बिजनेस नपाउँदा सुदूरपश्चिम प्रदेशसभा सुस्त

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन बिजनेस नभएर सुस्त बनेको छ । गत माघ २६ गतेदेखि सुरु भएको प्रदेश सभाको सातौँ अधिवेशनमा प्रदेश सरकारले बिजनेस दिन नसकेपछि गति नै सुस्त देखिएको छ । 

प्रदेशसभाको साताैँ अधिवेशनको पाँचाैँ बैठकसम्म एक अध्यादेश र एक ऐन पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशको सातौँ अधिवेशनको चौथो बैठकबाट वातावरण संरक्षणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको अध्यादेश पारित भएको थियो भने पाँचौँ बैठकबाट सुदूरपश्चिम प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । 

अहिले प्रदेशसभाको विषयगत समितिमा चारवटा विधेयक दफाबार छलफलमा रहेको बताइएको छ । सोमबार आह्वान गरिएको प्रदेशसभाको छैटौँ बैठकमा बिजनेस नहुँदा बुधबारसम्मका लागि स्थगित गरिएको थियो । तर, बुधबार पनि बैठक स्थगित भएको छ ।

प्रदेशका सभामुख अर्जुनबहादुर थापाले विशेष कारणले सोमबार आह्वान गरिएको बैठक स्थगित गर्नुपरेको प्रतिक्रिया दिए । तर, प्रदेशसभा सदस्यहरूले भने बिजनेस नहुँदा स्थगित भएको बताए । 

प्रदेशसभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सुदूरपश्चिम प्रदेशको बिउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दफावार छलफलमा रहेका छन् ।



नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले प्रदेश सरकारले बिजनेस नदिँदा हिउँदे अधिवेशन सुस्त गतिमा अघि बढिरहेको बताए । ‘वैधानिक रुपमा सदनमा विधेयक पास गर्नुपर्ने, कानुन निर्माण गर्नुपर्ने र बाँकी बजेट पास गर्नुपर्ने एउटा प्रयोगशालाका रुपमा वैधानिक र प्रक्रियागत रुपमा नबोलाई नहुने भएकाले सदन आह्वान गरिएको हो,’ उनले भने,’ ‘हिउँदे अधिवेशन जसलाई कानुनी अधिवेशन पनि भनिन्छ । यसलाई प्रारम्भ गर्यो तर, अहिले एक महिना पुग्नै लाग्दासमेत पाँच पटक मात्र बैठक बसेको छ ।’

उनले प्रदेश सरकारसँग बिजनेस नभएको, प्रदेशलाई प्रभावकारी बनाउने, प्रदेश सांसदलाई जवाफदेही बनाउने र त्यसबाट प्रतिफल ल्याउने तथा समग्र प्रदेशवासीलाई प्रदेशसभा भरोसाको केन्द्रविन्दुको रुपमा विकास गर्नतर्फ ध्यान दिन नसकेको बताए ।



बुधबारको बैठक पनि स्थगित

बुधबार आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेशसभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो । सो सूचनामा विशेष कारणले बैठक स्थगित गरिएको उल्लेख छ । प्रदेशको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेशसभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफल सकिएर बुधबार सभामा पेस गरिने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले बताए । 

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २०:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया