संसद् विघटनको विपक्षमा रहेका दलसहित सत्ता सम्हाल्ने दाउमा प्रचण्ड

प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट बनेर छुट्टै समूह निर्माण गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफैं सत्ताको बागडोर सम्हाल्ने मुडमा देखिएका छन्। संसद् विघटनको विरोधमा रहेका दलहरूलाई साथमा लिएर सकेसम्म प्रधानमन्त्री पनि आफैं बन्ने मुडमा देखिएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अनुरोध गर्दै सत्ता साझेदारी गर्ने बताउँदै आए पनि परिस्थिति बनेमा उनी आफैंले सरकारको नेतृत्व गर्ने संकेत गरेका छन्। 

बुधबार बसेको दाहाल–नेपाल नेकपा समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी नेताहरुलाई ओलीविरुद्ध रहेका दललाई एकताबद्ध बनाएर आफैं सरकारको नेतृत्व गर्नुपर्ने विचार दाहालले प्रकट गरेका छन्। 

देउवालाई दिने नभए आफैँ

आफूले भनेजस्तो तय भएमा कांग्रेस सभापति देउवालाई नेतृत्व दिने तर, देउवा तयार नभए उनको साथ लिएर आफ्नो समूहले नै सरकारको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

बैठकमा सहभागी नेताहरुलाई नयाँ सरकार गठनका लागि संसद् विघटनको विपक्षमा रहेका दलहरूलाई सहमतिमा ल्याउने प्रयास गर्न पनि निर्देशन दिएका छन्। 



‘तत्काल ओलीलाई हटाउन देउवालाई नै प्रधानमन्त्री दिनेबारे प्रयास भइरहेको छ। तर, देउवा प्रधानमन्त्रीका लागि तयार भएको खण्डमा तर, संसद्मा अविश्वासको प्रस्तावको पक्षमा रहेमा देउवालाई साथ लिएर आफैं सरकारको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ’, बैठकमा सहभागी दाहाल पक्षका एक नेताले भने। 

फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा जसरी पनि कांग्रेसलाई मनाएर अविश्वासको प्रस्ताव हाल्न लगाउने विषयमा पनि आजको छलफल केन्द्रित भएको थियो। दाहाल–नेपाल समूहका सांसदको संख्या नपुग्ने भएपछि देउवालाई नै अगाडि सारेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउने मुडमा प्रचण्ड देखिएका छन्। 



साथै आजैको बैठकले प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सात जनालाई कारबाही पनि गरिएको छ। 

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान विपरित अनुशासनको उल्लंघन गरेको भन्दै स्थायी कमिटी सदस्य तथा संसद दलको उपनेता सुवासचन्द्र नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको नेकपा स्थायी कमिटी सदस्य भिम रावलले जानकारी दिए। 

त्यसैगरी, नेकपाका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले जनतामा भ्रम सिर्जना गर्ने गरी गलत सूचना प्रवाह गरेकाले केन्द्रीय कमिटीको सदस्यबाट निस्कासन गर्ने र प्रतिनिधि सभाको सदस्यको जिम्मेवारी पार्टी विधान अनुरुप निर्वाह गर्न र पार्टी विरोधी गतिविधि नगर्न निर्देशन गरेको छ। 

पार्टी अनुशासनको उल्लंघन गरेको भन्दै केन्द्रीय कमिटी सदस्यहरु प्रभु शाह, महेश बस्नेत, कर्णबहादुर थापा, शान्ता चौधरी र सूर्य थापालाई केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिए। 

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २१:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया