एक अर्ब घुस प्रकरण पुष्टि गर्न वन मन्त्री आलेलाई चुनौती

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघले एक अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्न वन तथा वातावरणमन्त्री प्रेम आलेलाई चुनौती दिएको छ।

महासंघका अध्यक्ष श्याम सुन्दर ढकालले विज्ञप्ति निकालेर घुस दिन खोज्ने व्यवसायीको नाम सार्वजनिक गर्न चुनौती दिएका हुन्। उनले घुस दिने व्यक्तिलाई कडा कारबाही गर्ने पनि प्रतिवद्धता पनि जनाएका छन्।

'यस महासंघ र महासंघमा आवद्ध उद्योगी व्यवसायीहरुले महासंघको आचारसंहिता र उद्धेश्य विपरीत हुने गलत लेनदेनको यस महासंघ भर्त्सना गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'यदि कसैले त्यस्तो लेनदेनका कुराहरु गरेको छ भने निजहरुको नाम सार्वजनिक गर्न अनुरोध गर्दै नियमानुसार कडा भन्दा कडा कारवाहीका लागि यस महासंघ जोडदार माग गर्दछ।'

के हो कुरा ? 

वन तथा वातावरणमन्त्री आलेले आफूलाई एक अर्ब रुपैयाँ घुस अफर आएको खुलासा मंगलबार गरेका थिए। सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्ब घुस अफर आएको बताएका थिए।

गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको थियो । मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही कर्मचारीले भेट्न प्रयास गरेको बताउँदै कसैलाई भेट नगरी उक्त कार्यक्रम खारेज गरेको बताएका थिए ।



‘जुन दिन मैले पदबहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि वनका केही बदमास कर्मचारीसम्मले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिनँ । कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिनँ', उनले भनेका थिए, 'पछि कुरा कतिसम्म आयो भने हामी एक अर्ब पैसा उठाएर दिन्छौँ भन्ने कुरा पनि आयो । अनि मैले भनेँ एक अर्ब पैसा समातेर आफ्नो मुखमा मोसो आफैँ दल्ने मैले ? हुँदैन भनेर इन्कार गरेँ ।’

उनले वैज्ञानिक वन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा वन फँडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बदनाम  गरेकाले प्रधानमन्त्रीले वैज्ञानिक वन कार्यक्रम खारेज गर्न आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको बताएका थिए।



  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २१:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया