नेपाल र अष्ट्रेलियाबीच तय भएको फुटबल खेल अन्तिम समयमा स्थगित भएको छ । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियासँग खेल्ने भनेको खेल स्थगित भएको हो ।
यही चैत १७ गते दशरथ रंगशालामा हुने भनिएको खेल अन्तिम समयमा स्थगित भएको छ । एसियन फुटबल महासंघ (एएफसी)ले अन्तिम समयमा खेल स्थगित गरेको हो ।
एएफसीले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेश यात्रामा लागेको प्रतिबन्धले गर्दा अन्तिम समयमा नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित गरिएको जनाएको छ ।
अष्ट्रेलियामा पछिल्लो पटक कोरोनाको दोस्रो लहर चलिरहेका बेला अर्को देशमा यात्राका लागि रोक लगाइएको छ । जसका कारण नेपालसँगको खेल उसकै आग्रहमा रोकिएको एएफसीले जनाएको छ ।
अष्ट्रेलियाका केही खेलाडी यूरोपमा खेल्दै आएका छन । उनीहरुलाई नेपालसँगको खेलका लागि बोलाउन कठिन हुने भन्दै अष्ट्रेलियन फुटबल संघले खेल सार्नका लागि एएफसीलाई आग्रह गरेको थियो ।
रोकिएको खेल अब अगामी जुनमा हुने सम्भावना रहेको एन्फाले जनाएको छ । विश्वकप र एसियन कप छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा तीन खेल खेल्ने तालिका थियो ।
जसमा चाइनिज ताइपेईको खेल यसअघि नै स्थगित भइसकेको छ । अब अष्ट्रेलियाको खेलपनि स्थगित भएको छ । जसका कारण नेपालले फेरि घरेलु मैदानमा प्रतियोगिता खेल्नका लागि केही समय कुर्नुपर्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।