेन । तर, सिर्जुमा आत्मविश्वास आयो । 
त्यसपछि निरन्तर काम गर्न थालिन् । बिस्तारै स्टेज कार्यक्रमका लागि बाहिर जान थालिन् ।

उनी राम्रै कमाउने कलाकार भइसकेकी थिइन् । उनको जीवन सहज बन्दै गयो । आफ्नो जीवन जति सहज बन्दै जान्थ्यो त्यति आमाका जीवनका असहजताहरू सम्झना गर्थिन् । 

उनलाई लाग्यो ‘मैले कमाएर मेरी आमालाई सुख दिन सकिनँ भने मेरो जिन्दगीको के अर्थ ।’ उनले आमा र भाइ बहिनीलाई काठमाडौं लिएर आइन् । जिम्मेवारी थपियो । 
उनको सपना फेरियो । हिजो आफू मात्रै खुसी हुँदा पुग्ने सिर्जुलाई अब आमालाई साथ दिनु थियो । भाइ बहिनीलाई पढाउनु थियो । सबै जिम्मेवारी पूरा गर्दा सिर्जुका आफ्ना कति रहर कहाँ छुटे आज पनि अन्दाज छैन । 

गीत-संगीतमा काम गर्दै गर्दा एकदिन रमेशराज भट्टराईले गीतको म्युजिक भिडियोमा अभिनय गर्न अफर गरे । अभिनय गरेपछि सिर्जुलाई अर्कै आनन्द लाग्यो । उनी निरन्तर म्युजिक भिडियोकी मोडल भएर देखा परिन् । जिम्मेवारीका कारण उनलाई जति धेरै काम पायो उति राम्रो र खुसी लाग्थ्यो । त्यो समय अफर आएका सबैखाले म्युजिक भिडियोमा काम गरिन् । कमाइ राम्रै भयो । अहिले फर्किएर हेर्दा लाग्छ, ‘काम गर्दा राम्रो सेलेक्ट गर्नु पर्ने रहेछ ।’

अभिनयभन्दा उनको क्षमता गीत-संगीतमै थियो । स्थिति राम्रो बन्दै गएपछि अभिनयलाई पातलो बनाएकी सिर्जु संगीतमा लागिन् । पहिलो पटक उनको संगीतमा ‘फुच्ची’ बोलको गीत रेकर्ड भयो । गायक प्रमोद खरेलसँग उनी आफैंले गाइन् । गीत ठिकै चल्यो । त्यसयता निरन्तर संगीत साधनामा लागेकी सिर्जुको सपना सुगम संगीतमा अरूले गर्वका साथ लिन सक्ने नाम बनाउनु हो ।

उमेर त उनको पनि घरजम गर्ने भयो । मनोरञ्जन क्षेत्रमा आएपछि देखेका यहाँका उतार चढाव । आफ्नै साथीसंगीका वैवाहिक जीवन र आमाले पाएको दुःख सम्झँदा सिर्जु बिहे गर्न डराउँछिन् । उनका प्रशंसक तथा परिवारले प्रश्न गर्छन्, ‘अब घरबार जोड्ने होइन् ?’ उनी भनिदिन्छिन्, ‘राम्रो मान्छे पाए गर्ने ?’ तर कसलाई राम्रो भन्ने उनी आफैंलाई थाहा छैन । 

एउटी छोरीका लागि आफ्नो पिताभन्दा सुन्दर पुरुष अरू को हुन सक्छ होला र ? उनी आफैंसँग प्रश्न गर्छिन् । फेरि निष्कर्षमा पुग्छिन्, ‘जसलाई हेरेर समग्र पुरुष प्रतिको धारणा बनाउनु पर्ने हो उहाँको छाप नै राम्रो रहेन जीवनमा । यो दुनियाँ त धेरै परको कुरा भैगो’, भन्छिन्, ‘अब त विवाह शब्दसँगै डर लाग्छ ।’

 

  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १०:५०:१९,   अन्तिम अपडेट : फागुन २०, २०७७ बिहीबार ११:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया