गैँडा नेपालकै धर्तीपुत्र हो, डिभी भरेर अमेरिका जाँदैन : प्रधानमन्त्री (भिडियोसहित)
जीवन र जगतबारे यसरी दिए प्रवचन
चिडियाखानास्थित हात्तीसँग प्रधानमन्त्री ओलीसहितका सरकारी अधिकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैँडाको एक बर्षको खाना, उपचार लगायतको पालनपोषणको जिम्मा लिएका छन्। 

नेपाल प्रकृति संरक्षण कोषले विश्व जन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्र्तगत एउटा गैँडाको बर्ष भरीको सम्पुर्ण खर्चको जिम्मा लिएका हुन्।

उनले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतिय बग्गी उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै विभागीय मन्त्री प्रेम आलेलाई त्यसको व्यवस्था गर्न निर्देशन पनि दिए। 
उनले मानिस र जनावरबीचको सम्बन्धनको व्याख्या गर्दै केही जनावर आक्रमक भए पनि तिनको महत्व यो धर्तीमा धेरै रहेको बताए। उनले मानवजातिको वनस्पति, जीवन, वन्यजन्तु आदिको सम्बन्धबारे आउँदो पुस्तालाई बुझाउनुपर्ने बताए। 

उनले मानव जातिका लागि अक्सिजन अनिवार्य रहेको बताउँदै त्यसबिना मानिसले केही मिनेट पनि सास फेर्न नसक्ने बताए। उनले केही मिनेट पनि अक्सिजन नपाए मानिसको ब्रेन डेड हुने बताए। उनले अक्सिजन भएमा मात्रै मानिस बाँच्ने बताउँदै नत्र यो सृष्‍टि नै नचल्ने उल्लेख गरे। आधा सास वनस्पति र आधा सास फोक्सोले फेर्ने बताउँदै उनले प्रकृतिको यो नियम पालना गर्नुपर्ने चर्चा गरे।

नेपालमा प्राकृतिक वनलाई बेग्लै ढंगले जोगाउनुपर्ने बताए। केही भाग प्राकृतिक वनलाई जोगाउन सकेदेखि त्यो प्रकृतिको नियमानुसार बढ्ने मर्नै फैलिने गरिरहने उनले बताए। प्राकृतिक हिसाबले नै त्यसको चक्र पूरा गर्न दिनुपर्ने उनले बताए।



उनले अग्ला रुखहरू जरुरी रहेको बताउँदै तिनले बर्षात गराउन सहयोग गर्ने बताए। बर्षात् हुन ठूला रुखहरू नै चाहिने भएकाले तिनलाई जोगाउनुपर्नेमा उनले जोड दिए। प्रकृतिले सिर्जना गरेका कुरालाई मानिसले बचाइ राख्नुपर्नेमा ओलीले आवश्यकता ठाने। 

चिडियाखाना सहज बनाऊँ 



ओलीले बुढाबुढी अशक्तलाई चिडियाखाना घुम्न सहज बनाउन विद्युतीय बग्गी अत्यावश्यक भएको बताए। आफुले कोभिड रहुञ्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैँडाको खाना बराबर श्रीमती राधिका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाए।

मानिसलाई सहयोग गर्न मानिसहरु तयार रहे पनि जनावरलाई सहयोग गर्ने पद्धतिको विकास नभएको र त्यसको विकासका लागि एडप्ट एन एनिमल कार्यक्रम सहयोगी हुने बताए। उनले सम्बोधनका क्रममा प्रकृति, जीवन र जगतबारे प्रवचन नै दिए। एकसिंगे गैँडाका बारेमा पनि लामो व्याख्या गरे।

'जु संकटमा पर्यो। कर्मचारीलाई त तनखा दिन्छौ होला। थोरै भएपनि। फिप्टी प्रतिशत। यी जनावर त कोही पनि नआएपछि त फिप्टी प्रतिशत पनि हुदैन। संकटमा परेनन्?', उनले भने, 'यिनीलाई संकटमा पर्न नदिनका लागि हामी विभिन्न उपायहरु गछौँ। जसमध्ये एडप्ट एन एनिमल हो। यो एक सिंगे गैँडा नजिकै गयो भने त्यत्ति राम्रो मान्दैन।' 

उनले एक सिंगे गैँडाको पनि चर्चा गरे। 'एडप्ट गरेपछि त अलि राम्रो मान्नुपर्ने नि ? नजिक गयो भने त्यत्ति राम्रो मान्दैन। तैपनि यो यसै धर्तीमा जन्मेको। यो एकसिंगे गैँडा चाहिँ यही जन्मेको हो। यो एकसिंगे गैँडा,यसका पुर्खा न अन्त जान्थेँ, न अन्त पैदा हुन्थे। यो अमेरिकामा जन्मँदैन', उनले भने, 'अमेरिकामा बसोबास गर्न बसाई पनि जाँदैन। डिभी पनि काट्दैन यसले। यसलाई नेपाल प्यारो छ। नारायणीको किनार राम्रो छ। यो ओरिजिनली नेपाली हो, यो रैथाने धर्तीपुत्र हो।'

प्रधानमन्त्री ओलीले मानव र वन्यजन्तुको परापूर्वकालदेखि घनिष्ट सम्बन्ध रहेकाले मानिस र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्दै आगाडि बढ्नुपर्ने बताए। 'मानिसको जत्तिकै यस धर्तीमा बाँच्न पाउने अधिकार भएकाले उनीहरुको अधिकारलाई हामीले उनीहरुको बाँच्न पाउने सुनिश्चित गर्नुपर्ने हुन्छ', उनले भने।  

प्रधानमन्त्री ओलीले जावलाखेलको चिडियाखाना अवलोकन गर्न आउने ज्येष्ठ नागरिक, गर्भवती महिला अपाङ्गता भएका तथा बालबालिकालाई सहज बनाउन सरकारका तर्फबाट चार वटा विद्युतीय बहान (रिक्सा) उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयलाई आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाउन आग्रह तथा निर्देशन दिए।

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २२:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया